‘खेलाडीको पीडा बुझेको छु’ : खड्का



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत बोर्ड सदस्यमा नियुक्त भएका हरि खड्कालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सम्मान गरेको छ। संघका उपाध्यक्षसमेत रहेका खड्कालाई संघका पदाधिकारीले खादा लगाएर बधाई तथा शुभकामना दिँदै सम्मान गरेका हुन्।

मंगलबार भएको उक्त कार्यक्रममा खड्काले खेलाडीको पीडालाई बुझेको र आफूलाई सबैबाट सहयोग गरेमा काम गर्न हौसला बढ्ने बताए। खड्कालाई गत असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो। सोमबार नियुक्त भएका सबै सदस्यले शपथ पनि लिएका छन्।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान खड्काले भने– ‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ। देशको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेको छु। त्यसैले, खेलाडीको पीडाबारे मलाई राम्रोसँग थाहा छ। खेलाडीको पीडालाई सही ठाउँमा राख्न म हरदम प्रयासरत रहनेछु। सबैको साथ र सहयोग पाए मात्र त्यो लक्ष्य प्राप्त गर्न सम्भव हुनेछ। हाल म शुभकामना लिनेछु तर बधाई चाहिं काम गर्न सकेपछि लिनेछु।’

खड्काले खेलाडीको भविष्य कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकता रहेको बताउँदै सदस्यमा नियुक्त गरी आफू संलग्न खेल क्षेत्रमा केही गर्ने अवसर दिएकोमा सरकारलाई धन्यवाद दिए। सोही कार्यक्रममा खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खड्काको नियुक्तिले सिंगो खेलाडी जगत्ले गर्वको अनुभूति गरेको भन्दै उनले भने– ‘लामो समयदेखि खेलकुद क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिलाई सदस्यमा मनोनित गरेकोमा नेपाल सरकारप्रति आभारी छु र धन्यवाद पनि छ। यसमा सबै खेलाडी खुसी भएका छन्, अब त हाम्रो पिर मर्कामाथि सम्बोधन हुने भयो भन्ने उनीहरूमा आशा जागिसकेको छ। अब गठन हुने राखेपको कार्यकारी समितिमा उनीलाई पनि अवसर दिएर खेलाडीप्रति न्याय गर्न सरकारसँग अनुरोध पनि छ। यदि, यसो भएमा खेलाडीको समस्या सुल्झाउन सहज पनि हुनेछ।

यस्तै, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टले खड्कालाई सदस्यमा नियुक्त गरेकोमा खेलाडी संघ मात्र नभई सारा नेपाली खेलाडीलाई खुसी तुल्याएको धारणा व्यक्त गरे। उनले भने– ‘संघ सधैं खेलाडीको हकहितका लागि परेको छ। हाल खेलाडी नै राखेपको बोर्ड सदस्यमा पुगेको अवस्था छ। यसमा खेलाडीको सुनिश्चित भविष्यका लागि अघि बढ्ने मौका आएको छ। उनी खेलाडीको पिरमर्का बुझेका व्यक्ति हुन्। त्यसैले, हामी उनलाई हरेक कार्यका लागि सहयोग पनि गर्नेछौं।’

खड्काको करियर

खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता मध्येका एक हुन्। खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका छन्। उति नै गोल निराजन रायमाझीको नाममा पनि छ। उनी नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पूर्वप्रशिक्षक पनि हुन्।

नेपालमै गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिएका थिए। उनी अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला विभाग प्रमुख पनि हुन्। उनले क्लबबाट खेल्ने क्रममा विभागीय टोली नेपाल पुलिस क्लबबाट लामो समयसम्म खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्