फ्रेन्च ओपनमा दर्शक हुने


लन्डन, (एजेन्सी)
फ्रान्समा कोरोना भाइरसको महामारी बढेपनि सेप्टेम्बरको अन्तिम साताबाट दर्शकसहित फ्रेन्च ओपन टेनिस प्रतियोगिता हुने भएको छ ।

कोरोना भाइरसका कारण निर्धारित मितिभन्दा झन्डै ६ महिना ढिलो हुन लागेको फ्रेन्च ओपन हेर्नका लागि दर्शकहरु पनि स्टेडियम जान पाउने भएका छन् । प्रत्येक वर्षको मे महिनामा हुनुपर्ने प्रतियोगिता कोरोना भाइरस महामारीका कारण सर्दै आएको थियो ।

अब प्रतियोगिता सेप्टेम्बर २७ तारिखदेखि शुरु हुँदैछ । जसमा दर्शकलाई पनि प्रवेश अनुमति दिने भएको छ । फ्रेन्च टेनिस फेडरेसनका अध्यक्ष वर्नाड जियूडिसेल्लीले दर्शकहरुलाई प्रवेश दिईने प्रष्ट पारेका हुन् ।

प्रतियोगिताको आयोजकले स्वास्थ्य प्रोटोकल जारी गर्दै दर्शकहरुलाई स्टेडियममा जान पाउने बताएका छन् । क्ले कोर्टको एकमात्र ग्राण्डस्लाम खेल्ने हरेक खेलाडीको प्रत्येक पाँच दिनमा कोरोना टेस्ट हुने पनि जनाइएको छ ।

सरकारी नयाँ गाइडलाइनका अनुसार पेरिसमा हुने कुनै पनि खेलकुद इभेन्टमा कम्तिमा ५ हजार दर्शक हुने भएकाले त्यसै अनुसार तयारी पनि गरिनेछ । फेडरेसनले स्टेडियमको क्षमताको ५०–६० प्रतिशत मात्रै दर्शक प्रवेश गर्न दिँदा पनि २० हजार दर्शक पुग्ने अनुमान गरिएको छ । स्टेडियममा प्रवेश गर्ने दर्शकलाई मास्क अनिवार्य गरिएको छ ।

त्यसैगरी आयोजकले सबै खेलाडीको हरेक पाँच दिनमा कोरोना टेस्ट गर्ने प्रोटोकल पनि बनाएको छ । साथै उनीहरुलाई बाहिर घुलमिल हुन प्रतिबन्ध लगाइएको छ भने खेलाडी राख्नका लागि दुई वटा होटेलमात्र प्रयोग गरिनेछ ।

त्यस्तै, पहिलो राउण्डमा पराजित हुने खेलाडीलाई गतबर्षको भन्दा ३० प्रतिशत बढी रकम पनि प्रदान गरिने भएको छ ।आयोजकका अनुसार कोरोना महामारीका कारण आर्थिक संकट झेलिरहेका खेलाडीहरुलाई राहत पनि पुग्ने उद्देश्यले पुरस्कार रकममा बढोत्तरी गरिन लागेको बताइएको छ ।

पहिलो राउण्डबाट आउट हुने खेलाडीले पनि गत वर्षको भन्दा ३० प्रतिशत बढी अर्थात्७१ हजार अमेरिकी डलर पाउने छन् । त्यसैगरी छनोट गर्ने खेलाडीले गतबर्षको भन्दा २७ प्रतिशत बढी पुरस्कार पाउने छन् । पहिलो चरणको छनोटमै पराजित हुने खेलाडीले ११ हजार ८ सय डलर पाउने भएका छन् ।