जलविद्युत् विकासमा सहकार्य गर्ने प्रतिबद्धता



नेपाल समाचारपत्र, काठमाडौं ।

जलविद्युत् क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनका लागि धादिङको धुनिबेशी–५ मा रहेको शेषकान्त फाउन्डेशन र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ‘इप्पान’का बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । शेषकान्त फाउन्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकाल र इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षर कार्यक्रममा नेपालका लागि जर्मन राजदूतावासका द्वितीय सचिव सिमन म्याक्सिमिलान हाइन्केला, धुनिबेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, शेषकान्त फाउन्डेशनका सल्लाहकार तथा जर्मन प्राविधिक शिक्षालयका परिकल्पनाकार पवन ढकाल, इप्पान तथा फाउन्डेशनका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै धुनिबेंशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले आफ्नो नगरमा प्राविधिक शिक्षालय स्थापना हुनु खुशीको विषय भएको भन्दै नगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यस्तै उहाँले दक्ष प्राविधिक जनशक्ति उत्पादन नगरपालिकाको प्राथमिकताको विषय रहँदै आएकोमा आफूहरुले कृषि प्राविधिकतर्फको अध्यापनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग सम्बन्धनका लागि पहल भइरहेको बताउनुभयो ।

नेपालमा जलविद्युत् क्षेत्रमा काम गर्ने स्वदेशी प्राविधिकको अभाव रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले शेषकान्त फाउन्डेशनले सञ्चालन गरेको जर्मन प्राविधिक शिक्षालयजस्ता तालिम केन्द्रले आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्नका लागि प्रयास गरेकोमा सराहना गर्नुभयो ।यस्ता विषयको तालिमपश्चात् उत्पादित जनशक्तिले नेपालका जलविद्युत् आयोजनाको निर्माणपछि उत्पन्न हुने समस्या समाधानमा विदेशी प्राविधिकको खोजी गर्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो । स्वदेशमै दक्ष प्राविधिकको उपलब्धताले जलविद्युत् आयोजनाको खर्चमा पनि कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि जर्मन राजदूतावासका द्वितीय सचिव सिमन म्याक्सिमिलान हाइन्केलाले जर्मन प्राविधिक शिक्षालय जस्ता संस्थाले नेपालको प्राविधिक जनशक्ति उत्पादनमा विशेष भूमिका खेल्ने बताउँदै यस्ता संस्थाहरुको स्थापना र क्षमता वृद्धिमा जर्मन सरकारको निरन्तर सहयोग रहने बताउनुभयो ।कार्यक्रममा शेषकान्त फाउन्डेशनका सल्लाहकार तथा जर्मन प्राविधिक शिक्षालयका परिकल्पनाकार पवन ढकालले तालिम केन्द्रमा अन्तर्राष्ट्रियस्तरका यन्त्र उपकरण उपलब्ध गराइएको र ती उपकरणको उपयोग गरी प्राविधिक विषयका विभिन्न तालिम सञ्चालन शुरु हुन लागेकोमा आफू अत्यन्तै खुशी भएको बताउनुभयो ।

कार्यक्रममा शेषकान्त फाउन्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले स्थानीय युवाहरुलाई दक्ष बनाई श्रम बजारमा लैजाने शेषकान्त फाउन्डेशनको उद्देश्य रहेको भन्दै संस्थामा हाल ३ महिने एन्स्टिेन्ट वेल्डिङ तालिम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।२०७२ मा स्थापना भएको शेषकान्त फाउन्डेशनले निकट भविष्यमा छोटो तथा लामो अवधिका विभिन्न विषयका तालिम सञ्चालन गर्ने तयारी गरिरहेको सचिव ऋषिराम ढकालले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित अतिथिहरुले प्राविधिक शिक्षालयमा भएको भौतिक पूर्वाधारको निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्