पाकिस्तानले सिरिज बराबरीमा टुंग्यायो



लन्डन, (एजेन्सी)
पाकिस्तानले इंग्ल्यान्डलाई तेस्रो तथा निर्णायक खेलमा ५ रनले हराएर ३ खेलको टी– २० अन्तर्राष्ट्रिय सिरिज १–१ को बराबरीमा टुंग्याएको छ।
घरेलु टोली इंग्ल्यान्डले १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा १ सय ८५ रनमै समेटिएपछि पाकिस्तानको रोमाञ्चक जित भएको हो। यो यात्रामा पाकिस्तानको पहिलो जितसमेत हो। इंग्ल्यान्डलाई अन्तिम २ बलमा १२ रनको आवश्यक थियो। टम कुरानले हरिस राउफको बलमा छक्का प्रहार गरेका थिए। अन्तिम बलमा पनि छक्का नै प्रहार गर्नुपर्ने थियो, तर कुरानले राउफको बललाई प्रहार गर्न सकेनन्। योसँगै इंग्ल्यान्डले सिरिज जित्ने मौका पनि गुमाएको थियो।
इंग्ल्यान्ड शुरुआतमा ४ विकेटको क्षति व्यहोरेर ६९ रनको योगफलमा थियो। मोइन अलीले ३३ बलमा ६१ रन बनाएर टोलीलाई जित दिलाउने आशमा राखेका थिए। तर, उनी आउट भएपछि टोलीका लागि ८ बलमा १७ रनको आवश्यक भएको थियो। पाकिस्तानी बलर वहाब रियाजले १९औं ओभरमा किफायती बलिङ गरे। उनले केवल ३ रन मात्रै दिएका थिए। कुरान र अदिल रसिदले अन्तिम ओभरमा १७ रन जोड्नुपर्ने थियो। तर, उनीहरूले ११ रन मात्रै जोड्न सफल भएका थिए।
यसअघि मोहम्मद हाफिजले ५२ बलमा ८६ रनको योगदान दिँदा पाकिस्तानले १ सय ९० रनको बलियो योगफल बनाएको थियो। नटआउट रहेका हाफिजले ६ छक्का र ४ चौका प्रहार गरेका थिए। यस्तै, डेब्यु गरेका हैदर अलीले ३३ बलमा ५ चौका र २ छक्कासहित ५४ रन बनाएका थिए। १९ वर्षीय हैदर अली पाकिस्तानको तर्फबाट टी–२० मा डेब्युमै अर्धशतक प्रहार गर्ने पहिलो युवा ब्याट्सम्यान हुन्। हाफिज र हैदरले तेस्रो विकेटका लागि १ सय रनको साझेदारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्