रंगशालालाई तीन करोड हस्तान्तरण



हेटौंडा, (नेस)
चितवनमा निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का लागि बागमती प्रदेश सरकारले तीन करोड हस्तान्तरण गरेको छ।
सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित आर्थिक सहायता अनुदान तीन करोड ‘धुर्मुस सुन्तली फाउन्डेसन’लाई हस्तान्तरण गरिएको हो। मुख्यमन्त्री डोरमणि पौडेल तथा सामाजिक विकास मन्त्री युवराज दुलालले चेक हस्तान्तरण गरेका हुन्।
फाउन्डेसन अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई चेक हस्तान्तरण गरिएको थियो। उनले रंगशाला निर्माण तीव्र गतिमा भएको भन्दै खुसी व्यक्त गरे। रंगशाला निर्माण परियोजना छिटो सक्ने शुभकामनासहित उनले सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने जानकारी गराएका छन्।
रंगशाला निर्माणमा चुनौती धेरै रहेकाले जसरी पनि सफल बनाउनुपर्ने बताउँदै यो गौरवको आयोजना भएको बताए। उनले भने– ‘आगामी वर्ष पनि सरकार छ भन्ने सम्झनु।’
सामाजिक विकास मन्त्री दुलाल फेरि पनि सरकारका तर्फबाट सहयोग हुने बताए। परिकल्पनाअनुसार सफलता लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छाएर अघि बढ्न उनले सुझाव दिएका छन्।
फाउन्डेसन अध्यक्ष कट्टेलले सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर शुरू गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिए। रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरिरहेको जानकारी पनि उनले दिए। सहयोगी मनले सहयोग गरिरहेको भए पनि लकडाउनले परिस्थिति जटिल बनाएको स्मरण गर्दै उनले भने– ‘अवस्था समस्याजनक छ तर पनि काम गर्दै छौं। बजारमा ७ करोड तिर्न बाँकी छ। तर, पनि हामीले हिम्मत हारेका छैनौं।’
प्रदेश सरकारको ससर्त अनुदानका रूपमा आर्थिक वर्ष २०७७÷०७८ का लागि उक्त अनुदान रकम उपलब्ध गराउने निर्णय गरिएको थियो। कोभिड–१९ को संक्रमणको अवस्थामा पनि निरन्तर निर्माण जारी रहेको भन्दै काम सुचारु गर्न सहजताका लागि सहयोग गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए।
जिल्लास्तरका स्थानीय तह, जिल्ला समन्वय समिति, प्रदेश सरकारले दिने भनेको रकम रंगशाला निर्माणका लागि नआएको गुनासो सुनिएका बेला प्रदेश सरकारले यस्तो निर्णय गरेको हो। सरकारी बोलकबोल गरिएको रकम अझै प्राप्त भएको छैन।
कोरोना कहरका बीच पनि रंगशालाको काम अटुटरूपमा चलिरहेको छ। कोरोना भाइरस संक्रमणको जोखिम भएपछि चैत ९ गतेबाट रोकिएको काम वैशाख २० गतेबाट पुनः सुचारु भएको थियो। त्यसयता काम रोकिएको छैन।
खेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ। साँघुरो पूर्वाधारबीच पनि नेपालले चमत्कारी खेल प्रदर्शन गर्दै बलियो राष्ट्रका रूपमा चिनिएको अवस्थामा प्रदेशमा अन्तर्राष्ट्रियस्तरको एक रंगशाला निर्माणमा सघाउन सहयोगको निर्णय भएको हो।
भूकम्पपछि थलिएका विभिन्न बस्ती पुनर्निर्माणमा चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशला एक नेपाली निर्माणाधीन रंगशाला हो। उक्त रंगशाला ‘धुर्मुस–सुन्तली’ फाउन्डेसनले भरतपुर महानगरपालिकामा निर्माण जारी राखेको छ। फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको थियो।
शहीद दिवसका दिन रंगशाला निर्माणका लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौता भएको थियो। सम्झौतामा फाउन्डेसन अध्यक्ष कट्टेल (धुर्मुस) र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले हस्ताक्षर गरेकी थिइन्।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको उक्त जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो। क्रिकेट रंगशाला बनाइने भएपछि त्रिभुवन विश्वविद्यालयले भरतपुर महानगरपालिकाको माध्यमबाट फाउन्डेसनलाई जग्गा उपलब्ध गराएको थियो।
रंगशाला २० बिघा ८ कठ्ठा क्षेत्रफलमा बन्नेछ। रंगशाला कमलको फूल आकारको हुनेछ। यसमा २५ हजार दर्शक अट्नेछन्। बहुउपयोगी हुने रंगशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, डन्डिबियो, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्।

प्रतिक्रिया दिनुहोस्