पोखरा–सेतीबेणी–रिडी सडकमा कालोपत्रे शुरु, पर्यटकीय सडकको रुपमा बिकास गरिने



दुर्गाप्रसाद शर्मा ,पर्वत ।

नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तब्य गुल्मीको रिडी सम्म पुग्ने पोखरा रिडी सडकमा कालोपत्रेको काम शुरु भएको छ ।

बैकिल्पक राष्ट्रिय सडकको रुपमा निर्माण शुरु गरिएको सडकको पर्वतको लुंखु देखि होस्राङ्गादी खण्डमा कालोपत्रे शुरु भएको हो । सडक कालोपत्रे गर्ने कामको यसका परिकल्पनाकार तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलन्यास गर्नुभयो ।
पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तब्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीबेणी हुँदै गुल्मीको पर्यटकीय क्षेत्र रिडी सम्मको ८० किलोमिटर लामो सडक निर्माण शुरु गरिएको हो । सडकको अधिकाँश भागमा ट्रयाक ओपन समेत भैसकेका कारण यस्को स्तरउन्नती र कालोपत्रे गर्ने काम शुरु भएपछि डाँडैडाडा सेतीबेणी देखि पोखरा सम्म पक्की सडकमा पुग्ने पर्वतबासीको चाहनाले मुर्तरुप लिने भएको छ ।
यो सडक पोखराको लेकसाईडबाट शुरु भई – पामे– भदौरे हुँदै पर्वतको राम्जा–आर्थर–कार्किनेटा–लुंखु–त्रिबेणी–सेतीबेणीबाट गुल्मीको रिडी सम्म पुग्नेछ ।

सडकमा पुल समेत बनाउन नपर्ने र झण्डै दुई दर्जन खोल्सामा कल्र्भट बनाए पुग्ने देखिएको सडक बिभागले जनाएको छ । यो सडकमा पोखरा देखि सेतीबेणी सम्मै सडक सहित साईकल लेन समेत बनाउने तयारी भएकाले सरर साईकलमै पोखराबाट सेतीबेणी पुग्न सकिने भएको छ । पर्यटकीय गन्तब्य जोड्ने सडकमा साईकल लेन समेत निर्माण हुने भएकाले मुलुककै नमुना सडक बन्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले रिडी देखि पोखरा सम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै आउनु भएको थियो । २०७० सालको संबिधानसभा निर्वाचनमा समेत अध्यक्ष तिमिल्सिना पर्वतबाट उमेदवार हुँदा उक्त सडक पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र प्रकाशित गर्नुभएको थियो भने राष्ट्रिय सभा अध्यक्ष भएपछि गृह जिल्ला आउँदा यो सडक राष्ट्रिय राजमार्गको रुपमा बिकास गर्ने बताउँदै आउनुभएको थियो । ‘

डाँडैडाडा सेतीबेणी देखि पोखरा जोड्ने सडक निर्माण गर्ने मेरो २० बर्ष पुरानो योजना भएकोले कालोपत्रे सडकमा सरर सेतीबेणी पोखरा पु¥याउने योजनाले मुर्त रुप लिँदा जिल्लाबासी संगै म पनि खुसी छु।’ उहाँले भन्नुभयो ‘समयमा नै निर्माणको काम सक्नु अबको चुनौती हो।’ सेतीबेणी देखि पोखरा सम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रुपमा समेत बिकास गर्न सकिने छ । पर्वतको सुदुर दक्षिणबाट मध्यभाग हुँदै उत्तरपुर्बी क्षेत्र जोडने सडक पर्वतको मेरुदण्ड समेत बन्ने छ ।

समाप्त माघ २८

प्रतिक्रिया दिनुहोस्