मुरे संघर्षरत जितसँगै दोस्रो चरणमा



न्युयोर्क, (एजेन्सी)
एन्डी मुरेले दुई सेटले पछि परेको अवस्थालाई उल्टयाएर न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताको पहिलो चरण पार गरेका छन्।
३३ वर्षीय ब्रिटिस खेलाडीले जापानका योसिहिटो निसिओकालाई ४–६, ४–६, ७–६, ७–६, ६–४ ले पराजित गरेका हुन्। उनको यो २०१९ जनवरीमा भएको अस्टे«लियन ओपन पछिको पहिलो प्रमुख खेल हो। उनी हिप सर्जरी भएपछि लामो समय विश्राममा रहेका थिए। तर, उनको खेलमा यसको असर भएको थियो। पहिलो दुई सेटमा भने उनलाई निसिओकाले टिक्नै दिएका थिएनन्।
स्कट खेलाडी मुरेले तेस्रो सेट टाइब्रेकरमा जितेपछि खेलमा फर्कने छनक देखाएका थिए। उनले चौथो सेट पनि टाइबे्रकरमै हात पारेका थिए। यसपछि निर्णायक सेटमा पनि आफूलाई अब्बल बनाउँदै उनले ४ घण्टा ३९ मिनेट समय लगाएर सो खेल जितेका हुन्। उनको दोस्रो चरणको खेल क्यानेडियाका फेलिक्स अगर एलियासीमसँग सामना हुनेछ।
यस्तै, मेन्स सिंगल्सतर्फ दोस्रो वरीयताका डोमिनिक थिएम पनि दोस्रो चरणमा पुगेका छन्। उनले स्पेनी प्रतिद्वन्द्वी जाउमे मुनारले खेल परित्याग गरेपछि पहिलो चरण पार गरेका थिए। उनले ७–६, ६–३ को दुई सेटको अग्रता लिँदा मुनारले खेल्ने असमर्थ जनाएका थिए। थिएमको दोस्रो चरणको प्रतिस्पर्धा भारतीय खेलाडी सुमित नागलसँग सामना हुनेछ। रूसका डानिल मेडभेदेभ पनि दोस्रो चरणमा प्रवेश गरेका छन्। उनले अर्जेन्टिनाका फेडेरिको डेल्बोनिसलाई ६–१, ६–२, ६–४ ले पन्छाएर अस्टे«लियाका क्रिस ओ कोनेलसँग खेल्ने तय गरेका छन्।
सेरेनालाई मौका
६ पटककी यूएस ओपन विजेता सेरेना विलियम्सका लागि २४औं ग्रान्डस्लाम उपाधि जितेर मार्गारेट कोर्टसँग कीर्तिमान बराबरी गर्ने सुनौलो अवसर मिलेको छ। प्रायजसो चर्चित खेलाडीले कोरोना भाइरसको डरमा प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्। यसैले पनि सेरेनाका लागि २४औं ग्रान्डस्लाम उपाधि जित्ने यो सुवर्ण अवसर पनि हो। जारी यूएस ओपनमा नाओमा ओसाका मात्रै उनका लागि तगारो बन्न सक्नेछिन्।
सेरेनाले पहिलो चरणको खेलमा उनकै राष्ट्र अमेरिकाकी क्रिस्टी ऐनमाथि ७–५, ६–३ ले जितेर कीर्तिमान राखेकी छन्। उनले प्रतियोगितामा १ सय २ खेल जितेर कीर्तिमान राखेकी हुन्। उनी मेन्स र वोमेन्स दुवै विधामा सबैभन्दा बढी खेल जित्ने खेलाडी बनेकी हुन्। साथै, उनले अमेरिकाकी क्रिस एभर्टको कीर्तिमान तोडेकी हुन्।
पाका खेलाडी पराजित
प्रतियोगितामा जहाँ ३९ वर्षीया सेरेनाले पहिलो चरणमा जित हात पारिन्। तर, त्यहीं नै केही पाका खेलाडीहरू प्रतियोगिताबाट बिदा भए। सेरेनाकी ४० वर्षीया दिदी भेनस पहिलो चरणबाटै बाहिरिन्। भेनसले क्यारोलिना मुचोभासँग ६–३, ७–५ को हार व्यहोरेकी थिइन्। उनले पछिल्ला ५ वटा ग्रान्डस्लाम टेनिस प्रतियोगितामध्ये ४ मा पहिलो चरणमै हारेकी थिइन्।
यस्तै, ३७ वर्षीया बेल्जियमकी किम क्लाइस्टर्स पनि पहिलो चरणबाटै बाहिरिन पुगिन्। उनलाई रूसकी एकाटेरिना एलेक्जेन्ड्रोभाले ३–६, ७–५ र ६–१ को सोझो सेटले हराइन्। २००५, २००९ र २०१० मा यूएस ओपन जितेकी क्लाइस्टर्सले ८ वर्षपछि पहिलो ग्रान्डस्लाम खेलेकी थिइन्। यसअघि २०१२ मा उनले न्युयोर्कमा खेलेकी थिइन्। त्यतिबेला उनको दोस्रो चरणसम्म यात्रा भएको थियो।
मुगुरुजाले जितिन्
महिला सिंगल्सतर्फ पूर्वफ्रेन्च ओपन र विम्बल्डन विजेता गार्बाइन मुगुरुजा दोस्रो चरणमा प्रवेश गरेकी छन्। १०औं वरीयताकी मुगुरुजाले जापानकी नाओ हिबिनोलाई सीधा सेट ६–४, ६–४ ले पाखा लगाएकी हुन्। उनी यस वर्षको अस्टे«लियन ओपनमा फाइनलमा पुगेकी थिइन्। तर, उनलाई अमेरिकाकी सोफिया केनिनले फाइनलमा पराजित गरेर उपाधिबाट विमुख पारेकी थिइन्।
यस्तै, अमेरिकाका उदीयमान खेलाडीहरू मेडिसन किज र सोफिया केनिनले पनि जित हात पारेका छन्। किजले हंगेरीकी टिमिया बाबोसलाई ६–१, ६–१ ले हराइन् भने सोफियाले बेल्जियमकी यानिना विकमायरलाई ६–२, ६–२ ले सहजै हराएकी छन्।

प्रतिक्रिया दिनुहोस्