घरेलु तथा साना उद्यमले सहज कर्जा पाउने



नेपाल समाचारपत्र, काठमाडौं  । 

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहर (एसमएमईज) को प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यलेसमझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार वाणिज्य बैंकहरू र एसमएमईजका बीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यावसायिक वातावरण सिर्जना गर्न र उद्यमी, व्यवसायी एवं बैंकका हित प्रवद्र्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकताअनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम छ ।

समझदारीपत्र कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुंगा हुने बताउनुभयो । एसमएमईजले ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अब संवोधन गर्नेछ अध्यक्ष गोल्छाले भन्नुभयो–‘एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ ।’त्यस्तै बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताउँदै भन्नुभयो–‘हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं । हामीबीचको सहकार्य निरन्तर अगाडि बढ्ने बताउंदै अध्यक्ष दाहालले हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौ । अहिले पनि मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैकिङ पहुँच विस्तार भइसकेको जानकारी गराउभयो । महासंघको यो सहकार्य पछि तल्लो तहसम्म गएर वास्तविक सहयोग खोजी रहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने उहांले स्पष्ट पार्नुभयो ।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओसमेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिबद्धता जनाउनुभयो । अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजको ८० प्रतिशत समस्या ऋणको सहज पहुंचको अभावनै रहेको पाइएकाले एसएमईजहरुलाई नै केन्द्रित गरी भएकोे समझदारीले अब त्यो समस्यालाई सम्बोधन गर्ने विश्वास प्रकट गर्नुभयो । मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमईजकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्