डर्बी भिडन्तमा एसी मिलानको जित



मिलान, (एजेन्सी)

इटालियन ‘सिरी ए’ लिगअन्तर्गत सिजनको पहिलो मिलान डर्बी भिडन्तमा एसी मिलानले जितको नतिजा निकालेको छ।
शनिबार राति भएको खेलमा एसी मिलानले इन्टर मिलानलाई उसैको घरेलु मैदानमा २–१ ले हराएको हो। उक्त खेलमा ३९ वर्षीय फरवार्ड ज्लाटन इब्राहिमोभिचले एसीका तर्फबाट दुई गोल योगदान गरेका थिए।
इब्राहिमोभिचले खेलको १३औं मिनेटमा पहिलो गोल गरेका हुन्। त्यसको ३ मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गरेपछि एसी १६ मिनेट भित्रै २–० ले अघि बढेको थियो।

तर, घरेलु टोली इन्टरका लागि खेलको २९औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेल २–१ मा छोट्याएका थिए। तर, सो गोलपछि खेलभरि नै दुवै टोलीबाट थप गोल भएन र खेल एसी मिलानले जित्यो।
जितपछि एसी मिलान ४ खेलबाट १२ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। पराजित इन्टर मिलान समान खेलबाट ७ अंकसहित छैठौं स्थानमा छ।

त्यस्तै, इटालियन ‘सिरी ए’ लिगअन्तर्गतकै अर्को खेलमा डिफेन्डिङ च्याम्पियन टिम युभेन्ट्स लिगको चौथो खेलमा बराबरीमा रोकिएको छ। युभेन्ट्स अवे मैदानमा क्रोटोनेसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
यसैगरी, सिजन ‘सिरी ए’ लिगमा बढुवा भएको क्रोटोनेको घरेलु मैदानमा युभेन्ट्स खेलको ६०औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। नयाँ खेलाडी फेडरिको किइजा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युभेन्ट्स दबाबमा परेको थियो। यता, दोस्रो हाफमा अल्भारो मोराटाको दोस्रो गोललाई भिएअराले रद्द गरिदिँदा युभेन्ट्स जितबाट वञ्चित बन्न पुग्यो।

घरेलु टोली क्रोटोनेले १२औं मिनेटमै पेनाल्टीमार्फत गोल गरेर खेलमा अग्रता लिएको थियो। उक्त गोल सिमोन नवानकोले गरेका थिए। तर, गोल खाएको ९ मिनेटमै युभेन्ट्स खेलमा फर्कियो। नयाँ खेलाडी किइजाको क्रस पासमा मोराटाले हलुका टचमै बललाई जाली चुमाएपछि खेल १–१ को स्थितिमा पुगेको थियो।

तर, त्यसपछि खेलमा थप गोल भएन। खेलको ६०औं मिनेटमा नयाँ खेलाडी किइजाले सोझै रातो कार्ड पाए। युभेन्ट्समा डेब्यू खेलमै उनले रातो कार्ड पाएका हुन्। विपक्षी खेलाडीमाथि खराब ट्याकल गरेपछि उनले सोझै रातो कार्ड पाएका थिए।

बराबरीको नतिजापछि युभेन्ट्स ४ खेलबाट ८ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। चारवटै खेल जितेको एसी मिलान १२ अंकसहित शीर्ष स्थानमा छ। यता, युभेन्ट्सलाई बराबरीमा रोकेको क्रोटोने मात्रै १ अंक बनाएर १८औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्