पत्रकार महिला आवास गृहको उद्घाटन



काठमाडौं, (नेस) ।

नेपाल पत्रकार महासंघ महिला समितिको समन्वयमा व्यवस्थापन गरिएको पत्रकार महिला आवास गृहको उद्घाटन भएको छ । नेपाल पत्रकार महासंघको कार्यालय परिसरमा रहेको भवनमा उक्त आवास गृहको उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलाका हकअधिकारका लागि महासंघ प्रतिबद्ध रहेको बताउनुभयो ।
आवास गृहको उद्घाटन नेपाल पत्रकार महासंघकी पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले गर्नुभएको थियो । भवन उद्घाटन गर्दै बुढाथोेकीले देशमा महिला पत्रकारको संख्या बढे पनि गुणात्मकरुपमा क्षमता वृद्धिका लागि पत्रकारहरुको संस्था लाग्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा बोल्ने वक्ताहरुले बाहिरबाट काठमाडौंमा आउने पत्रकार महिलाहरुका लागि आवास गृहले फाइदा पुग्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघका महिला समिति संयोजक लक्ष्मी पुनले आवासगृहको शुरुआत गरेको र यसको क्षमता विस्तारमा अझ ध्यान दिँदै जाने बताउनुभयो ।उहाँले अहिले तत्कालका लागि १ वटा मातृत्व कक्षसहित १० जना पत्रकार महिला अट्ने क्षमता रहेको बताउनुभयो ।नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय परिसरमा यसअघि पुरुष आवास गृह रहेकोमा अहिले महिला आवास गृहको शुरुवात गरिएको हो । हाल पुरुष आवास गृहमा बस्ने पुरुष पत्रकारले एक दिनको १ सय रुपियाँ र पत्रकार महिलाले ५० रुपियाँ रजिस्टे«सन गर्ने व्यवस्था गरिएको महिला समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्