खलनायक नेतालाई भोट !



अब हामी जनताले बुझ्नुपर्ने दिन आइसकेको छ । आफ्नो तुच्छ व्यक्तिगत स्वार्थका लागि राजनीति गर्ने राजनीतिक पार्टीहरूले हामी जनतालाई जतिसुकै सार्वभौम गराउने रट लगाए पनि हामी सार्वभौम हौं भनेर हाम्रो शक्ति देखाउने त्यही चुनावको दिन मात्र हो ।

हिजो हामीलाई झुक्याउने सबै खलनायकहरूसँग बदला लिने स्वर्णिम अवसर पनि हो यो अहिलेको चुनाव । निश्चिन्त हुनुस्, जानी–नजानी फेरि पनि यिनै खलनायकहरूलाई देश चलाउने साँचो सुम्पिन पुग्यौं भने भोलि ‘यिनीहरूले फेरि धोका दिए’ भनी प्रश्न उठाउने हैसियतसमेत हामीले गुमाइसकेका हुनेछौं ।

विडम्बना नै भन्नुपर्छ, अहिले हामी यिनै पार्टीका नेताहरू गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, केपी ओली, शेरबहादुर देउवा, कमल थापा आदिलाई देश डुबाउने खलनायकका रूपमा हेरिरहन बाध्य छौं, किनभने हामी जनतामाथि यिनीहरूले धेरै ठूलो धोका दिएकै हुन् । प्रजातन्त्रको पुनःस्थापनापछिको लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा हामीलाई यी नेता र यिनीहरूले हाँकेका पार्टीबाट भइरहेका पटक–पटकको धोकालाई सम्झेर नै अहिले हामी कसलाई भोट दिने भन्दै अलमलिएका हौं ।

राजनीति भनेको राजनीतिक पार्टीले नै गर्ने हो भन्दै हिजो उनीहरूले गरेका सयौं गल्तीलाई पनि माफ दिएर हामी जनताले नेपालका राजनीतिक पार्टीहरूमाथि देखाएको सद्भावलाई पटक–पटक कमजोरीको रूपमा लिएका कारणले पनि यसपटक सबक नसिकाई भएको छैन । हामी सोझा जनतालाई राजनीतिक पार्टी र नेताहरूले गर्दै आएको व्यवहार हेर्दा उनीहरूको नजरमा हामी जनता महामूर्ख मात्र नभई बेबकुफ नै हौंला जस्तो लाग्छ ।

(पुष्करलाल श्रेष्ठले २०७४ कात्तिक १३ मा लेख्नुभएको आलेख, नेपाल समाचारपत्रबाट)

प्रतिक्रिया दिनुहोस्