एभर्टनले रोड्रिगेजलाई अनुबन्ध गर्ने



लन्डन, (एजेन्सी)
एभर्टनले कोलम्बियाका फरवार्ड जेम्स रोड्रिगेजलाई यसै साताको अन्त्यमा रियल मेड्रिडबाट अनुबन्ध गर्ने भएको छ। २९ वर्षीय खेलाडी अनुबन्ध भएमा एभर्टन मेनेजर कार्लो एन्सेलोटीको डिसेम्बरमा मेनेजर भएयता पहिलो ठूलो सम्झौता हुनेछ। रियलमा उनको अन्तिम वर्ष चलिरहेको छ।

रोड्रिगेजले ब्राजिलमा भएको फिफा विश्वकप २०१४ मा गोल्डेन बुट जितेका थिए। उनले ५ खेलबाट ६ गोल गरेका थिए। उनको एभर्टनसँग आगामी ३ वर्षका लागि अनुबन्ध हुने कुरा चलिरहेको छ। इंग्लिस क्लब एभर्टनले नेपोलीका २९ वर्षीय ब्राजिली मिडफिल्डर एलानको सम्झौता स्वीकार गरेको छ। उनी छिट्टै एभर्टनमा आउनेछन्।

यस्तै, अर्को इंग्लिस क्लब आर्सेनलले ब्राजिलियन डिफेन्डर गेब्रियल मागालहाएसलाई लिलेबाट २६ मिलियन युरोमा अनुबन्ध गर्ने प्रक्रिया पूरा गरेको छ। २२ वर्षीय सेन्टर ब्याक गेब्रियलले गत सिजनमा फ्रान्सेली टोली लिलेका लागि ३४ खेलमा सहभागिता जनाएका थिए। लिले गत सिजनमा फ्रान्सेली लिग वानमा चौथो स्थानमा रहेको थियो।

गेब्रियल आर्सेनलमा अनुबन्ध हुनुअघि अन्य केही क्लबहरूसँग पनि अनुबन्ध हुन खोजेको बताएका छन्। उनले भने– ‘विभिन्न केही क्लबहरूबाट आएको प्रस्तावले मैले अनौठो अनुभव गरेको थिएँ। मैले परिवार र एजेन्ट र लिलेका केही महानुभावसँग पनि छलफल गरेँ। त्यसपछि मैले निर्णय लिएको हुँ। आर्सेनलको जर्सी लगाएर मसँग भएको क्षमता प्रस्तुत गर्नेछु।’

त्यस्तै, सेभिलाले क्रोएसियाका मिडफिल्डर इभान राकिटिचलाई बार्सिलोनाबाट अनुबन्ध गरेको छ। युरोपा लिग विजेता टोली सेभिलाले बताएअनुसार राकिटिचले १ दशमलव ३ मिलियन पाउन्डमा ४ वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। ३२ वर्षीय खेलाडी पुनः सेभिलामा फर्केका हुन्। उनी २०११ र २०१४ बीचमा सेभिलाको हिस्सा थिए। तर, उनी बार्सिलोनामा पुगेपछि १३ उपाधिको हिस्सेदार बनेका थिए। जसमा चार ला लिगा र एक च्याम्पियन्स लिग उपाधिमा समेत सामेल थिए।

प्रतिक्रिया दिनुहोस्