मेरो जीवनमा दोहोरिँदै आएको ‘मह काण्ड’



परिश्रमी मौरीको सम्पत्ति ‘मह’ मलाई मात्र होइन प्रायः सबैलाई नै मनपर्छ । मलाई सबैभन्दा बढी मनपर्ने खानेकुरा मध्ये मह अगाडि आउँछ । महको गुलियो स्वादमा कयौंपटक भुलेको छु । साथै यसकै कारण पटक–पटक म जीवनको अत्यान्तै गम्भीर मोडमा पनि पुग्ने गरेको छु । मेरो जीवनमा ‘मह काण्ड’ धेरैपटक दोहोरिँदै आएको छ । महको गुलियो स्वादमा मेरो मन कसरी भुल्यो ? म जान्दिन तर महले मलाई धेरैपटक मिठो स्वादसँगै नमिठो सम्झना पनि दिँदै आएको छ । यद्यपि, अझै मह भनेपछि म हुरुक्कै हुन्छु । महसम्बन्धी मेरो जीवनका केही घटना यस्ता छन् ।

म सानै थिएँ, एकदिन मामा घरबाट हजुरबाले मह काढ्ने बेला भएको छ मामाघर आउनु भनेर खबर पठाउनुभयो । म मह खानकै लागि हानिएर मामाघर पुगेँ । हजुरबाले मह काडुन्जेल नजिकै गएर हेरिरहेँ । हजुरबाले मौरीको मेहेनतको खुुब प्रशंसा गर्नुभयो । मौरीले अत्यन्तै मेहेनतका साथ विभिन्न फूल तथा बनस्पतिको रस संकलन गरेर मह तयार हुने कुरा मात्रै गर्नु भएन, महको आयुर्वेदिक महत्वको बारेमा व्याख्या गर्नुभयो । नियमित मह सेवन गर्नेलाई कुनै पनि रोग नलाग्ने उहाँले दाबी गर्नुभयो ।

हजुरबाले ब्रिटिशका पालामा आफू गोरखपुर पल्टनमा पुजारी हुँदाका बखत भीर मौरीको मह खाएर दिनभरि लठ्ठ भएको पल्टने कुरा गर्दै गर्दा मामाघरको एउटा मौरी मतिर भुर्रर उडेर आई च्वास्स टोकेर गयो । ऐयाँ…! म चिच्चाए, हजुरबाले टोकेको ठाउँको खिल निकालेर त्यहीँ ठाउमा मह लगाई दिनुभयो । एकै छिनमा दुखाई सन्चो भेैहाल्यो । हजुरबाले त मौरीले टोकेको राम्रो हो, धेरेैले पो टोक्नु भएन भन्दै मौरीको टोकाईका फाइदा बारेमा पनि व्याख्या गर्न थाल्नुभयो । त्यसपछि ठूलो कचौराभरी कलिलो मह मलाई खान दिनुभयो । मैले सबै खाने प्रयास गरेँ । तर, आधा खाएपछि हल्का रिंगटा लागेको जस्तो अनुभव भयो । मैले पछि खान्छु भनेपछि हजुरबाले खोपिलामा राखेर पछि खानु है भन्नुभयो । त्यो दिन खान सकिन भोलिपल्ट खाना खाएपछि पूरै सकाईदिए । शरीर अलि थाकेको जस्तो भयो । तर, मामाघरको मेजमानीले फेरि शरीर तन्दुरुस्त भयो ।

हजुरबासँग मेरो ठूलो दोस्ती भयो । त्यसपछिका दिनमा हजुरबाले मह काढेपछि घरमै ल्याईदिन थाल्नुभयो । दैनिक खानासँग दूध र मह खाने मेरो बानी नै पर्यो । हजुरबाले महको आयुर्वेदिक महत्वको व्याख्या गर्दा मेरो मस्तिष्कमा जुनसुकै रोगको औषधि मह हो । भन्ने पर्यो । अलि ठूलो भएपछि कलेज पढ्ने बेलामा मामाघर गएँ, त्यतिबेला हजुरबालाई अलि सन्चो नभएको रहेछ, मैले झल्याँस मह सम्झें अनि हजुरबालाई महको कुरा गरेँ तर यसपालि महले पनि काम गरेन, बाबु भन्नुभयो । अनि मैले पोखरामा उपचार गर्न जानको लागि गरेको आग्रह सहर्ष स्वीकार्नुभयो । हजुरआमालाई साथै लिएर हजुरबालाई पोखरा लगियो । हजुरबाले पहिलो प्राथमिकता आयुर्वेदिक उपचारलाई दिनु भएअनुसार हामीले पोखराका साँइला वैद्य कहाँ गयौं । साँइला वैद्यले चेकजाँच गरेपछि हजुरबा र हजुरआमालाई छुट्टाछुट्टै औषधिको लिस्ट तयार गरी दिनुभयो । औषधिको सेवन विधि बताउँदा महसँग सेवन गर्न सके छिटो निको हुने बताउनुभयो। त्यतिबेला साँइला वैद्य र हजुरबाले महका विषयमा गरेको गुणगान अझै मेरो मानसपटलमा अझै ताजा छ ।

हजुरबा र साँइला वैद्यको कुरापछि मलाई महको महिमा अपरमपार लाग्नु कुनै ठूलो कुरा भएन । अनि त मैले भेट्टाएसम्म खाना होस् या खाजा जेमा पनि मह मिसाएरै खान थालेँ । काठमाडौं आएपछि एसियाली विकास बैंकमार्फत् परामर्शदाता कम्पनीको तर्फबाट बझाङ, बाजुरा, अछाम जिल्लामा खानेपानी तथा सरसफाईको डिस्ट्रिक डेभलपमेन्ट प्लान प्रोफाइल तयार पार्नका लागि सर्भेक्षणका लागि करिब तीन महिनाको हिडाईका क्रममा बाजुराको सापटामा दुई लिटरको पानी खाने तुमलेटभरी मह किनेर कोदाको रोटीसँग मह खाँदाको बयान गरिसाध्य छैन । दिउँसो बाटोमा भोक लाग्यो कि तुमलेटको बिर्कोमा मह सारेर खाई हालिन्थ्यो । भोक त दुईटा डाँडा काटेपछि मात्र लाग्थ्यो । बेलुका कोदाको रोटीसँग मह खाएपछि निन्द्रा पनि राम्रो लाग्ने । यसरी दुई महिनामा दुर्इ लिटर खाई सकेपछि अछामको ऋषिदह पुगेर फेरि अर्को दुई लिटर थपियो । एक महिने अछाम हिडाईका क्रममा अर्को एक लिटर खाइएछ । बाँकी काठमाडौंमै खान योजना बनाउँदै तीन महिने यात्रा समापन गरियो ।

काठमाडौं पुगेपछि त बिरामी पो भैयो । अनि त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा डा आईएल आचार्यसँग जचाँउदा तीन महिनामा कमाएको पैसा तीन दिनमै स्वाह भयो । महको कारण म बिरामी भएको डाक्टरले पत्ता लगाउनै सकेनन् मैले केही मेसो पाउन सकिन । मेरो महप्रतिको मोह भने कायमै थियो । घरमा मह काढेपछि कम्तिमा एक माना मेरो भागमा पर्दथ्यो । पाएसम्म भेट्टाएसम्म जिन्दगीलाई महमय बनाउन थालियो । महले मलाई बिछ्टै मोहनी नै लगाएको थियो । एकदिन छोरी बबिता उच्चशिक्षा अध्ययनका लागि काठमाडौं आउने क्रममा एक माना मह पनि आयो । अरु कोशेलीप्रति मेरो ध्यान नै गएन, मह चाहिँ पहिला खाऔं भन्दै सबै मिलेर मह खान थालियो । खाँदाखाँदेै वबिताले रिंगटा लाग्यो भनिन् , केहीबेरमा बान्ता पनि गरिन्, एकछिन हामीहरू आत्तियौं । केहीको आरामपछि ठिक भयो भनिन् हस्पिटल तत्काल लगिएन । दिउँसोतिर ओपीडीमा जाँच गराईयो, महकै कारणले त्यस्तो भएको होला भन्ने न हामीलाई लाग्यो, न त डाक्टरलाई लाग्यो । त्यो मह मबाहेक कसैले खाएनन् मलाई सत्र पर्यो ।

२०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकस्थित भोटेकोशी हाइड्रोपावरमा रकफल प्रोटेक्सनका लागि सर्भेको काम सकेर फर्किने क्रममा यस्सो खोलापारी भीरतिर हेर्दा महका चाका देख्दा त मेरो मनै फुरुङ भयो । हामी पारी कसरी जाने त भन्ने योजना बनाउँदै गर्दा गर्दै हावाहुरी चलेर हाम्रो ड्रोनबाट मह काढेर खाने योजना तुहियो । तै पनि हाम्रो आठजनाको टिममा एकजना स्थानीय मेवाङ शेर्पा भाईले हाम्रो गाउँमा पनि छ, म काठमाडौं आँउदा ल्याईदिन्छु भनेपछि हाम्रो टोली काठमाडौं फर्कियो । त्यो शेर्पा भाईले आफ्नो बचनअनुसार मह काठमाडौंमै ल्याइदिए । सो मह नखाने त कुरै भएन । छोरालाई दूधमा मिसाएर खुवाइयो छोरोले पनि मैले जसरी निक्कै मिठो मानेर खायो । केही क्षणपछि छोराले बाबा घुमायो मलाई भन्यो । मैले काख लिएँ, छोराले काखैमा बान्ता गर्यो । एकदम जोडतोडका साथ । अस्पताल लगिएन बिस्तारै आफंै ठिक हुँदै गयो ।

अर्को दिन बेलुकीपख छोरालाई दूध खुवाउने क्रममा आधा चम्चा भीर मौरीको मह मिसाएर खुवाइयो । छोराले फेरि बान्ता गर्यो हिजोकै पाराले । तै पनि अस्पताल लगिएन किनकी केही क्षणपछि छोरो सामान्य अवस्थामा फर्किएको थियो । भोलिपल्ट शनिबारको दिन थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल बाबुको किरिया बसेको पाँचौं थियो । उहाँ पशुपतिमा किरिया बस्नुभएको थियो । उहाँलाई भेट्न नवीकरणीय ऊर्जा क्षेत्रका साथीहरू सबै जना सँगै जाने सल्लाह भयो । सोलार, लघु जलविद्युत्, बायोग्यास, बायोमास, वीक्यान, सोलार थर्मललगायतका अध्यक्ष र महासचिवहरुलाई फोन गरिसकेपछि ब्रेकफास्टको रुपमा पाउरोटीमा दुई चम्चा मह लगाएर पत्रकार मित्र राजु श्रेष्ठसँग फोनमा कुरा गर्दै खाएँ । राजुजीसँग पनि पशुपतिमा भेट्ने सल्लाह भयो । पशुपतितिर जान तयार भई हिड्न लाग्दा हल्का रिंगाटा लागेको जस्तो महशुस भयो ।

एकछिन आँखा चिम्म गरेर आराम गरें, आफूलाई सामान्य बनाउने प्रयास गरेँ तर फ्रेस भएन । दिसा पिसाब लागेजस्तो भयो । ट्वाइटेल गएँ, हातमुख धोएँ । तै पनि फ्रेस भइन । उकुस मुकुस भए जस्तो भयो । हिड्न खोज्दा फनफनी घुमायोे । मलाई सुगर कम भयो की प्रेसर हाई भयो भन्ने लाग्यो । प्रेसर नाप्न मेडिकलसम्म जान भनेर लिफ्टबाट झरेपछि गाडी चलाउने हिम्मत पनि आएन स्कुटरमा बस्न पनि सकिन । बुढाबूढी हिड्दै गुण कोलोनीको गेटसम्म पुगेँ गेट अगाडि नै ट्याक्सी रहेछ, म ट्याक्सीभित्र छिरिहालेँ श्रीमती जीलाई आउ भन्दा मानिनन् । नजिकैको मेडिकल जान त हिँडेरै पनि पुगिन्छ नि भनिन् । मलाई भने निकै अप्ठ्यारो भइसकेको थियो । पछि मैले सारै गाह्रो भएको छ, केएमसी हस्पिटल जाने हो । भनेपछि उनी चढिन् ।

हामी सिधैं इमरर्जेन्सीमा गयौं । त्यहाँ प्रेसर र मुटुको धड्कन चेक गर्दा त जम्मा ३० रहेछ, लगभग मुटुको धड्कन बन्द हुने अवस्थामा पुगिसकेको रहेछ । त्यसपछि सोझै आईसीयुमा ७२ घन्टाको अब्जर्बेसनमा उपचार शुरु गरियो । अनि त्यतिबेला बल्ल पो थाहा भयो । यो सबै कमाल त भीर मौरीको रहेछ । दिउँसो पशुपतिमा भेट्ने सल्लाह भएका साथीहरू मैले फोन नउठाउँदा रिसाउनु पनि भयो होला । जल तथा ऊर्जा परार्मशदाता संघ नेपाल (वीक्यान) का पूर्वअध्यक्ष धनबहादुर गुरुङ र राजुजीले सम्पर्क गर्ने धेरै प्रयास गर्नुभएछ । पछि मेरो श्रीमती रन्जना तिवारीसँग सम्पर्क भयो । उहाँहरू साँझ अस्पतालमा भेट्न आउनुभयो । त्यतिखेर म बेहोसी अवस्थामा आईसीयुमा थिएँ रे । करिब एक साताको अस्पताल बसाई पछि निको भएर घर फर्किए । त्यसपछिका दुई तीन वर्षसम्म मैले महसँग नाता तोडेँ । भेटघाट होस् या मिटिङमा साथीहरूले हट लेमन वीथ हनी खाएको देख्दा मैले मन थाम्न सकिन । मैले पनि शुरू गरेँ हट लेमन वीथ हनी ।

‘पिनेके लिए कुछ बहाना चाहिए…’ भने जस्तै भीर मौरी मह खान नभए पनि घर मौरी त हुन्छ भन्ने तर्कले जित्न थाल्यो । फेरि हजुरबाकै पालाको याद आयो । अझ तीन महिना अगाडि धुलिखेलमा पदम दुलालजीको होटेलमा प्रा.डा. प्रेम शर्माले गर्नु भएको महको बखानले त हजुरबाको याद बिर्सायो । फेरि मह खाने निर्णय गरियो । प्रेम सरको भनाइमा रासायनिक मल प्रयोग नगरेको ठाउँको फापरको फूल खाएको मौरीको मह अचुक औषधि हुन्छ भन्ने प्रमाणित नै भइसकेको तथ्य र कारणसहित सिफारिस गर्नु भएपछि झन् हौसला बढिरहेको बेलामा मनाङ जाने बेला यसो सोधपुछ गर्दा लमजुङमा प्रेम सरले सिफारिस गरेजस्तै मह भेटियो । चार माना प्याक गरियो मन एकदम प्रफुल्ल भयो ।
कोरोना माहामारीको बेला हस्पिटलमा बेड नपाउने, अक्सिजन नपाउने, आईसीयु नपाउने बेलामा भीर मौरी मह काण्ड घटेको भए के होला ?

भन्ने तरङ मनमा बेला–बेलामा आई रहन्थ्यो । अचानक २०७८ साल जेठ १३ गते बेलुकी खाना खाने बेलामा छोराले हट लेमन वीथ हनी खाओं भन्यो । मैले हुन्न भन्ने कुरै भएन छोराले त्यही फापरको फूलको रस खाएको अर्गानिक महमा राखेर हट लेमन खायौं । रन्जनाले खाना खाएमै पछि खाए पनि हुन्छ, पहिला खाना खाउ भनेपछि मैले खाना खाँदै मह पनि खाएँ । तर, छोराले खाने मेसो पाएनछ, उसले खाना नै खायो । पछि के सोच्यो कुन्नी बाबा हजुर नै खानुस् मेरो भाग पनि भन्यो । मेलै सेलाईसकेको छोराको भाग पनि तनक्कै पारेर पारिदिँए । केही बेरपछि अलि–अलि झम्म पारे जस्तो भयो । छोरालाई मैले मह खाएको छु, मलाई गाह्रो भयो भने मम्मीलाई इन्फर्म गर ल भने, छोरोले पहिला त हुन्छ भनेको थियो अनि मैले बान्ता पनि हुनसक्छ नि भनेर सुतेँ, एकैछिनमा भुसुक्केै निदाएछु । छोरो अर्को रुममा गएछ ल्यापटप लिएर । तीन घन्टापछि मेरो निन्द्रा खुल्यो । जुरुक्क उठें भनन्न रिंगटा लाग्यो । बल्ल–बल्ल रन्जना भएको ठाउँमा पुगें । मेरो प्रेसर चेक गर त भने प्रेसर निकै कम भइसकेको रहेछ, घडीबाट मुटुको धड्कन चेक गर्दा जम्मा ५०– ५५ देखायो । ग्लुकोज पानी बनाइन जीवनजल खाइयो ज्वानो बिरेनुन सबै खाँदा पनि प्रेसर टसको मस भएन ।

यस्तो महामारीको बेला हस्पिटल जाने कुरा पनि भएन, रन्जनाले अन्टीको छोरी डा बिनीतालाई फोन गरिन् डा. बिनीताको सल्लाहमा हस्पिटल जुनसुकै हालतमा भए पनि जानै पर्ने रिकमेन्डेसन भयो । अब कुन हस्पिटल जाने कसरी जाने चिन्ताको बिषय बन्यो । गुगल मा सर्च गरियो नन्कोभिड हस्पिटल कता छ भनेर खोजेको भेटिएन । दिमागले काम गर्न छाडिसक्यो अब रिस्क लिएर भएपनि नजिकैको केएमसी नै जाने निधो भयो । हस्पिटलको एम्बुलेन्सलाई फोन गर्दा फोन उठेन । बाहिर झम् झम् पानी परिरहेको थियो । गाडी मर्मत गर्न ग्यारेज छोडेको त्यतैछ । स्कुटरमा भिजेरेै भए पनि जाने निधो गरियो । रन्जनाले स्टार्ट गर्न खोजिन भएन । म आफैं अगाडि सरेर चलाउने हिम्मत गरे रन्जनालाई पछाडि राखेर केएमसी हस्पिटलको इमर्जेन्सीमा पुगेर थचक्क बसेँ । डाक्टरले उठाएर बेडमा सुताए । मुटुको धडकन ४५ मात्रै रहेछ । प्रेसर पनि निकै कम रहेछ कति थियो मेसो भएन । वरिपरि सबै कोरोनाकै बिरामी । मेरो पीसीआर टेस्टको लागि नाक र मुखमा सुइँरो घुसारियो ।

मलाई जनरल आईसीयुमा भर्ना गरियो पीसीआर पोजेटिभ आए कोभिड वार्ड र नेगेटिभ आए नन्कोभिड वार्डमा लैजाने गरी बीचमा उपचार गर्ने काम भयो । मलाई स्वर्ग र नर्कको बीचमा आफू उभिएको जस्तो आभाष भयो कोही चित्रगुप्त जस्ता कोही यमराज जस्ता विचरा नर्सहरू यमदूत जस्ता लाग्न थाल्यो । मिलन भान्जाले स्याहार सुसार गर्नसम्म गरेँ । अन्नतः मेरो पीसीआर रिपोर्ट नेगेटिभ आयो मन केही हल्का भयो । केएमसी हस्पिटलका डाक्टर नर्सलगायतको टोलीको अथक प्रयासपछि मेरो स्वास्थ्यमा निकै सुधार आयो । मेरो स्वास्थ लाभको कामना गर्नु हुने मेरो घरपरिवार, इस्टमित्र, दाजुभाइ, दिदीबहिनी, साथीभाइ तथा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गर्दछु । मेरो जीवनमा दोहोरिँदै गएको मह काण्डको हिसाब किताबमा मलाई धेरैपटक चित्रगुप्तले जोगाएका छन् । उनको हिसाब अझै नमिलेकोमा खुशी छु । अझै केही वर्ष चित्रगुप्तको हिसाब मिल्दैन भन्नेमा विश्वस्त छु । मलाई पटक–पटक अप्ठ्यारोमा पार्ने महप्रतिको मेरो मोह अहिलेलाई भने भंग भएको छ । यहाँहरू पनि मह खाँदा होस् पुर्याएर र मात्रा मिलाएर खानु होला । महले मलाई तीन लोक, चौध भुवनको भ्रमण गराइसकेको छ ।

  • गुणराज ढकाल
    अध्यक्ष, नवीकरणीय ऊर्जा परिसंघ नेपाल
    केएमसी हस्पिटल
    आईसीयु बेड नं. ४०६

प्रतिक्रिया दिनुहोस्