फ्रेन्च ओपनमा सेरेनाको चुनौती समाप्त



पेरिस, (एजेन्सी)

पेरिसमा जारी फ्रेन्च ओपन टेनिस प्रतियोगितामा तीन पटकको च्याम्पियन सेरेना विलियम्सको चुनौती समाप्त भएको छ ।चौथो चरणमा अमेरिकी खेलाडी सेरेनालाई २१ वर्षीया एलेना रिबाकिनाले ६–३, ७–५ ले स्तब्ध तुल्याएकी हुन् । कोर्टमा काजाकस्तानकी युवा खेलाडी एलेनाविरुद्ध कुनै पनि रणनीति सफल हुन नसकेपछि अनुभवी सेरेनाको हार भएको थियो । यो हारसँगै ३९ वर्षीया सेरेनाले मार्गारेट कोर्टको सदाबहार २४ ग्रान्डस्लाम सिङ्गल्स उपाधि बराबरी गर्न अझै अर्को ग्रान्डस्लाम प्रतियोगिता कुर्नु परेको छ ।

अर्को ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन जुन २८ देखि शुरू हुदैछ । उमेर ढल्किदै गएकोले टेनिसबाट संन्यास लिने हो कि भन्ने प्रश्न सेरेनालाई गरिएको थियो । तर, पूर्वनम्बर एक खेलाडीले यसबारे नसोचेको र अझै खेलिरहने बताइन् । उनले भनिन्–‘मैले अहिलेसम्म यसबारे केही सोचिरहेकी छैन, मैले अर्को प्रतियोगिताबारे नै सोच्ने गरेकी छु ।’सेरेनाले २०१७ मा अस्टेलियन ओपन जितेदेखि कुनै पनि ग्रान्डस्लाम उपाधि जितेकी छैनन् । सो वर्षमा भएको अस्टेलियन ओपन जित्दा उनी गर्भवती थिइन् । आमा बनेपछि कोर्टमा फर्कदा उनले पहिलेजस्तो खेल्न सकेकी छैनन् । उनले यसपछि तीनवटा ग्रान्डस्लाम फाइनल खेलिन्, तर तीनैवटामा पराजय बेहोर्नु परेको थियो । उनको हार युवा खेलाडीसँग भइरहेको छ ।त्यसो त पेरिसमा जारी फ्र्रेन्च ओपनमा सेरेनाले राम्रो शुरूवात गरेकी थिइन् । अघिल्लो चरणको खेलमा डेनिली कोलिन्सविरुद्ध खेलेको खेल उनको उत्कृष्ट प्रदर्शन थियो । सो प्रदर्शनको कारण उनले फ्रेन्च ओपन जित्ने सक्ने सम्भावना भएको टिप्पणी गरिएको थियो । तर, चौथो चरणमा रिबाकिनाको सन्तुलित खेलविरुद्ध उनी निरीह बनेकी थिइन् । पहिलो सेटमा रिबाकिनाको कडा सर्भिस, ब्याकह्यान्ड र फोरह्यान्ड प्रहारको उनले कुनै जवाफ फर्काउन सकिनन् र त्यो सेट हारिन् ।

सेरेनाले दोस्रो सेटमा भने रिबाकिनालाई केही दबाब दिएर शानदार शुरूवात गरेकी थिइन् । उनले राम्रो खेलेकी थिइन् । तर, अनावश्यक गल्ती फेरि दोहो-याइपछि रिबाकिनाले सो सेटमा पुनः आफ्नो प्रभुत्व जमाइन् । सेरेना एक कर्नरबाट अर्को कर्नरमा दौडिन सकेकी थिइनन् । प्रतिद्वन्द्वी खेलाडीले यसको भरपुर फाइदा उठाइन् । महिला टेनिसमा विगत १५ वर्षदेखि दबाब बनाइरहेकी सेरेना लाचार बनेकी थिइन् ।सेरेनाको बहिर्गमनसँगै महिला सिङ्गल्सतर्फ उपाधि जित्ने कसले भन्ने प्रश्न तेर्र्र्सिएको छ । सेरेनालाई हराएकी रिबाकिना पहिलोपटक ग्रान्डस्लामको क्वार्टरफाइनलमा पुगेकी छन् । सेरेनाजस्ती अनुभवी खेलाडीलाई हराएपछि उनी उपाधि होडमा अग्रपंक्तिमा रहेकी छन् ।

फेडेरेरले नाम फिर्ता लिए

पुरुष टेनिसमा २० ग्रान्डस्लाम जितेका रोजर फेडेरेरले जारी फ्रेन्च ओपनबाट नाम फिर्ता लिएका छन् । उनले चौथो चरणमा पुगेबावजुद प्रतियोगिता छाडेका हुन् । उनले तेस्रो चरणमा डोमिनीक कोएपफरलाई हराएका थिए । ३९ वर्षीय स्विस खेलाडीले शरीर तन्दुरुस्त राख्नकै लागि प्रतियोगिताबाट अलग भएको बताएका थिए ।गत वर्ष फेडेरेरको दुईपटक घुँडाको शल्यक्रिया गरिएको थियो । उनले पेरिस आउन अघि १६ महिनामा केवल तीन खेल खेलेका छन् । पेरिसमा आएर पनि उनले तीन वटा मात्रै खेले खेले । उनले यस वर्ष विम्बल्डनलाई प्राथमिकता दिएको बताएका छन् । फ्रेन्च ओपनको तेस्रो चरणमा उनले कडा संघर्ष गरी प्रतिद्वन्द्वीलाई हराउनु पर्दा थकान महसुस गरेको बताए । सो खेल उनले ७–६, ६–७, ७–६, ७–५ ले जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्