प्रधानमन्त्री र रअका प्रमुखबीच मध्यरातमा भेटवार्ता

कूटनीतिक मर्यादा विपरीत काम भयो : नेकपा नेताहरु



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच बुधबार राति गोप्य भेटवार्ता भएको छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्धमा चिसोपन आएको बेला रअका प्रमुखको मध्यरातमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता हुनुलाई अर्थपूर्णरुपमा लिइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार वक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको जानकारी गराउनुभएको छ । प्रेस वक्तव्यमा भनिएको छ– ‘रअ प्रमुख भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।’

भेटका क्रममा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएको हो । गोयलले प्रधानमन्त्रीसँग भेट गरे पनि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालले भने रअका प्रमुख गोयलसँग आफ्नो भेट नभएको प्रस्ट पार्नुभएको छ ।

त्यसै गरी प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि रअको प्रमुखसँग भेटवार्ता नभएको बताउनुभएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले रअका प्रमुखसँग कुनै पनि भेटवार्ता नभएको जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले रअका प्रमुखसँग भेट गरेको विषयलाई लिएर सत्तारूढ दल नेकपाकै नेताहरुले असन्तुष्टि जनाएका छन् ।पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गहिरो संकटमा फसेका बेला, पार्टी र सम्बन्धित मन्त्रालयलाई जानकारी नगराई विदेशी जासुसी संस्थाका प्रमुखलाई बोलाउने र उनीसँग गोप्य वार्ता गर्ने कुरा सामान्य नभएको बताउनुभएको छ । मुलुकमा सरकार छ कि छैन भन्ने अवस्था आएको बताउँदै प्रचण्डले प्रधानमन्त्रीसँग आफूले कुरा गर्ने बताएको उहाँनिकट स्रोतले जानकारी दिएको छ ।

पूर्वमन्त्री एवं नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कूटनीतिक मर्यादा विपरीत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाविपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ, कूटनीतिक मर्यादा विपरीत छ ।’

प्रतिक्रिया दिनुहोस्