नेपाली समाजमा स्वस्थानी व्रतकथाको प्रभाव



  • पुष्प भट्टराई

पौष शुक्ल पूर्णिमादेखि आरम्भ गरेर माघ शुक्ल पूर्णिमामा समाप्त गरिने यस व्रतलाई स्वस्थानी व्रत भनिन्छ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने कठिन व्रतमध्येको एक स्वस्थानी माताको व्रत हो । यो व्रतको भारतलगायत अन्य हिन्दू बहुल राष्ट्रमा त्यति धेरै लोकप्रिय नभए पनि नेपाली समाजमा भने ज्यादै लोकप्रिय छ ।

पौराणिक कथन :

सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार यो व्रतको पहिलो अनुष्ठान हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन व्रत बसेको भन्ने पौराणिक कथन छ । चिताएको पूरा भएको विश्वासमा स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

त्यसको अनुकरण नागनागिनीहरुले गरेका थिए । जसको प्रतिफल धेरै कालदेखि विछोड भएका पतिहरुसँग भेट गर्ने अवसर प्राप्त गरेका थिए । पद्मपुराण केदारखण्ड माघ माहात्म्यअन्तर्गत स्वस्थानी व्रतको वर्णन गरिएको छ । व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको मानिन्छ ।

जीवन गुजाराको स्रोत–साधन जुटाउन नसक्दा विदेशिने नवराजजस्ता छोराहरुले गरेका संघर्ष आज पनि परदेशमा प्रशस्त भेटिन्छन् । त्यति मात्र होइन, पति विछोडले विह्वल भएका चन्द्रावतीजस्ता बुहारीले पनि आज समाजमा अनेकौं लाञ्छना सहेर आसपासमा शरण लिई जसोतसो निर्वाह गरिरहेका छन् ।

यस कथाका प्रमुख नायक–नायिका शिव–पार्वती यहाँ विभिन्न नामले छरिएर रहेका शक्तिपीठमा अवस्थित देवीदेवता हुन् । असमयमा शरीर त्याग गर्ने सतीको निर्जीव शरीर दाम्पत्य प्रेमले आकर्षित बनी बोकेर भौंतारिने शिवले विचरण गरेका बहुसंख्यक ठाउँ यहाँ छन् ।

त्यसैले अहिले पनि आस्थापूर्वक यसको व्रत बस्ने हिन्दू नारीहरु प्रशस्त पाइन्छन् । महिमा बोध गराउने उदाहरणका रुपमा प्रस्तुत गरिएका यी कथा प्रसंगले आजसम्म पनि असंख्य नरनारीलाई प्रभाव पारेको छ र प्रेरणा प्रदान गरेको छ । कुमारी हुन् या विवाहिता, जोसुकै यो व्रतबाट लाभान्वित हुँदै आएका भेटिन्छन् ।

धार्मिक विश्वास :

स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने धार्मिक विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । घर र माइतीको आनका तान विषमतालाई पुरै पचाएर घरजम सम्हाल्ने नारीको कथा पनि स्वस्थानीको क्षेत्रफलभित्र पर्दछ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । वास्तवमा वैधव्य दोष हरण गरी आफ्नो स्थितिमा सुस्थिर राख्न सहयोग पु-याउनु स्वस्थानी व्रतकथाको लक्ष्य देखिन्छ । विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले व्रताकथामा वर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

सामाजिक परिवेश :

स्वस्थानीको कथानक पात्रहरुको चरित्र चित्रण एवं स्वभावका सम्बन्धमा विचार गर्दा के छर्लंग हुन्छ भने, यी कुरा पौराणिक भईकन पनि हाम्रा घर–आँगनमा घटेका र घट्न सक्ने स्वाभाविक घटनाजस्ता लाग्छन् । स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएको शालीनदी उपत्यकाको पूर्वी भेगमा अवस्थित छ ।

यहाँ महादेवको कृपा प्राप्त गरी राजा बन्ने नवराजकी रानी चन्द्रावतीको उद्धार भएको धार्मिक विश्वास छ । जहाँ कैयौं संख्यामा नारीहरु विविध किसिमका आन्तरिक संकल्पले प्रेरित भई सौभाग्यसूचक राता वस्त्र धारण गरी अहिले पनि व्रत बस्ने गरेका छन् ।

दाम्पत्य स्नेहको परीक्षणका लागि शिवले धारण गरेको किरातेश्वर स्वरुप र मृगरुप लिई विचरण गरेको श्लेष्मान्तक वन अझैसम्म प्रत्यक्ष साक्षी छन् । यो व्रतकथामा उल्लिखित विषयवस्तु र घटना पनि नेपालकै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख पाइन्छ ।

स्वस्थानी माताकै आराधनाले विधवा ब्राह्मणी गोमाले विदेशिएको छोरोसित भेट गरी राजमाता बन्ने सौभाग्य पाएकी थिइन् । जीवनलाई जसोतसो धकेलेर समय गुजार्न बाध्य भएका गोमाजस्ता नारीहरु पनि यहाँ थुप्रै भेटिन्छन् ।

जीवन गुजाराको स्रोत–साधन जुटाउन नसक्दा विदेशिने नवराजजस्ता छोराहरुले गरेका संघर्ष आज पनि परदेशमा प्रशस्त भेटिन्छन् । त्यति मात्र होइन, पति विछोडले विह्वल भएका चन्द्रावतीजस्ता बुहारीले पनि आज समाजमा अनेकौं लाञ्छना सहेर आसपासमा शरण लिई जसोतसो निर्वाह गरिरहेका छन् ।

अर्कोतिर समाजमा स्वस्थानी देवीलाई निन्दा गर्दा चन्द्रावती कुष्ठरोगले ग्रस्त बनी ठूलो दुर्गतिमा परेका थुप्रै नरनारीका कारुणिक कथा पढ्न पाइन्छ । पश्चातापपूवर्क अप्सराहरुको संसर्गले स्वस्थानी व्रतकै अनुष्ठानबाट रानीको पद प्रप्त गर्न सफल चन्द्रावतीझैँ भाग्यले साथ दिएकाहरु पनि उत्तिकै भेटिएका छन् । कैयांै परिवारमा शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीका प्रतिनिधिहरुले स्वस्थानीको उपासना र आरधाना गरी अभीष्ट सिद्धिको चाहना राखेको पाइन्छ । यहाँका कैयौं घरपिँढीमा टिठालु आँखा लिएर टुक्रुक्क बसेका शिवशर्मालाई टुप्लुक्क देख्न सकिन्छ ।

लोककल्याणका लागि सती वृन्दाको श्राप शिरमा थापी शालिग्रामरुपी शिला काली गण्डकीका गड्तिरमा भेटिन्छन् । घाँसरुपी कुश बारीका कान्लाभरि उम्रिन्छन् । झाररुपी तुलसी मठमा मगमगाउँछन् । वृक्षरुपी पीपलले चौतारीको शोभा थपेका छन् । यिनको दर्शन यहाँकै वनपाखा, भञ्ज्याङ र द्यौरालीहरुमा पाइन्छ ।

व्रतको संक्षिप्त विधान :

पूर्णिमाको अघिल्लो दिन नङ काटी, शुद्ध वस्त्र पहिरी पवित्र भएर व्रतको शुरुआत गरिन्छ । यसै दिनदेखि सात्विक पदार्थहरू मात्र भोजन गर्ने गरिन्छ । भोलिपल्ट पूर्णिमाको दिनदेखि स्नान गरी नित्य मध्याह्न कालमा महादेवको पूजा गर्ने गरिन्छ । शुरुका दिनदेखि व्रत नसकिँदासम्म पलङ त्याग गरी भूमिमा शयन गर्नुपर्दछ ।

एक छाकमात्र सात्विक भोजन ग्रहण गर्नुपर्दछ ।हरेक दिन स्वस्थानी व्रतकथा सुन्ने र सुनाउने परम्परा पनि छ । कथा सुन्ने श्रोता नभए आफैं कथा वाचन गर्ने र आफंै सुन्ने गरिन्छ । परिवारका अन्य कसैले कथा वाचन गरे पनि हुन्छ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनुहुँदैन । कथा सुन्न आफ्ना सबै छिमेकी, इष्टमित्र र बन्धु बान्धवलाई पनि डाक्ने गरिन्छ ।

कथा आरम्भ गर्नुभन्दा पहिले र कथा भनिसकेपछि धूप, दीप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पूजा गरिन्छ । कथा वाचनपछि आरती गर्ने गरिन्छ । अन्त्यमा सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गरिन्छ । यसरी प्रतिदिनको पूजाकार्य सम्पन्न हुने गर्दछ ।

एक महिना पुगेपछि अर्थात् माघ शुक्ल पूर्णिमाको दिन विशेष पूजा साङ्गे गरिन्छ । तामाको थालीमा ओमकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंग बनाई त्यही थालीको मध्यमा स्थापना गरिन्छ । श्रीस्वस्थानी मातासँगै मेरो पनि पूजा गर्नु भनी श्री महादेवबाट आज्ञा भएको जनविश्वास छ । पूजामा रोटी, कुड्का सुपारी, बेलीपुष्प, पान, जनै, अक्षता, कातेका बत्ती, भेटी, जौ, तिल सबै पदार्थ १ सय ८ का दरले चढाउनुपर्दछ । अन्य अप्राप्य फलफूल र नैवैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजापछि १ सय ८ परिक्रमा गरी दण्डवत् ढोग गर्ने चलन छ ।

व्रत प्रतिष्ठापछि, हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनी अर्घ दिएर माथि बताइएका सबै १ सय ८ प्रसादहरूमध्येबाट आठ–आठवटा प्रसाद झिकेर आफ्ना श्रीमान्लाई दिइन्छ । श्रीमान् नभए आफ्ना छोरालाई, छोरा पनि नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो अमुक कार्य पूरा होस् भनी नदीमा बगाइदिनुपर्छ । त्यसपछि सय रोटी आफूले फलाहार गर्नुपर्छ ।

अन्त्यमा, ईश्वर र धर्मप्रति खासै आस्था नराख्ने हाम्रो अहिलेको नयाँ पुस्ता निकै नास्तिक र अश्लील बन्दै गएको देखिन्छ । तथापि समाजमा स्वस्थानी व्रतप्रति अनास्था जगाउनेहरु पनि नभेटिएका भने होइनन् । यति हुँदाहँुदै पनि हाम्रो समाजमा स्वस्थानीको व्रत लिनेहरु धेरै पाइन्छन् । स्वस्थानी व्रतकथाले हामीलाई सत्मार्गमा लाग्न प्रेरित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्