फ्रान्स र इटालीद्वारा गोलको वर्षा



लन्डन, (एजेन्सी)
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्स र इटालीले आ–आफ्ना प्रतिद्वन्द्वीमाथि गोलको वर्षा गर्दै सहज जित आत्मसात् गरेका छन्।
सन् २०१८ को विश्वकप विजेता फ्रान्सले बुधबार राति भएको मैत्रीपूर्ण खेलमा युक्रेनमाथि ७–१ को फराकिलो गोलअन्तरको जित निकाल्दा इटालीले पनि माल्दोभालाई ६–० गोलको भारी बोकाएको हो।
यूईएफए नेसन्स लिगमा पोर्चुगलविरुद्धको खेलको तयारीका लागि खेलिएको म्याचमा फ्रान्सले फराकिलो गोलअन्तरको जित निकाल्दा ओलिभर जिरुडले दुई गोल गरे भने एन्टोनी ग्रिजम्यान र क्लियन एमबाप्पेले पनि गोलमा आफ्नो नाम लेखाउन सफल भए।
फ्रान्सका लागि खेलको नवौं मिनेटमै इडुआर्डो कामाभिंगाले पहिलो गोल गरेका थिए। त्यस्तै, २४औं मिनेटमा जिरुडले दोस्रो गोल गरे भने ३३औं मिनेटमै जिरुडले नै व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको गोल संख्या तीन पु¥याए। त्यसपछि खेलको ३९औं मिनेटमा युक्रेनले आत्मघाती गोल गरेपछि फ्रान्सले पहिलो हाफसम्म चार गोलले अग्रता लिएको थियो।
यता खेलको ५३औं मिनेटमा युक्रेनका भिक्टोर टाइसहानकोभले गोल गर्दै गोलअन्तरलाई ४–१ मा छोट्याएका थिए। तर, त्यसपछि फ्रान्सले लगालग तीन गोल थप्दै एकपक्षीय जित निकाल्यो। खेलको ६५औं मिनेटमा कोरेन्टिन तोलिसोले गोल गर्दा ८२औं मिनेटमा क्लियन एमबाप्पेले फ्रान्सको छैठौं गोल सम्भव पारे। त्यसपछि खेलको ८९औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेपछि फ्रान्सले ७–१ अन्तरको जित पक्का ग¥यो।
त्यसैगरी, आफ्नै घरेलु मैदानमा इटालीलाई फराकिलो जित दिलाउने क्रममा तीन खेलाडीले समान एक–एक गोल गर्दा स्टेफन इएल सारावेले दुई गोलमा आफ्नो नाम लेखाए। त्यस्तै, थप एक गोल भने माल्दोभाले आत्मघाती गरेका थिए। इटालीका लागि खेलको १८औं मिनेटमा ब्रायन क्रिस्टिआन्टेले गोल गर्दा २३औं मिनेटमा फ्रान्सेस्को कापुटोले दोस्रो गोल गरे।
त्यसपछि, ३०औं मिनेटमा स्टेफानो इएल सारावेले गोल गर्दा ३७औं मिनेटमा माल्डोभाले आत्मघाती गोल गरे। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा सारावेले नै व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफसम्म इटाली ५–० ले अघि रहेको थियो। त्यस्तै, खेलको ७२औं मिनेटमा डोमेनिको बेराडीले गोल गरेपछि इटालीले आधा दर्जन गोलअन्तरले खेलको नतिजा आफ्नो पक्षमा पा¥यो।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत नै भएको अर्को खेलमा युरोपेली फुटबलको बलियो राष्ट्र नेदरल्यान्डसले भने आफ्नै घरेलु मैदानमा हारको स्वाद चाख्यो। पाहुना टोली मेक्सिकोले बलियो डच टिमलाई उसैको भूमिमा १–० गोलले स्तब्ध पारेको हो। प्रतिस्पर्धात्मक उक्त खेलमा मेक्सिकोले पेनाल्टीमार्फत गरेको एउटै गोलको मद्दतमा जित आत्मसात् गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोले ६०औं मिनेटमा पेनाल्टी पाएको थियो। जसमा स्टार फरवार्ड राउल जिमेन्जले विनाकुनै गल्ती बललाई जाली चुमाएपछि मेक्सिको १–० ले अघि बढेको थियो। तर, त्यसपछिको बाँकी समयमा भने घरेलु टोली खेलमा फर्कन नसकेपछि खेल मेक्सिकोले जित्यो।
त्यस्तै, पोर्चुगल र स्पेनबीचको भएको अर्को खेल भने गोलरहित बराबरीमा टुंगियो। पोर्चुगलको राजधानी लिस्बनस्थित जोसे अल्भालाडे रंगशालामा भएको उक्त खेल गोलरहित बराबरीमा टुंगिएको हो। पोर्चुगलले खेलको पहिलो हाफमा दोस्रो रोजाइका खेलाडीसहितको मिश्रित टोली उतार्दा फितलो प्रदर्शन गरेको थियो। तर, दोस्रो हाफमा भने घरेलु टोलीले खेलाडी परिवर्तन गरेर प्रदर्शनमा सुधार गरे पनि गोलको खाता भने खोल्न सकेन। पाहुना टोली स्पेनले पनि खेलमा पटक–पटक गोलको अवसर बनाएको थियो। तर, पोर्चुगलका गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दा स्पेनले पनि गोलको खाता खोल्नबाट चुक्यो।

प्रतिक्रिया दिनुहोस्