रियल मेड्रिड र बार्सिलोनाको हार



लन्डन, (जेन्सी)
स्पेनिस ला लिगा फुटबलमा दुई महारथी क्लबले एकैदिन हारको सामना गर्नुपरेको छ।
शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड हारेको रात बार्सिलोना पनि पराजित भएको हो। रियल आफ्नै घरेलु मैदानमा यसै सिजन ला लिगामा बढुवा भएको क्याडिजसँग १–० ले पराजित हुँदा बार्सिलोना पनि गेटाफेसँग समान गोलअन्तरले हारेको थियो।
रियल र बार्सिलोना ला लिगामा दुई वर्षपछि एकै दिन हारेका हुन्। हालको स्थितिमा बार्सिलोनाले रियलको भन्दा एक खेल कम खेलेको छ। स्टार खेलाडीले भरिएको जिनेदिन जिदानको टिम रियलले खेलको १६औं मिनेटमा गोल व्यहोरेको थियो। अल्भारो नेग्रेडोको पासमा लोजानोले गोल गरेको गोल नै रियललाई हराउन पर्याप्त बन्यो।
यता, लिगको चौथो खेलमा बार्सिलोना घरेलु टोली गेटाफेसँग स्तब्ध बन्न पुग्यो। आफ्नो घरेलु मैदानमा पाहुना टोली बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको गेटाफेले १ मात्रै पेनाल्टी गोलको मद्दतमा बार्सिलोनालाई सिजनको पहिलो हार चखाएको हो।
फिलिपे कोउटिन्हो र अन्सु फातीलाई बेन्चमा छाडेर अवे मैदानमा उत्रिँदा बार्सिलोनाको आक्रमणपंक्ति निकै फितलो देखिएको थियो। कप्तान लिओनल मेसीले शुरुआतबाटै खेले पनि उनले गेटाफेविरुद्ध खास प्रभाव जमाएनन्। मेसीले यो सिजन ला लिगामा शुरुआती ४ खेलमा पूरै समय खेल्दा मात्रै १ गोल गरेका छन्, त्यो पनि पेनाल्टीमार्फत। १ पेनाल्टी गोलबाहेक उनका नाममा यो सिजन अझैसम्म असिस्ट दर्ता भएको छैन।
बार्सिलोनाविरुद्ध पटक–पटक गोलका अवसर सिर्जना गरेको गेटाफेका दुई शक्तिशाली प्रहार बारमा लागेर फर्किंदा बार्सिलोना थप गोल व्यहोर्नबाट बचेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले पेनाल्टी गोल व्यहो¥यो।
बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डे जोङले बक्समा विपक्षी खेलाडीमाथि फउल गरेपछि रेफ्रीले गेटाफेलाई पेनाल्टीको मौका दिएका थिए, जसमा जिमी माटाले सहजै गोल गरेपछि बार्सिलोना १–० ले पछि परेको थियो। त्यसपछि खेलमा गोल भएन र  गेटाफेले १–० ले खेल जित्यो।
जितसँगै गेटाफे ५ खेलबाट १० अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शुरुआती ५ खेलबाट रियल मेड्रिड, गेटाफे, क्याडिज, ग्रनाडाले १०÷१० अंक जोडेका छन्। तर, गोल अन्तरमा रियल सबैभन्दा माथि छ।
त्यस्तै, स्पेनिस ला लिगा फुटबलमा एथ्लेटीको मेड्रिडले सहज जित निकालेको छ। शनिबार राति नै भएको लिगको चौथो खेलमा एथ्लेटीकोले सेल्टा भिगोलाई उसैको घरेलु मैदानमा २–० ले निराश बनायो। एथ्लेटीकोलाई अवे मैदानमा जिताउन यसै सिजन क्लब भित्रिएका लुइस सुवारेज र कारास्कोले गोल गरे।
प्रतिस्पर्धात्मक खेलमा एथ्लेटीकोले खेल शुरू भएको छैठौं मिनेटमै अग्रता लिएको थियो। घरेलु टोलीविरुद्धको दोस्रो मुभमै एथ्लेटीकोले गोल गर्न सफल भएको थियो। सान्चेजको पासमा सुवारेजले बक्सभित्रबाट घरेलु टोलीका डिफेन्डरलाई जिल्याउँदै प्रहार गरेको लो सटले जाली चुमेपछि एथ्लेटीकोले खेलमा अग्रता बनाएको थियो।
त्यसपछि, एथ्लेटीकोलाई दोस्रो गोल गर्न खेलको ९० मिनेटपछिको इन्जुरी समयसम्म कुर्नुपरेको थियो। थपिएको समयको पाँचौं मिनेटमा जुआओ फेलिक्सको कडा सट बारमा लागेर रिबाउन्ड भएको भएको बलमा कारास्कोले हेडिङमार्फत सहजै गोल गरेपछि खेल एथ्लेटीकोले २–० ले जित्यो। यस खेलमा १ गोल गरेसँगै उरुग्वेन फरवार्ड सुवारेजले नयाँ क्लबका लागि ४ खेलबाट ३ गोल १ असिस्ट गरिसकेका छन्।
जितपछि एथ्लेटीकोले ४ खेलबाट ८ अंक जोडेको छ। एथ्लेटीको अंक तालिकाको चौथो स्थानमा उक्लेको छ। पराजित सेल्टा ६ खेलपछि ५ अंक बनाएर १३औं स्थानमा छ।
त्यसैगरी, सेभियाले पनि सिजनको पहिलो हार व्यहोरेको छ। लिगको चौथो खेलमा ग्रानाडाले आफ्नो घरेलु मैदानमा पाहुना टोली सेभियालाई १–० ले स्तब्ध बनाएको हो। दोस्रो हाफमा १० खेलाडीमा सीमित भएर खेलेको सेभियालाई घरेलु टोली ग्रानाडाले खेलको अन्तिम समयमा गोल गर्दै हरायो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, सेभियाका खेलाडी जोन जोर्डन पहिलो हाफको थप समयमा दोहोरो पहेंलोका साथ रातो कार्ड पाएपछि पाहुना टोली सेभियालाई ठूलो झट्का लागेको थियो।
दोस्रो हाफमा घरेलु टोलीले १० खेलाडीमा सीमित भएको सेभियाविरुद्ध फाइदा उठायो। खेलको ८२औं मिनेटमा ग्रानाडाका लागि एंगेल हरेराले गोल गरेपछि सेभिया १–० ले पछि परेको थियो। त्यसपछि पाहुना टोली खेलमा फर्किन सकेन र खेल ग्रानाडाले जित्यो।
उक्त हारसँगै सेभियाले लिगमा जारी सिजनमा पहिलो हार भोगेको छ। यसअघि सेभियाले ३ खेलमा हार व्यहोरेको थिएन। सेभियालाई हराएसँगै ग्रानाडा ५ खेलपछि १० अंक बनाएर अंक तालिकाको दोस्रो स्थानमा छ। पराजित सेभिया ७ अंकसहित सातौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्