रंगशाला निर्माणको तयारीमा खेलप्रेमी



हेटौंडा, (नेस)

मनहरी गाउँपालिका–७ रमौलीस्थित बस्ती स्थापना गरेर बाँकी रहेको खुला जमिनमा रंगशाला निर्माण गर्ने गाउँपालिकाको तयारीमा खेलप्रेमी, स्थानीय र सरोकारवालाले ऐक्यबद्धता जनाएका छन् ।

मदन भण्डारी रंगशाला नामाकरण गरी मास्टर प्लानसमेत बनाएको गाउँपालिकाको महत्वाकांक्षी योजना सफल पार्न पालिकास्तरीय खेलकुद विकास समितिले अग्रसरता लिएको छ । पालिकास्तरीय खेलकुद विकास समितिको सहजीकरण र पहलकदमी तथा पालिकाको माग सिफारिसमा चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि ४० लाख बजेट विनियोजन गरी कार्य आरम्भ गर्न लागिएको समिति अध्यक्ष नवीन सुवेदीले जानकारी दिए ।

४० लाखले रंगशाला क्षेत्रको कम्पाउन्ड निर्माण हुने बताइएको छ । बलियो कम्पाउन्ड तयार गरी रंगशाला क्षेत्रको जग्गालाई सुरक्षित राख्ने गरी काम थालिने समिति अध्यक्ष सुवेदीले बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामासहित टोलीले रंगशाला क्षेत्रको अवलोकन गरेको थियो ।

बागमती प्रदेश सांसद ओमबहादुर ग्लान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, वडाध्यक्षहरू साधुराम अधिकारी, दिलबहादुर स्याङ्तान, मदन भण्डारी स्पोर्टस् एकेडेमी अध्यक्ष पुकार सुवेदी तथा खेलाडीको उपस्थितिमा रंगशाला निर्माणको कामलाई जोडदाररूपमा अघि बढाउने र राजनीतिक पूर्वाग्रह राखेर काम नगरिने प्रतिबद्धतासहित छलफल भएको छ ।

‘रंगशाला निर्माणका लागि वैकल्पिक स्रोतको पनि खोजी गर्नुपर्नेछ’, सांसद ग्लानले भने– ‘कुनै पनि हालतमा रंगशालाको काम सम्पन्न गर्ने गरी खेलकुद विकास समिति र जनप्रतिनिधि लाग्नुपर्छ ।’ उनले आफ्ना तर्फबाट प्रदेश सरकारको ध्यानाकर्षण गराइने बताए ।

पालिका अध्यक्ष उप्रेतीले रंगशाला निर्माणका क्रममा हुने भौतिक निर्माणसहित अन्य सामाजिक सहजीकरणका कामहरूमा समेत स्थानीय र खेलप्रेमीले बढी ध्यान दिनुपर्नेमा जोड दिए । उनले हाल खेलकुदका अन्य गतिविधि नभएको बेलामा खेलमैदान निर्माणलाई प्रभावकारी बनाउनुपर्ने सुझाए ।

कार्यक्रममा स्थानीय क्लबका पदाधिकारीहरू, नेकपा मनहरी सचिव हेमलाल उप्रेती, पशुपति सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष रघुनाथ रुम्बा, साना किसान कृषि सहकारी संस्था मनहरी अध्यक्ष विमला कार्कीसहित खेलाडी र खेलप्रेमीको उपस्थिति थियो ।

भेलाले भीमसेन खड्काको अध्यक्षतामा रंगशाला निर्माण उपभोक्ता समिति गठन गरेको छ । समितिले निर्माणको काममात्र भन्दा पनि संरक्षण र संवद्र्धनका काममा ध्यान दिने खेलकुद विकास समिति अध्यक्ष सुवेदीले बताए ।

‘अब रंगशालाको कामले रफ्तार लिने गरी संयन्त्र निर्माण गरेका छौं’, अध्यक्ष सुवेदीले भने– ‘स्थानीय, प्रदेश र केन्द्र सरकारसम्म पहलकदमी लिएर रंगशालाको काममा हामी जुट्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्