मर्न तयार डाक्टर कुटिए के भो त ?



  • लक्ष्मण अधिकारी

अस्पतालमा बिरामी सिकिस्त छ, आफन्तहरु हेर्नसम्म आउँदैनन् । मृत्यु भइहाले बेडबाट निकालेर शवबाहनमा राख्ने आफन्त हुँदैन । घाटमा बल्ल–बल्ल नाम मात्रका मलामी देखापर्छन्, जो क्षणिक औपचारिकता पूरा गरेर अलप हुन्छन् । कतिपय मृत्यु संस्कारमा गुठीका एकजना सदस्य पनि नपुगेको गुनासो छ । अन्तिम संस्कारका कार्यहरुमा समेत आफन्त, इष्टमित्रहरुको नाम मात्रको उपस्थिति हुन्छ । आफ्ना नातेदार, स्कुल, कलेज र जागिरे जीवनका साथीहरु, छरछिमेकहरु, आफूले गुन लगाएका मानिसहरु सवै हिसाव गर्दा लगभग चार डिजिट परिचित त सवैको पुग्छन् होला । तर मृत्युको ढोकामा घिटीघिटी भइरँदा र सारा संसार छोडेर अन्तिम विदाइ भइरहँदाको दुर्लभ वियोगान्त क्षणमा आफन्तहरुको उपस्थिति लगभग एक डिजिटमै सीमित देखिन्छ ।

विगत डेढ वर्षदेखि यी सारा नातेदार र मित्रहरु किन यति धेरै कठोर एवं निष्ठूर बने ? उनीहरु किन जम्मा भएनन्, कहाँ गए होलान् ? वास्तवमा यी सारा मित्रहरु संसारबाटै अलप भइसकेका होइनन्, आफन्तलाई विर्सेका पनि छैनन् । किन भने सामाजिक सञ्जालमा घरिघरि, रिप, समवेदना र श्रद्धाञ्जली लेख्दै गरेको देखिन्छ । टिकटकमा नाच्दै गरेको, मिठोमिठो खाने कुरा बनाएर फेस बुकमा पस्केको, कौसीमा फलाएको गोलभेडाको फोटो खिच्दै गरेको त देखिन्छ ।

उनीहरुमध्ये कोही किताव पढिरहेका होलान्, कोही किताव लेखिरहेका होलान्, कोही फिल्म हेरिरहेका होलान्, कोही वर्क फ्रम होममा विजी होलान्, कोही अनलाइनमा छोराछोरीको होमवर्क गरिदिदै होलान् । तर जे भए पनि कोरोनाको चेन ब्रेक गर्ने ऐतिहासिक कामको क्रेडिट लिदै घरमै आरामको जिन्दगी बाँचिरहेका होलान् । उनीहरु व्यस्त जीवनको श्रृङखला तोड्दै परिवारसँगै बस्दा र सँगै बसेर मिठोमिठो खाँदाको आनन्द उठाइरहेका होलान् । सरकारले दिएको यो सुविधाको उपभोगकै क्रममा कतिलाई त कामै नगरे पनि बैँकमा तलब जम्मा भएकोे एलर्ट टोन मोवाइलमा बजेर गर्वित बनाइरहेको होला । तर यस्तो आरामको जिन्दगीलाई लात मार्दै केही मानिस ८ घण्टा १२ घण्टा र कोही कोही २४ घण्टासम्म पनि ड्युटी गरिरहेका छन् । उनीहरु खाना र पानी समेत थोरै खान्छन् रे । खाएपछि ट्वाइलेट जानुप-यो, ट्वाइलेट जान पीपीई फुकाल्नु प-यो, पीपीई फुकालेपछि फेरि त्यही लाउन निमल्ेन, ट्वाइलेट गएपिच्छे बदलिईरहदँदा पीपीई अभाव हुने ।

ड्युटी सक्दा थाकेर लोथ भई आफैँ एकातिर बेड राखेर अस्पतालमै सुतौँजस्तो हुन्छ रे । तर करिडोर, पेटी, बरन्डा सवैतिर विरामी भरिदा थप एउटा कुर्सी राख्ने ठाउँ पनि हुँदैन रे । यस्तो अवस्थामा पनि परिवार छोडेर ड्युटी गर्न रहर गर्ने, मरिए मरियोस् भनेर समर्पित हुने डाक्टर, नर्स, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीलाई नकुटेर कसलाई कुट्ने ? घर बसेर टिकटक बनाइरहेकाहरु, फेसबुकमा परिकार पोष्ट गरिरहेकाहरु, फिल्म, कथा र उपन्यासमा रमाइरहेकाहरु सवै उठौँ र तिनीहरुलाई मजाले भुक्याऊँ !

यी कारणले गर्दा बरु खाना नै थोरै खाने, पिसाव रोक्न नसकिएला भनेर डाइपर लगाएर काम गर्ने गर्छन् रे । हावा नछिर्ने पीपीई लगाउँदा भित्र पसिनाले निथु्रक पार्छ, कतिलाई यसकै कारण निमोनिया हुन्छ रे, लामो समय ग्लोव लगाउँदा हात चाउरी पर्छ रे, मास्कले कान छिन्ला जस्तो पार्छ रे, नाक बाङ्गिएजस्तै हुन्छ रे । ड्युटी सक्दा थाकेर लोथ भई आफैँ एकातिर बेड राखेर अस्पतालमै सुतौँजस्तो हुन्छ रे । तर करिडोर, पेटी, बरन्डा सवैतिर विरामी भरिदा थप एउटा कुर्सी राख्ने ठाउँ पनि हुँदैन रे । यस्तो अवस्थामा पनि परिवार छोडेर ड्युटी गर्न रहर गर्ने, मरिए मरियोस् भनेर समर्पित हुने डाक्टर, नर्स, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीलाई नकुटेर कसलाई कुट्ने ? घर बसेर टिकटक बनाइरहेकाहरु, फेसबुकमा परिकार पोष्ट गरिरहेकाहरु, फिल्म, कथा र उपन्यासमा रमाइरहेकाहरु सवै उठौँ र तिनीहरुलाई मजाले भुक्याऊँ !

अस्पतालको कोरोना बार्डमा राखिएका विरामीसँग कुरुवा बस्न परिवारकै सदस्य अनकनाउँछन्, सकेसम्म नर्स नै बसिदिए हुन्थ्यो भनेर टार्न खोज्छन्, आफन्तहरु त प्रायः अस्पताल नै आउँदैनन्, अरु मानिस खोजेर राखौँ भन्दा जति पैसा तिर्छु भन्दा पनि नपाईँने, कोही मान्दैन । यस्तो अवस्थामा ती डाक्टर र नर्सहरु भोकै प्यासै किन निरन्तर खटिरहेका छन् ?
के ती अस्पतालमा सिकिस्त भएर आएका सवै विरामी उनीहरुका पारिवारिक सदस्य, नातेदार, इष्टमित्र मध्ये कोही हुन् ? खोज्दै जाने हो भने जोखिम मोलेर काम गर्ने डाक्टर नर्सको ती विरामीसँग गोरु बेचेको साइनो पनि नहोला । तै पनि किन उनीहरु मरिहत्ते गरिरहेका छन ? उनीहरुको परिवार छैन ? अस्पतालबाट घर आउँदा रोग बोकेर आउने होकी भनेर घर परिवार तर्सिदैनन् होला ? अरुको उपचार गर्दा आफैँ विरामी भएर वित्ने हुन् कि भन्ने चिन्ता परिवारका सदस्यलाई हुँदैन होला ? कोरोना महामारी आए यता एकदर्जन भन्दा बढी डाक्टर, नर्सहरु कोरोनाबाट वितिसकेका छन्। असार एक गते अर्का एकजना मिर्गौला रोग विशेषज्ञ कोरोनाकै कारण वितेको खवर आएको छ । यस्तो खवर सुनेका परिवारका सदस्यले डाक्टर, नर्सलाई कसरी ड्युटीमा जान दिन्छन् होला ? के उनीहरुको मन आत्तिदैन ? डाक्टर नर्सहरु के पाउनका लागि अस्पताल जान्छन् त ?

श्रवण कुमार मण्डल नामका एकजना डाक्टर टेकु अस्पतालमा गत बर्षदेखि नै इमर्जेन्सीमा बसेर कोरोनाका विरामीको उपचार गर्दै आएका छन् । गत बर्ष आमाको अपरेसन गर्नुपर्दा पनि बुटवल घर जान सकेनन् रे । यसपालि दोस्रो लहरको कोरोना उत्कर्षमा पुगेर बेड, अक्सिजन हाहाकार भएको अवस्थामा उनका परिवारका सवै कोरोना संक्रमित भए तै पनि उनी घर जान सकेनन् । सासै फेर्न नसकेपछि बाबु आमालाई आफू काम गरेको अस्पतालमा ल्याएछन् । त्यस्तो बेला आफ्ना बा आमा भन्दा सिकिस्त विरामी बेडमा भएकाले उनले भित्र बेड खालि नभएसम्मका लागि बाबु आमालाई अस्पताल बाहिरै पेटीमा अक्सिजन दिएर राखेका थिए । २४ घण्टे ड्युटी गरेर के पाए त उनले ? यस्ता डाक्टर नर्सहरुको उदाहरण धेरै दिन सकिने भइसकेको छ ।

उनी जस्तै कतिपय डाक्टर नर्सहरु त घरै नआई अस्पताल क्वाटरको एउटा कोठामा खाँदिएर सुत्छन् रे । घरै जाँदा पनि बृद्ध बा आमा र आफ्ना साना नानीहरुलाई भेटेका हुँदैनन् रे । कतिको त दूधे बालकले समेत महिनौ दिनदेखि आमाको दूध चुस्न पाएको हुँदैन रे । परिवार माथि यति अन्याय गरेर अरुको लागि काम गर्न तम्सिनेहरुलाई साच्चै कुट्नै पर्ने हो त ?

जेठ १३ गते राती भेरी अस्पतालमा कोरोना संक्रमित विरामीको मृत्यु भएपछि लापरबाही गरेको भनेर उनको आफन्त ग्याङ्ले नर्सको घाँटी थिचेर घिस्याए छन्, अस्पताल तोडफोड गरेछन्, चारजना डाक्टर नर्सलाई लखेट्दा लखेट्दै दुई तला माथिदेखि झ्यालबाट हाम फालेर ट्वाइलेटमा लुक्न सफल भएछन् । उनीहरुले एक घण्टा काम गर्दा अक्सिजनको अभाव भई दुई जना विरामीको मृत्यु पनि भयो रे । डाक्टर नर्सले उपचारमा लामपरबाही गरेकाले कुटेको भन्ने खवर प्रकाशन भएको थियो ।

केही दिन अघि विराट शिक्षण अस्पतालको इमर्जेन्सीमा सडक दुर्घटनामा परेका घाइतेलाई डाक्टरहरु उपचार गरिरहेका थिए । अस्पतालमा भर्ना भएका एक बृद्धको उपचार गर्न ढिला गरेको भनेर विरामीका आफन्तले इमर्जेन्सीमा ब्यस्त रहेका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई शरीरभरी चोटलाग्ने गरी कुटपिट गरेका थिए । यस्तै कोशी अस्पतालमा कोभिड वार्डमा काम गर्ने एक स्वास्थ्यकर्मीलाई ड्युटी सकेर राती घर फर्किदा देवकोटा चोकमा दुई जना प्रहरुले कुटेका थिए । स्वास्थ्यकर्मी भनेर परिचय कार्ड देखाउँदा पनि प्रहरीले लटठीले कुटेको उनको गुनासो थियो । उता हुम्लाको चङ्चली गाउँपालिकाका स्वास्थ्य संयोजकलाई होम आइसोलेनमा रहेकी आफ्नी पत्नीलाई दैनिक उपचार गर्न नआएको भनेर स्थानीय एक शिक्षकले हातपात गरेको प्रकाशमा आएको थियो ।

यस्तैगरी प्रदेश २ को प्रादेशिक कोभिड अस्पतालमा एकजना कोरोना संक्रमित विरामीको मृत्यु भएपछि आफन्तहरुले तीनवटा भेन्टीलेटर तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीमाथि पनि हातपात गरेका थिए । त्यस्तैैगरी केही दिन अघि नै वीरगञ्जको तराई हस्पिटलमा एक जना विरामीको मृत्यु भएको विषयमा चिकित्सकहरुले लापरबाही गरेको भन्दै अस्पताल तोडफोड गरेका थिए । कोरोना महामारीले विरामीहरुको व्यापक बृद्धि हुँदा साधन श्रोत र जनशक्तिको अभावले शारीरिक मानसिक तनाव सहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात गर्ने र अस्पताल तोडफोड गर्ने कार्य निरन्तर हुनथालेपछि स्वास्थ्यकर्मीहरुकै माग बमोजिम गत जेठ २३ गते सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश ल्यायो ।

यस अनुसार स्वास्थ्य संस्थामा आगजनी गरेमा २ वर्ष देखि पाँच वर्षसम्म कैद वा २ लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गरेमा ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । तर त्यसपछि पनि चिकित्सक माथि आक्रमण गर्ने सिलसिला रोकिएको छैन । सुर्खेतस्थित प्रदेश औषधालयको आइसोलेसन सेन्टरमा कार्यरत दुई जना चिकित्सक र एक स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको छ ।

लापरबाही गर्ने को हो ?

भेरी अस्पतालमा कुटाई खाने समूहकी एक स्वास्थ्यकर्मीले भनेकी थिइन, ‘विहान छ बजे विरामीलाई औषधि दिन थाल्दा सवैलाई दिन चार घण्टा लाग्छ । हाम्रो कारणले विरामीलाई औषधि ढिला भएको हो । एकजना नर्सले जति विरामी हेर्नुपर्ने हो त्यो भन्दा बढी विरामी हेर्न लगाएपछि कसरी समयमा काम हुन सक्छ ? नर्सिङ प्यासेन्ट रेसियो नमिलाएसम्म त यस्तै हुन्छ । हामीले नै कुटाइ खान्छौँ ।’ एम्बुलेन्समा विरामी बोकेर विभिन्न अस्पताल दौडाउँदा दौडाउँदै बेड नपाएर विरामीको मृत्यु भएको हामीले पनि देखेका छौँ । अस्पतालमा मागअनुसार बेड नहुन, आइसीयू एवं भेन्टिलेटर नहुनु, आवश्यक अक्सिजन सप्लाइ नहुनु, विरामीको अनुपातमा डाक्टर नर्स, पारामेडिक्स नहुनु, पिपिई लगयातका सुरक्षा साधन पर्याप्त नहुँदा विरामीले समयमा उपचार नपाई अकालमै मृत्यु बेहोर्नुपर्ने स्थिति आएका कुराहरु असत्य होइनन् ।

यस्तोमा डाक्टर, नर्सको लापरबाही भनेर लेख्ने बोल्ने गरिएको हुन्छ । मिडियाले लापरबाही शब्द राखिदिएपछि हो मा हो मिलाउँदै मास जम्मा हुन्छ अनि सुरु हुन्छ, कुटपिट र तोडफोड । तर उल्लिखित जनशक्ति साधन श्रोतको अभाव हुनुमा डाक्टर वा नर्सको लापरबाही कसरी भयो त ? उनीहरुले त आफ्नो काम गरिरहेकै हुन्छन् । के साधन स्रोत, जनशक्ति व्यवस्थापन गर्ने हैसियत उनीहरुको हुन्छ त ? यस्तोमा किन हामी अस्पताल व्यवस्थापन, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय, सिंहदरबार वा निजी अस्पतालका लगानीकर्ताको लापरबाही भयो भन्दैनौ, लेख्दैनौ ?

अन्तिम विन्दूमा बसेर अभावका बीच निरिह बनेर जसले सेवा दिन्छ उसैलाई सधैँ किन सवैतिरबाट आक्रमण गरिन्छ ? उपचारको क्रममा आफ्नो मानिसको मृत्यु भयो भन्दैमा अरु विरामीका लागि नभइनहुने भेन्टिलेटर, आइसियु बेड र अन्य उपकरणहरु तोडफोड गर्नैपर्छ, डाक्टरको टाउको फुटाउनै पर्छ, नर्सको घाँटी ङयाक्नै पर्छ ? रामशापथ र सिंहदरबारका कुर्सी तोडफोड गर्ने हिम्मत किन पुग्दैन् ? त्यस्ता कुर्सीमा निदाएर बर्षौँदेखि डाक्टर नर्सको दरबन्दी नथप्ने, पर्याप्त साधनस्रोत उपलब्ध नगराउनेलाई कुर्सिबाट लतार्ने आँट कसैले किन गर्दैन ?

कोरोना महामारीको यस अवधिमा जति विरामीको मृत्यु भएको छ, त्यसमध्ये कैयौँको मृत्यु साधन स्रोत र जनशक्तिको अभावले पनि भयो होला । तर जति विरामीले अस्पतालबाट जीवन पाएर फर्किएका छन् त्यो पनि डाक्टर नर्सहरुकै अथक परिश्रमले हो भन्ने कुरा विर्सिन सकिन्न । महामारीको यस्तो जोखिमकाबीच स्वास्थ्यकर्मीहरुले गरेको सेवालाई पनि समाजले कम आँक्नु हुन्न ।

खानापिना, निद्रा, थकान, पारिवारिक विछोड, विरामीको बेदनाले दिईरहेको पीडा, विरामीको आफन्तको आक्रोस, यी सवै झेलेर पनि निरन्तर सेवा दिन तम्सिने डाक्टर नर्सहरुलाई अहिले हाम्रै समाजका कतिपयले डन, भिलेन, लापरबाही गर्ने भनेर नकारात्मक रुपमा चित्रण गर्ने कार्य पनि भइरहेको छ । यस किसिमको हतोत्साहपूर्ण चित्रणले उनीहरुको पनि धैर्यता टुट्न सक्छ । उनीहरु पनि मानिस नै हुन्, चित्त उनीहरुको पनि पक्कै दुख्छ । पैसाकै लागि मात्र उनीहरुले काम गरेका छन् र उपचारमा सम्पूर्ण जिम्मेवार चिकित्सक, नर्स र पारामेडिक्स मात्र हुन भन्ने हाम्रो पुरानो माइन्ड सेटलाई शुद्धिकरण गरेर रिसेट गर्ने पो हो कि ?

(अधिकारी साधना स्वास्थ्य मासिकका सम्पादक हुन्)

प्रतिक्रिया दिनुहोस्