जर्मनी र स्पेनले बराबरी खेल्यो



एजेन्सी ।

युइएफए नेसन्स लिग फुटबलमा जर्मनी र स्पेनले बराबरीको नतिजाबाट प्रतियोगिताको सुरुवात गरेका छन् ।

नेपाली समयअनुसार शुक्रबार बिहान समूह ‘डी’ अन्तर्गत भएको दुई पूर्वविश्वविजेताहरूको भिडन्तमा जर्मनीले इन्जुरी समयमा गोल बेहोरेपछि खेल १–१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदान स्टुटगार्टमा जर्मनीले बलियो प्रतिद्वन्द्वी स्पेनविरुद्ध सुरुवाती अग्रता लिए पनि अन्तिम समय सम्हालिन नसक्दा बराबरीमा खेल टुङयाउन बाध्य भयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा जर्मनीले खेलको ५१औं मिनेटमा युवा स्टार टिमो वार्नरको गोलबाट अग्रता लिएको थियो । वार्नरले गोसेन्सको पासमा गोल गरेका थिए । सोही अग्रता लिएर जर्मनी साँघुरो जिततर्फ अघि बढेको थियो । तर, ९० मिनेटपछि थपिएको समयको पाँचौं मिनेटमा पाहुना टोली स्पेनले बराबरी गोल फर्कायो । जोसे लुइस गयाले डिबक्स भित्रबाट गरेको क्रस पासबाट आएको बललाई वान टच प्रहार गर्दै सहजै गोल गरेपछि खेल १–१ मा टुंगियो । त्यसअघि स्पेनका लागि युवा स्टार अन्सु फातीले आफ्नो डेब्यु खेलमै गोल गरे पनि रामोसले डिबक्समा फाउल गरेका कारण सो गोलले मान्यता पाएन ।

कोरोना भाईरसले युरोपमा फुटबल ठप्प भएयता पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता युरोपियन नेसन्स कपमा शुक्रबार जर्मनीले स्पेनको सामना गरेको हो । प्रतियोगिताको अघिल्लो संस्करणमा फ्रान्स र नेदरल्यान्ड्स भएको समुहमा जर्मनीले पुछारमा रहँदै प्रतियोगिताबाट बिदा लिएको थियो । स्पेन भने क्वार्टरफाइनलमा इङ्गल्याण्डसँग हार्न पुगेको थियो । यो खेलसँगै जर्मनी र स्पेनले एक–अर्कासँग २४ पटक खेलेका छन् । जसमा जर्मनीले ९ र स्पेनले सात खेल जितेको छ भने बाँकी खेल बराबरीमा टुङ्गिएको छ ।

यसबाहेक शुक्रबार यूइफए नेसन्स लिगमा अन्य २२ खेलहरु सम्पन्न भएका छन् । जसमा वेल्सले फिनल्याण्डमाथि १–० को जित निकाल्दा हंगेरीले पनि टर्कीलाई १–० ले पराजित गर्‍यो ।

अन्तिम २० मिनेटमा गरेको एकमात्र गोल वेल्सलाई तीन अंक दिलाउन सफल भयो । अनुभवी खेलाडीको सट्टा युवा खेलाडीलाई खेलाएको वेल्सले सुरुवातमा नै गोल गरेपनि रेफ्रिले त्यसलाई मान्यता दिएनन् । वेल्सका डिफेन्डरले फिनल्याण्डका खेलाडीलाई लडाएपछि रेफ्रिले फाउल दिएका थिए । दोस्रो हाफको सुरुवातमा नै फिनल्याण्डले गोलको निकै उत्कृष्ट मौकालाई आत्मसाथ गर्न सकेन । फिनल्याण्डका लियो भेइसानेनको प्रयास पोष्टको नजिकबाट बाहिरियो ।

त्यसपछि वेल्सका डेनियल जेम्सको प्रयास पनि फ्रेममा रहन सकेन । खेलको ८० औं मिनेटमा वेल्सले खेलमा अग्रता बनायो । वेल्सका लागि डेनीयल जेम्सको क्रसमा मोरीले गोल गर्न सफल भए । वेल्सको गत नोभेम्बरपछि हंगेरीविरुद्ध पहिलो जित हो । रायन गिग्सको युवा टिमले गरेको प्रदर्शनबाट प्रशिक्षक निकै खुसी भएका थिए ।

त्यस्तै, अर्को खेलमा युक्रेनले स्विट्जरल्याण्डलाई २-१ ले हरायो भने रसियाले सर्वियामाथि ३-१ को सहज जित निकाल्यो । त्यस्तै, स्लोभानिया र ग्रीसबीचको खेल गोलरहित बराबरीमा सकियो । हंगेरीले टर्कीमाथि १–० को जित निकाल्दा आयरल्याण्डले अन्तिममा गोल गर्दा बुल्गेरियालाई १–१ को बराबरीमा रोक्यो ।

प्रतिक्रिया दिनुहोस्