उद्योगसँग घुस लिने कर्मचारी प्रशासनको नियन्त्रणमा



कृष्णउदास खनाल, वीरगन्ज

उद्योग अनुगमनको क्रममा घुस लिएको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका चार जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयमा कार्यरत सहायक निरीक्षक वीरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरू पदमबहादुर रोक्का, सत्यनारायण चौधरी र सवारी चालक उदयप्रताप सिंहलाई जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको हो ।

टेक्सटायल उद्योगमा अनुगमनको क्रममा उनीहरुले ११ हजार रुपियाँ घुस लिएकाले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । उद्योग अनुगमनको क्रममा ११ हजार घुस लिएको पुष्टि भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको तमाङले बताउनुभयो ।

नियन्त्रणमा लिइएकामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएकाले संक्रमणमुक्त भइसकेपछि चारै जनालाइ अख्तियारको जिम्मा लगाउने तामाङले जानकारी दिनुभयो । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका प्रमुख वरिष्ठ निरीक्षक शशिभूषण यादवका अनुसार कार्यालयले सातामा दुई÷तीन दिन नियमित अनुगमन गर्दै आइरहेको छ । साताभरी गरेको अनुगमनको रिपोर्ट हरेक शुक्रबार माथिल्लो निकायमा बुझाउनुपर्ने हुन्छ ।

गण्डक चोकका केही उद्योगमा नापतौल कार्यालयबाट अनुमति नलिई तौल गर्ने गरेको भनेर सूचना आएपछि अनुगमनका लागि निस्केका चार जनाले सूचना आएको उद्योगमा नगइ अर्को टेक्सटायल उद्योग अनुगमनमा गर्न गएका थिए ।

उनीहरुले टेक्सटायल उद्योगको अनुगमनपछि तौल गर्ने मेसिन खराब छ भनेर नियन्त्रण लिएको तर पछि बार्गेनिङ गरेर ११ हजार रुपियाँ घुस लिएर काँटा फिर्ता गरिदिएका थिए । घुस लिएको उजुरी प्रमुख जिल्ला अधिकारी तामाङ समक्ष आएपछि उनीहरुलाई जिल्ला प्रशासन बोलाइएको थियो । कर्मचारीहरुले ११ हजार घुस लिएको र गाडीमै बाँडफाँड गरेको स्वीकार गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्