आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, योग्य आवेदन स्वीकृत


काठमाडौं ।

सरकारले विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारहरूको दरखास्त स्वीकृत गरेको छ ।

“विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” अनुसार प्रकाशित सूचनाबमोजिम प्राप्त आवेदनहरूमध्ये छनोट समितिले योग्य दरखास्त स्वीकृत गरेको हो ।

सिफारिस समितिको २०८३ जेठ १३ गतेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका लागि प्राप्त आवेदनहरू अध्ययन गरी विश्वविद्यालयगत रूपमा योग्य उम्मेदवारको दरखास्त स्वीकृत गरिएको जनाइएको छ ।

उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन परेको थियो । समितिले कार्यविधिअनुसार मापदण्ड पूरा गरेका उम्मेदवारहरूको आवेदन स्वीकृत गरी सम्बन्धित सबैको जानकारीका लागि सूचना सार्वजनिक गरेको जनाएको छ ।