पोग्बा म्यानचेस्टरमा खुसी छैनन्



लन्डन, (एजेन्सी)
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बा क्लबमा खुसी हुन नसक्ने फ्रान्सका मेनेजर डिडियर डेसक्याम्प्सले बताएका छन्।
पोग्बाले जारी सिजनमा ओल्ड ट्राफोर्डको टिमका लागि ११ खेल खेलेका छन्। तर, शुरुआतदेखि उनले मात्रै ५ खेल खेल्न पाए। गत शनिबार भएको एभर्टनविरुद्धको खेलमा उनी बेन्चमा थिए। उनी ८२ मिनेटमा मात्रै मैदानमा आएका थिए। उक्त खेल म्यानचेस्टर युनाइटेडले ३–१ ले जितेको थियो।
पोग्बालाई फ्रान्सको टिममा समावेश गरिएको छ। उनले फिनल्यान्ड, पोर्चुगल र स्वीडेनविरुद्ध खेल्नेछन्। डेसक्याम्प्सले भने– ‘उनी उनको क्लबसँग खुसी बन्न सक्दैनन्, क्लबको अवस्थाले नै उनलाई दुःखी तुल्याएको छ। क्लबले उनलाई खेल्न दिएको छैन, न उनले पोजिसनमा नै खेल्न पाएका छन्। कोभिड–१९ र चोटले गर्दा उनी राम्रो लयमा पनि छैनन्, यसले उनलाई लय पाउन कठिन बनाएको छ। तर, उनी फ्रान्स टिमका लागि खेल्न खुसी छन्।’
२७ वर्षीय पोग्बाले युनाइटेडसँग सम्झौतामा नवीकरण गरेका छन्। उनी सन् २०१६ मा युभेन्ट्सबाट ८९ मिलियन पाउन्डमा युनाइटेड आएका थिए। उनले रियल मेड्रिडमा खेल्ने आफ्नो सपना भएको पनि बताएका छन्। तर, पछि उनले युनाइटेडसँग २०२२ सम्मका लागि सम्झौता अवधि बढाएका थिए।

प्रतिक्रिया दिनुहोस्