शुरू भयो प्रतियोगिताको लहर



हेटौंडा, (नेस) ।

मकवानपुरका खेल प्रतियोगिताको सफल आयोजना र त्यसमा मकवानपुरका खेलाडीले प्राप्त गरेको सफलताले खेलकुदप्रति आमचासो बढेको बेला कोरोना भाइरसले ब्रेक लगाएको थियो ।पछिल्लो समय मकवानपुरमा प्रतियोगिताहरू भइरहेका छन् । खेलाडीलाई भ्याइनभ्याइ भइरहेको देखिन्छ । सबभन्दा बढी त फुटबल प्रतियोगिता भइरहेको छ । मकवानपुरमा स्थानीय तहमा वडा, जिल्लास्तरीय खेल, भिडोल कप भइसकेको छ भने मेयरकप र पुरुष÷महिला भलिबल जारी छ ।

बिहीबारदेखि बागमती गाउँपालिकामा खुला नकआउट फुटबल प्रतियोगिता सुरू भएको छ । फागुन २७ गतेदेखि हेटौंडामा स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबलको तेस्रो संस्करण हुने तयारी भइरहेको जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीका लामाले जानकारी दिए । चैत ८ देखि १२ गतेसम्म जिल्लास्तरीय फुटबल प्रतियोगिता हुन लागेको उनले जानकारी दिए ।जिल्ला खेलकुद विकास समिति कार्यालय सचिव राजन दाहाल (खुशराज) ले विभिन्न स्थानीय तहमा प्रतियोगिता भइरहेको जानकारी दिए । पहिलो चरणको रनिङ शिल्ड प्रतियोगिता भीमफेदी गाउँपालिकामा भइसकेको र अब गढी गाउँपालिका र २८ गते थाहा नगरपालिकामा हुने उनले जानकारी दिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १० वटै स्थानीय तहमा गरेर जिल्ला प्रतियोगिता र प्रदेश हँुदै राष्ट्रिय प्रतियोगिता खेलाइने खुशराजले जानकारी दिए ।

हेटौंडामा सिन क्योकुसिन कराते प्रतियोगिता हुन लागेको पनि उनले जानकारी दिए । चैत तेस्रो हप्तादेखि प्रत्येक पालिकाबाट १-१ टिम बनाएर अन्तर गाउँपालिका फुटबल प्रतियोगिता गराउने योजना रहेको खुशराज बताउँछन् ।अन्तर गाउँपालिका फुटबल प्रतियोगिता १० वटै स्थानीय तह र जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा खेलाउने तयारी रहेको उनले बताए । मकवानपुरमा विभिन्न खेलहरू भइरहेको अवस्थामा लामो समय घरमै बसेका खेलाडी उत्साहित भएको र दर्शकहरू पनि उत्साहित भएको अवस्थामा प्रतियोगिता गराइएको खेलकुद विकास समिति अध्यक्ष सानु लामाले बताए ।

कोरोना भाइरसको जोखिम कम गर्न गरिएको लकडाउनका कारण एक दर्जनभन्दा बढी प्रतियोगिता स्थगित भएका थिए । कोरोना भाइरस संक्रमणको खतराका कारण सक्रिय खेलको सूचीमा रहेको फुटबलका इभेन्ट्सहरू सबभन्दा बढी प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्