फिनल्यान्डद्वारा विश्व विजेता फ्रान्स पराजित



लन्डन, (एजेन्सी)
वर्तमान फिफा विश्वकप विजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा फिनल्यान्डसँग पराजित भएको छ।
बुधबार राति भएको खेलमा फ्रान्स आफ्नै घरेलु मैदानमा पाहुना टोली फिनल्यान्डसँग २–० ले स्तब्ध बनेको हो। खेलको अन्त्यसम्ममा फ्रान्सले सबैजसो प्रमुख खेलाडी मैदानमा उतारे पनि हारलाई भने टार्न सकेन।
पाहुना टोेली फिनल्यान्डले दुवै गोल पहिलो हाफमा ४ मिनेटको अन्तरमा गरेको थियो। पहिलो गोल खेलको २८औं मिनेटमा मार्कुस फोर्सले गरेका थिए। त्यस्तै, ३१औं मिनेटमा गोल ओनी भालाकारीले दोस्रो गोलमा आफ्नो नाम लेखाए।
बुधबार राति नै भएको अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले पनि फराकिलो गोल अन्तरको जित निकालेको छ। पोर्चुगलले एन्डोरालाई आफ्नै घरेलु मैदानमा ७–० को फराकिलो अन्तरले हराएको हो। लिस्बन शहरस्थित इस्टाडियो डा लुुज रंगशालामा भएको खेलमा पोर्चुगललाई जिताउन ५ जना खेलाडीले गोल गरे भने एक आत्मघाती गोल उपहारमा पाएको थियो।
उक्त खेलको दोस्रो हाफमा मात्र मैदान छिरेका नियमित कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल करिअरको १०२औं गोल गर्न सफल भएका छन्। उनले खेलको ८५औं मिनेटमा हेडिङमार्फत उक्त गोल गरेका थिए।
जर्मनीको जित
जर्मनीले पनि चेक रिपब्लिकमाथि १–० को झिनो गोल अन्तरको  जित निकाल्न सफल भएको छ । घरेलु मैदानमा जियानलुका वाल्डिस्मटले पहिलो हाफमा गरेको गोल नै जर्मनीलाई जिताउन पर्याप्त बन्यो।
रेडबुल एरिना लिपजिगमा बुधबार राति भएको खेलमा वाल्डिस्मटले खेलको १३औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। उनले फिलिपे म्याक्सको पासमा गोल गरेका थिए। त्यसपछि, थप गोल हुन नसक्दा जर्मनी १–० ले विजयी हुन सफल भयो।
त्यस्तै, अन्य मैत्रीपूर्ण खेलमा डेनमार्कले स्वीडेनलाई २–० ले हराउँदा बुल्गेरियाले जिब्राल्टरलाई, लात्भियाले सान मारिनो र माल्टाले पनि लिचेस्टाइनलाई समान ३–० ले पराजित गरे। त्यसैगरी, अल्बानियाले कोसोभोलाई, ग्रीसले साइप्रसलाई समान २–१ ले हराउँदा रोमानियाले बेलारूसलाई ५–३ ले पराजित ग¥यो।  त्यस्तै, मोन्टेनेग्रो र कजाखस्तानले भने गोलरहित बराबरीमा खेल टुंग्याए।
रोनाल्डो कीर्तिमान नजिक
क्रिस्टियानो रोनाल्डो पोर्चुगलका लागि गोल गरेपछि कीर्तिमानी अन्तर्राष्ट्रिय गोलकर्ता इरानका अली दाइ नजिक पुगेका छन्। नेसनन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा पोर्चुगलले एन्डोरालाई ७–० ले माथ खुवाउँदा रोनाल्डोले एक गोल गरेका हुन्। सो गोलसँगै उनको राष्ट्रका लागि १ सय २ अन्तर्राष्ट्रिय गोल संख्या भएको छ। रोनाल्डो सदावहार गोलकर्ता दाइसँग ७ गोलले पछि छन्। इरानका पूर्वअन्तर्राष्ट्रिय खेलाडी दाइले कुल १ सय ९ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्