गार्सियाद्वारा शीर्ष खेलाडी पिलिस्कोभा पराजित



न्युयोर्क, (एजेन्सी)
फ्रान्सकी कारोलिन गार्सियाले शीर्ष वरीयताकी कारोलिना पिलिस्कोभालाई हराएर जारी यूएस ओपन टेनिस प्रतियोगितामा सनसनी मच्चाएकी छन्।

बिहीबार बिहान भएको खेलमा गार्सियाले दोस्रो चरणको खेलमा पिलिस्कोभालाई ६–१, ७–६ को सोझो सेटमा हराएकी हुन्। चेक खेलाडी पिलिस्कोभा २०१६ को यूएस ओपनमा फाइनलसम्म पुगेकी थिइन्। विश्व नम्बर एक अस्टे«लियाकी एस्लिग बार्टी र विश्व नम्बर २ रोमानियाकी सिमोना हालेपले भाग नलिएपछि उनलाई पहिलो वरीयता प्राप्त भएको हो।

प्रतियोगिताबाट ११औंदेखि १३औं वरीयताका प्राप्त क्रमशः एलेना रिबाकिना, मार्केटा भोन्ड्युसोभा र एलिसन रिस्के पनि दोस्रो चरणबाट बाहिरिन पुगेका छन्। तर, चौथो वरीयताकी नाओमी ओसाका, छैठौं वरीयताकी पेट्रा किटोभा, आठौं वरीयताकी पेट्रा मार्टिच र १४औं वरीयताकी एनेट कोन्टाभिटले भने जित हात पार्दै तेस्रो चरणमा प्रवेश गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण बन्द कोर्टमा भएको प्रतियोगितामा महिलातर्फ शीर्ष १० मध्ये ६ खेलाडीले भाग लिएनन्। पिलिस्कोभा बाहिरिनुले अमेरिकी भेट्रान सेरेना विलियम्सलाई २४औं ग्रान्डस्लाम जित्ने मौका बन्न सक्नेछ। पिलिस्कोभाले पहिलो सेटमा एक मात्रै विनर सट हानेकी थिइन्। उनले निराश भएर ¥याकेटसमेत भाँचेकी थिइन्। जबकि, उनलाई दोस्रो सेटमा दुई सेट प्वाइन्ट पनि मिलेको थियो। तर, गुमाएपछि गार्सियाले दोस्रो टाइब्रेकमा खिचेकी थिइन्।

अर्को खेलमा २०१८ मा सेरेनालाई हराएर उपाधि जितेकी ओसाकाले बायाँ तिघ्रामा ब्यान्डेज लगाएर खेलेकी थिइन्। उनले इटालीकी कामिला गियोर्गीलाई मात्र ६९ मिनेटमा ६–१, ६–२ ले पन्छाएकी थिइन्। उनको तेस्रो चरणको खेल युक्रेनकी मार्टा कोस्टयुकसँग हुनेछ। २२ वर्षीया जापानी खेलाडीले सातवटा फेस मास्क ल्याएकी छन्। उनले रंगभेदका कारण ज्यान गुमाएका अफ्रिकी–अमेरिकीको नामको मास्क लगाएर खेल्ने अभियान चलाएकी छन्।

सोमबार उनले बे्रओना टेलरको नाम रहेको मास्क लगाएकी थिइन्। टेलरलाई मार्चमा प्रहरीले गोली हानेर मारेको थियो। उनले बुधबार एलिजाह म्याकक्लेनको नामको मास्क लगाएकी थिइन्। म्याकक्लेनलाई गत वर्ष चोक होल्डमा राखेर केटामिन इन्जेक्सन दिएर मारिएको थियो।

ओसाकाले भनिन्– ‘टेनिसलाई विश्वले हेर्छ। तर, यी नामहरू धेरैले चिनेका छैनन्। म केवल मान्छेहरूलाई यसबारे थाहा दिन चाहन्छु। योबारे बताउन धरातलजस्तो पनि लागेको छ। मलाई लाग्छ मैले सही गरिरहेकी छु।’

यसैगरी, दुईपटकको ग्रान्डस्लाम विजेता किटोभाले युक्रेनकी काटेरिना कोज्लोभालाई ७–६, ६–२ ले हराएर तेस्रो चरणमा पुगकी छन्। पहिलो सेटमा उनले सेट प्वाइन्ट बचाएर टाइब्रेकमा सो सेट जितेकी थिइन्। यस्तै, पूर्वविजेता एन्जेलिक केर्बरले उनकै राष्ट्र जर्मनीकी एना लेना फ्रिडसामलाई ६–३, ७–६ ले पन्छाएकी थिइन्। तर, किटोभाकी चेक साथी खेलाडी भोन्ड्रयुसोभा भने पराजित भइन्। उनलाई बेलारुसकी एलियाक्सान्ड्रा सास्नोभिचले ६–१, ६–२ ले हराएकी थिइन्।

जोकोभिच तेस्रो चरणमा
वोमेन्स सिंगल्स शीर्ष वरीयताका नोभाक जोकोभिचले ब्रिटेनका कायल एडमन्डलाई हराएर तेस्रो चरणमा पुगेका छन्। जोकोभिचले पहिलो सेट ६–७ ले गुमाए पनि बाँकी तीन सेट ६–३, ६–४, ६–२ ले जित्दै एडमन्डलाई निराश पारेका छन्। जोकोभिचकै राष्ट्र सर्बियाका अर्का खेलाडी क्यामेरोन नोरी पनि तेस्रो चरणमा पुगेका छन्। नोरीले अर्जेन्टिनाका फेडेरिको कोरियालाई ६–३, ६–४, ६–४ ले पराजित गरेका थिए।

१८औं ग्रान्डस्लाम जित्ने अवसरमा रहेका जोकोभिचले अर्को चरणमा जर्मन खेलाडी जान लेनार्ड स्ट्रफविरुद्ध खेल्नेछन्। नोरीले स्पेनका डेभिडोभिच फोकिनासँग अर्को चरणमा भिड्नेछन्। फोकिनाले हुबर्ट हस्काजलाई पराजित गरेका थिए।

ग्राचेभाको उत्कृष्ट पुनरागमन
पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता खेलिरहेकी भार्भाभा ग्राचेभाले उत्कृष्ट पुनगरामगन गर्दै अविस्मरणीय जित हात पारेकी छन्। रूसकी २० वर्षीया खेलाडीले चारवटा म्याच प्वाइन्ट बचाएर क्रिस्टिना मिलाडेनोभिचलाई हराएकी हुन्। उनले दोस्रो चरणको सो खेल १–६, ७–६, ६–० ले जितेकी थिइन्। जबकि, उनी फ्रान्सकी मिलाडेनोभिचविरुद्ध ६–१, ५–१ ले पछाडि थिइन्। ग्राभेचाको अर्को चरणको सामना क्रोयसियाकी पेट्रा मार्टिचसँग हुनेछ।

प्रतिक्रिया दिनुहोस्