सहकारी कप बुद्धिचाल जारी



ललितपुर, (नेस)

ललितपुरको ताम्राकार भवनमा सञ्चालन भइरहेको ‘गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता’को दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरू सम्पन्न भएका छन् ।शनिबार सुन्दर साकोस हेटौंडाका कृष्ण थापा, माउन्ट एभरेस्ट चेस एन्ड सोसियल क्लबका क्षितिज भण्डारी, दोलखाका सुमित पन्त, गजुरमुखी चेस क्लबका रिजेन्द्र राजभण्डारी, प्रकाश नेपाल र करुणामय साकोसका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठले समान ९ अंकका साथ संयुक्त अग्रता लिएका छन् ।

ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगिताको दोश्रो चरणको खेलमा शीर्ष वरीयताका खेलाडी फिडेमास्टर रुपेश जैसवाललाई नोभा साकोर ललितपुरका युवा खेलाडी सुदीप तामाङले माथ गरे । सुदीपले तेश्रो चरणको खेलमा दोलखाका मिलन लामासित बराबरी खेलेका थिए ।

तामाङसँगै जनता साकोस ललितपुरका सजिन महर्जन, दमकका राजन सुवेदी, सिलुलाइट साकोस लुभुका कमल श्रेष्ठ, सुरोज महर्जन र सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ २ जित र एक बराबरी खेली ७ अंकका साथ संयुक्तरूपमा दोश्रो स्थानमा छन् ।६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ९० जना खेलाडीहरू प्रतिस्पर्धा गरिरहेका छन् । पाँचदिने प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार हात पार्नेछन् भने कुल नगद पुरस्कार ५ लाख ६१ हजार ४ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्