कोरोनासँगै बढ्यो महिला हिंसा



नेपाल समाचारपत्र, काठमाडौं

कोरोना महामारी बढेसँगै नेपालमा महिला हिंसाका घटनामा पनि वृद्धि भएको छ । महिला पुनस्र्थापना केन्द्रका अनुसार महिला तथा बालिकामाथि हुने हिंसाका स्वरूप पनि फेरिएका छन् । गत भदौ महिनामा मात्र केन्द्रले १ सय ६५ वटा लैंगिक विभेदमा आधारित हिंसा भएको खुलासा गरेको छ ।

केन्द्रले अभिलेखीकरण गरेको तथ्यांकलाई विश्लेषण गर्दा भदौ महिनामा ८९ वटा (५४ प्रतिशत) घरेलु हिंसाको तथ्यांक संकलन भएको छ । यसैगरी ४२ वटा (२५ प्रतिशत) बलात्कारको तथ्यांक संकलन भएको छ जसमध्ये ३२ वटा बलात्कार र १० वटा सामूहिक बलात्कारको घटना भएको पाइएको छ ।

त्यसैगरी १६ वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ६ वटा (४ प्रतिशत) हत्याको घटना, ४ वटा (२ प्रतिशत) यौन दुव्र्यवहारको घटना भएका छन् । यसैगरी ४ वटा (२ प्रतिशत) मानव बेचबिखनजस्तो जघन्य अपराधको घटना भएको छ भने २ वटा (१ प्रतिशत) हत्या प्रयास, १ वटा (१ प्रतिशत) आत्महत्याको घटना र १ जना किशोरीमाथि विद्युतीय माध्यम (फेसबुक)बाट नक्कली खाता खडा गरी मानसिक हिंसा भएकोे तथ्यांक संकलन भएको छ ।

त्यसैगरी, उमेरको आधारमा विश्लेषण गर्दा भदौ महिनामा सबैभन्दा धेरै ५८ जना (३५ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिला हिंसाको जोखिममा रहेको पाइएको छ । त्यस्तै, ४४ जना (२७ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका महिला रहेका छन्, ३२ जना (१९ प्रतिशत) १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी, २५ जना (१५ प्रतिशित) ३६ देखि ४५ वर्ष उमेर समूहका महिला, ४ जना (२ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समूहका महिला र २ जना (१ प्रतिशत) ५६ वर्षभन्दा माथि उमेर समूहका प्रभावित रहेका छन् ।

प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा, सबैभन्दा बढी ७१ वटा (४३ प्रतिशत) हिंसा श्रीमान्बाट भएको छ भने ३८ वटा (२३ प्रतिशत) परिवारका सदस्यबाट भएको छ, २१ वटा (१३ प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको छ । त्यसैगरी, १६ वटा (१० प्रतिशत) अन्य विभिन्न किसिमका व्यक्तिबाट, ८ वटा (५ प्रतिशत) प्रेमीबाट, ५ वटा (३ प्रतिशत) सेवा प्रदायकबाट, ३ वटा (२ प्रतिशत) साथीबाट, २ वटा (१ प्रतिशत) शिक्षकबाट र १ वटा (१ प्रतिशत) अविवाहित तर सँगै बसेको व्यक्तिबाट हिंसा भएको पाइएको छ ।

यस्तै, हिंसामा संलग्न पीडकहरूको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै ३६ देखि ४५ वर्ष उमेर समूहका ४५ जना (२६ प्रतिशत) युवा रहेका छन् भने ४३ जना (२५ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका, २८ जना (१६ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका युवाहरू रहेका छन् र २० जना (१२ प्रतिशत) उमेर समूह नखुलेका पुरुष, १९ जना (११ प्रतिशत) ४६ दखि ५५ वर्ष उमेरका पुरुषहरू साथै ८ जना (५ प्रतिशत) ५६ वर्षभन्दा माथिका पुरुषहरू र ७ वटा (४ प्रतिशत) १६ वर्षभन्दा कम उमेरका युवा छन् ।

केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेका अनुसार महिला तथा किशोरीमाथि निरन्तर भइरहेको लैंगिक विभेदमा आधारित हिंसाका यी तथ्यांकहरूले सुरक्षित र हिंसारहित वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको नैसर्गिक अधिकार सुनिश्चितता नभएको देखाउँछ ।

महिलामाथि हुने हिंसाको अन्त्यका लागि विभेद र हिंसालाई मलजल गर्ने सँेच, दृष्टिकोण र व्यवहारमा व्यक्तिगतदेखि समुदाय तहसम्म परिवर्तन गर्ने, सचेतना अभिवृद्धि गर्ने, आवश्यक सेवा तथा न्यायको पहुँचमा अभिवृद्धि गर्दै कानुनी र नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनतर्फ सबैको ध्यान जानुपर्ने केन्द्रको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्