पन्जाबमाथि कोलकाताको रोमाञ्चक जित



दुबई, (एजेन्सी)
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबारको खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ।
योसँगै पन्जाबले सात खेलमा छैठौं हार व्यहोरेको छ। कोलकाताको यो ६ खेलमा चौथो जित हो। त्यसो त कोलकाताबाट १ सय ६५ रनको लक्ष्य पाएको पन्जाबका लागि ओपनर ब्याट्सम्यान दुवै जनाले सानदार शुरुआत दिलाएका थिए। मायन्क अग्रवाल र केएल राहुलले पहिलो विकेटका लागि १४ दशमलव २ ओभरमा १ सय १५ रनको साझेदारी गरे। तर, त्यो साझेदारी जित हासिल गर्न नसक्दा खेर गएको छ। मायन्कले ३९ बलमा ५६ रन जोडेका थिए। उनलाई प्रसिद्ध कृष्णले आउट गरे।

त्यसपछि क्रिजमा आएका निकोलास पुरणले पनि राहुललाई राम्रो साथ दिए। उनीहरूले दोस्रो विकेटका लागि २९ रनको साझेदारी गरेका थिए। पुरण १६ रन बनाएर सुनील नारानको बलमा आउट हुँदा पन्जाब जितबाट २१ रनले मात्रै टाढा थियो। अर्का ब्याट्सम्यान प्रभसिमरन सिंह ४ रनमा आउट भएपछि जमेका राहुल पनि छिटै आउट भए। उनले ५८ बलमा ७४ रन जोडेका थिए।

अन्तिम ओभरमा १४ रनको आवश्यक भएकोमा पन्जाबले केवल ११ रन मात्रै जोड्न सक्यो। सो ओभरमा सुनील नारानले ग्लेन मेक्सवेललाई अर्को इन्डमा रोकेर कोलकाताको जित सुनिश्चित गरेका हुन्। उनले मन्दीप सिंहको विकेट पनि लिए। यसका साथै पन्जाबले स्कोर बराबरी गर्न अन्तिम बलमा छक्का प्रहार गर्नु आवश्यक भएको थियो। तर, क्रिस जोर्डनले अन्तिम बलमा चौका प्रहार गरेका थिए। कोलकाताको तर्फबाट प्रसिद्धले ३ विकेट लिए भने सुनीलले २ विकेट लिएका थिए।

यसअघि कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। टिमका लागि ओपनर शुभमन गिल र कप्तान दिनेश कार्तिकले सर्वाधिक रन योगदान दिए। गिल ५७ रनमा आउट भए भने कार्तिकले ५८ रन बनाएका थिए। उनीहरूले चौथो विकेटका लागि ८२ रनको साझेदारी गरी टिमलाई सम्मानजनक स्कोरमा पु¥याए। गिल रनआउट भएपछि अन्तिम २ ओभरमा टिमले थप २ विकेट क्षति व्यहोरेर १९ रन मात्रै बनाउन सकेको थियो। कार्तिक पनि रनआउटको शिकार भएका थिए।
त्यस्तै, टिमका लागि आयन मोर्गानले २४ रन बनाए। १४ रनमा दुई विकेट गुमेको अवस्थामा मोर्गान र गिलले तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए। आन्द्रे रसेल ५ रन, पेट कमिन्स ५ रन, ओपनर राहुल त्रिपाठी ४ रन र नितेश राणा २ रन जोडेर पभेलियन फर्केका थिए। यस्तै, मोर्गानले आईपीएलमा १ हजार रन पूरा गरेका छन्। उनले ५८ खेलमा ५१ इनिङसँगै १ हजार २१ रन जोडेका छन्।
पन्जाब किंग्सतर्फ बलर रवि विष्णोई, मोहम्मद सामी र आर्शदीप सिंंहले १÷१ विकेट लिए। कोलकाताका ३ ब्याट्सम्यान रनआउट भएका थिए। शामीले राहुल त्रिपाठीको विकेट लिएपछि आईपीएल करियरमा विकेट संख्या ५० मा पु¥याएका छन्। उनले यो उपलब्धि ५८ खेलमा ५६ इनिङमा पाएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्