कारागार भए पनि कैदी स्थानान्तरण !



मुगु, (नेस) ।

हिमाली जिल्ला मुगुमा कारागार भवन हुँदा पनि यहाँका थुनुवा कैदीलाई छिमेकी जुम्ला स्थानान्तरण गर्ने गरिएको छ । भवन निर्माण सम्पन्न भइसक्दा पनि शहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय हस्तान्तरण नगर्दा कैदीलाई जुम्ला स्थानान्तरण गरिँदै आएको हो ।

कारागार कार्यालय मुगुका अनुसार सम्झौताअनुसार भवन निर्माण भएर सहरी डिभिजनलाई बुझाइए पनि कार्यालयले जिल्ला कारागार मुगुलाई हस्तान्तरण नगर्दा कैदीबन्दीलाई अन्यत्र लैजानुपर्ने अवस्था सिर्जना भएको छ । कैदीबन्दी राख्ने कार्यालय प्रयोगमा नहुँदा मुगुमा विभिन्न प्रकृतिका घटनामा संलग्नलाई पुर्पक्ष तथा जेल चलानका लागि जुम्ला, बर्दिया, दैलेख र अन्य जिल्लाका कारागारमा चलान गरिँदै आएको छ । सम्झौताअनुसार काम गरेर शहरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरिसकिएको कम्पनीका मुगु प्रतिनिधि कर्णबहादुर रावल बताउनुहुन्छ ।

भवन निर्माण सम्पन्न भइसके पनि हालसम्म हस्तान्तरण नहुँदा कार्यालय सार्न नसकिएको मुगु कारागारका प्रमुख दत्त लामाले जानकारी दिनुभयो । ‘भवन निर्माण भइसकेको छ । यहाँका कैदी बन्दीलाई राख्न भवन डिभिजन कार्यालय जुम्लालाई बारम्बार ताकेता गर्दा पनि सुनुवाइ भएको छैन ।’ –कार्यालय प्रमुख लामाले भन्नुभयो ।कारागार कार्यालय मुगुका अनुसार यहाँबाट जुम्लासम्म कैदीलाई पु¥याउँदा प्रतिकैदी ८५ हजारदेखि १ लाख रुपियाँसम्म रकम खर्चिनुपर्छ । कैदीलाई अन्यत्र सार्दा खाना, नास्ता, बास, सुरक्षाकर्मीलगायत आवश्यक पर्ने हुँदा सो रकम खर्च हुने गरेको कार्यालय प्रमुख लामाको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटी भने निर्माण भएको भवन कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रयोजनमा ल्याइएको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्