अवैज्ञानिक विकास पद्दतिले संकटमा इन्द्रसरोवर



नेपाल समाचारपत्र, हेटौंडा

कुलेखानी जलाधार क्षेत्रअन्तर्गत् नेपालको पहिलो र ठूलो मानव निर्मित जलाशय इन्द्रसरोवर पर्दछ । त्यसैले कुलेखानी जलाधार क्षेत्र कुलेखानी जलविद्युत् आयोजनाको संवेदनशील जलाधार क्षेत्र हो ।जिल्लाका तीन विद्युत्गृह कुलेखानी पहिलो, कुलेखानी दोस्रो तथा कुलेखानी तेस्रोका लागि पानीको स्रोत कुलेखानी जलाधार क्षेत्र इन्द्रसरोवर हो । विकास निर्माण कार्यहरु तथा खेतीपातीका तौरतरिकाहरु संरक्षणमुखी हुन नसकेमा जलाधार क्षेत्रबाट भूक्षय भएर इन्द्रसरोवरमा माटो-बालुवा थुप्रिन जान्छ । उक्त क्षेत्रका बासिन्दाको मुख्य पेशा कृषि भएकाले उक्त क्षेत्रमा गरिने खेती प्रणालीले इन्द्रसरोवरको भविष्यलाई प्रत्यक्षरुपमा असर गर्दछ ।

यही संवेदनशीलताका कारण उक्त क्षेत्रमा विकास निर्माण मापदण्ड बनाएर विकास र वातावरण संरक्षणबीच सामञ्जस्यता ल्याउन कुलेखानी जलाधार क्षेत्रलाई भू तथा जलाधार संरक्षण ऐन, २०३९ अनुसार संरक्षित जलाधारका रुपमा घोषणा गरी व्यवस्थित जलाधारका रुपमा संरक्षण र व्यवस्थापन गर्न आवश्यक भएको सन्दर्भमा हिमाल मञ्च मकवानपुरले जिल्ला भूसंरक्षण कार्यालयमा मकवानपुरमा बुझाएको कुलेखानी संरक्षित जलाधार क्षेत्रको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।कुलेखानी जलाधार क्षेत्र वातावरणीयरुपले पनि संवेदनशील क्षेत्र हो । सघन तरकारी खेती हुने क्षेत्र भएकाले भूक्षयको ठूलो जोखिम रहेको प्रतिवेदनले देखाउँछ । शितोष्ण हावापानी तथा वनस्पतीको क्षेत्र भएको उक्त क्षेत्र जैविक विविधताका दृष्टिले पनि अतिसंवेदनशील छ ।

संरक्षित जलाधार क्षेत्रका रुपमा व्यवस्थापन गर्न चुनौतीहरु छन् । भूउपयोगिता प्रणाली अपनाएर खेती गर्ने पद्धति विकास र यसको कार्यान्वयन गर्नु-गराउनु मुख्य चुनौतीका रुपमा छ । माटो संरक्षणका लागि भूमिको भिरालोपन र भूक्षमताअनुरुप जमिनको उपयोग गर्नु र खेती गर्नु टड्कारो चुनौती रहेको अनुसन्धानकर्ता कृष्णप्रसाद दाहालले बताउनुभयो ।विशेषतः भूक्षय र बाढीपहिरो नियन्त्रण गर्नु यसको मुख्य चुनौती रहेको पाइन्छ । कुलेखानीलाई जलाधार क्षेत्रमा संरक्षणमुखी भूउपयोेग गरी इन्द्रसरोवरमा डिपोजिसनमा कमी ल्याएर इन्द्रसरोवरको आयु बढाउनु समस्या रहेको अर्का अनुसन्धानकर्ता प्राविधिक राजबाबु पहाडीले बताउनुभयो ।भूसंरक्षण विभागले २०४९ सालमा गरेको एक अध्ययनमा खेती गरिएको भिरालो बारिबाट ४० घनमिटर-हेक्टर-वर्ष माटो बग्ने गर्दथ्यो । एक संस्थाले २०६१ सालमा गरेको अर्को अध्ययनले जमिनबाट ७३ दशमलव घनमिटर-हेक्टर-वर्ष गेग्रान थुप्रिएको अनुमान गरिएको छ । कुलेखानी क्षेत्रका जलचर संरक्षण गर्नु र माछापालन सुव्यवस्था कायम गर्नु चुनौतीहरु छन् ।कुलेखानी जलाधारको भूउपयोग अवस्था हेर्ने हो भने कृषि क्षेत्र चार हजार नौं सय ३९, घना बनक्षेत्र चार हजार चार सय १७, पातलो वन क्षेत्र तीन हजार तीन सय ८८ हेक्टर, झाडी बुट्यान क्षेत्र एक हजार नौं सय ५६ हेक्टर, घाँस चरण क्षेत्र एक सय ८५ हेक्टर, जल क्षेत्र एक सय ६१ हेक्टर, नदीकिनार क्षेत्र ७३ हेक्टर, बसोबास क्षेत्र ६६ हेक्टर र खाली पर्ती क्षेत्र दुई हेक्टर रहेको प्रतिवेदनमा उल्लेख छ ।

कुलेखानी जलाधार क्षेत्रमा कुल घरधुरी सात हजार तीन सय ३६ र जनसंख्या ४० हजार तीन सय ४७ देखिन्छ । उक्त जनसंख्याको जीविकोपार्जनको मुख्य स्रोत कुलेखानी जलाधार क्षेत्रभित्रका प्राकृतिक स्रोत हुन् । खेती गरिएको जमिनले ओगटेको क्षेत्र सन् १९८७ देखि १९९२ बीच बढेको देखिन्छ । सन् २००१ मा आउँदा घटेको र सो घट्ने क्रम सन् २०१४ सम्म जारी रहेको तथ्यांकमा छ । सोहीअनुसार सन् १९७८ देखि १९९२ बीच बनक्षेत्र घटेको र सो पछिको क्रमश वन क्षेत्र बढेको देखिन्छ । यसप्रकार कृषि भूमि घट्ने र वनक्षेत्र बढ्ने क्रमसँगै कुलेखानी जलाशयमा थुप्रिने गेग्रानको मात्रा घट्दै गएको र वनक्षेत्र वृद्धि भएर भूक्षयको मात्रा पनि घट्दै गएको पुष्टि हुन आउने प्रतिवेदनले भनेको छ ।जलाशयको पानीबाट कुलेखानी प्रथम ९६० मेगावाट० कुलेखानी दोस्रो ९३२ मेगावाट० तथा तेस्रो ९१४ मेगावाट० सञ्चालित छ । कुलेखानी क्षेत्रमा सञ्चालित भू तथा जल संरक्षण क्रियाकलापले सिंगो देशको विद्युत् आपूर्ति तथा आर्थिक विकासलाई टेवा पुगेको छ । इन्द्रसरोवरमा संकलन गरिएको मध्ये एक हजार ४ सय ८४ मिटर सतह रहेसम्म विद्युत् उत्पादनका लागि प्रयोगमा ल्याउन सकिने एक प्राविधिकले बताए । सरोवरमा पानी अट्ने क्षमता एक हजार पाँच सय ३० मिटर छ ।

अन्य क्षेत्रमा वर्षाका कारण रनअफ रिभरमा आधारित आयोजना पूर्ण क्षमतामा सञ्चालन हुँदा कुलेखानीलाई भार पर्दैन । अन्य आयोजना राम्ररी सञ्चालन हुनसक्दा कुलेखानीले कममात्र विद्युत् उत्पादन गर्दछ । कुलेखानीलाई मुलुकको विद्युत्को ‘ब्याकअप’ मानिन्छ । रनअफ रिभर बगेको खोलाबाट विद्युत् उत्पादन हुँदा सुक्खायामका लागि विद्युत् उत्पादन निम्ति पानी सञ्चय गर्ने गरिएको छ । प्राधिकरणको निर्देशानुसार कुलेखानी सञ्चालन गरिँदै आएको छ ।मुलुकलाई ‘ब्ल्याक आउट’ हुनबाट जोगाउने उद्देश्यले मानव निर्मित सबभन्दा ठूलो जलाशय इन्द्रसरोवरलाई जोगाउन दिगो विकास नीति अवलम्बन गरिएको छ । कुलेखानी जलविद्युत्का निम्ति निर्मित इन्द्रसरोवरको पिंधमा माटो तथा बालुवा थुप्रिँदै जलाशयको सतह बढेकाले उक्त क्षेत्रको वातावरणीय संरक्षण र दिगो विकास निम्ति निर्मित वातावरणीय व्यवस्थापन विशेष कोष सञ्चालन कार्यविधिलाई परिमार्जन गरी लागु गरिएको हो ।जिल्ला समन्वय समिति मकवानपुरले माटो तथा बालुवा थुप्रिने क्रम बढ्दै गएकाले इन्द्रसरोवरको जीवनमा मात्र नभएर पूरै जलविद्युत् आयोजनाकै जीवनको ह्रास हुने सम्भावना भएकाले अव्यवस्थित मानवीय कार्यलाई रोक्न बनाइएको कार्यविधिलाई समयसापेक्ष परिमार्जन गरी संरक्षण एवम् व्यबस्थापन कार्यक्रम सञ्चालन गरेको छ ।

इन्द्रसरोवर जोगाउन सडक निर्माण गर्ने नाममा एक्साभेटर र डोजरजस्ता ठूला मेसिन प्रयोग कार्यलाई पूर्णरुपमा निरुत्साहित गर्ने नीति अगाडि सारिएको छ । २४औं जिल्ला परिषद्ले कुलेखानीको जलाधार क्षेत्रमा ठूला उपकरण प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।सडक निर्माणमा ठूला उपकरण प्रयोग गरिँदा सरोवरको पिँधको सतह करिब १३ मिटर बढेको अनुमान छ । प्रायः वर्षा समयमा जलाधार क्षेत्रका विभिन्न नदी र खोल्साहरुबाट माटो, पात र ढुंगालगायत सरोवरमा थुप्रिने गर्दछ, जसले गर्दा वर्षेनी इन्द्रसरोवरको आयु घट्दो छ ।जथाभावीरुपमा ग्रामीण सडक निर्माण गरिँदै आएकोमा सरोवरको आयु बढाउन उक्त जलाधार क्षेत्रलाई सम्पूर्ण प्रक्रिया पूरा गरी ‘संरक्षित जलाधार क्षेत्र’ का रुपमा घोषणा गर्ने निर्णय जिल्ला परिषद्ले गरेको छ । कुलेखानी जलविद्युत्बाट प्राप्त हुने रोयल्टी शुल्कको निश्चित प्रतिशत् जलाधार संरक्षण, सुहाउँदो बृक्षरोपण एवम् बनविकास कार्यमा लगानी गरी जैविक विविधता विकास गर्ने नीति जिससले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्