जोकोभिच यूएस ओपनको दोस्रो चरणमा



न्युयोर्क, (एजेन्सी)

विश्व नम्बर एक नोभाक जोकोभिच न्युयोर्कमा शुरू भएको यूएस ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन्। मंगलबार बिहान भएको मेन्स सिंगल्सतर्फको खेलमा जोकोभिचले डामिर डिजुमहुरलाई सीधा सेटमा हराएका हुन्। सर्बियाली खेलाडीले सो खेल ६–१, ६–१, ६–१ ले जितेका थिए। अन्य दुई शीर्ष खेलाडीहरू राफायल नाडाल र रोजर फेडेररको अनुपस्थितिमा उनको उपाधि दाबेदारी अग्रपंक्तिमा रहेको छ। उनले करियरमा १७ वटा ग्रान्डस्लाम उपाधि जितेका छन्, जुन रोजरभन्दा ३ र नाडालभन्दा २ उपाधिबाट पछाडि हो।

यसैगरी, एलेक्सान्डर जेभेरेभ र स्टेफानोस टीसीटीपासले पनि पहिलो चरण पार गरेर जोकोभिचलाई चुनौती दिने तयारमा रहेका छन्। उनीहरू दुवैजना खेलाडी पहिलो ग्रान्डस्लाम उपाधिको खोजीमा छन्। कोरोना भाइरसका कारण डिफेन्डिङ च्याम्पियन स्पेनका राफायल नाडालले प्रतियोगितामा भाग लिएनन्। स्वीस खेलाडी रोजर फेडेरर भने घुँडाको शल्यक्रियाका कारण प्रतियोगितामा खेल्न असमर्थ जनाएका हुन्।

जोकोभिचले दोस्रो चरणमा ब्रिटेनका कायल एडमन्डसँग प्रतिस्पर्धा गर्नेछन्। ब्रिटिस नम्बर दुई एडमन्डले कजाकस्तानका एलेक्सान्डर बुबलिकलाई हराएका थिए। बुबलिकले जोकोभिचलाई २ वर्षअघि मेड्रिडमा पराजित गरेका थिए। जोकोभिचले भने– ‘उनले साँच्चिकै राम्रो सर्भ र फोरह्यान्ड प्रहार गर्छन्। यी दुई उनका ठूला हतियार हुन्। विम्बल्डनमा पनि उनीसँग मेरो प्रतिस्पर्धा भएको थियो। उनी मेरा लागि चुनौती नै हुनेछन्। महत्वपूर्ण कुरा मैले शुरुआतमै राम्रो गर्नुपर्छ।’

जोकोभिचले बोस्निया हर्जगोभिनाका डिजुमहुरविरुद्धको पहिलो सेट केवल २४ मिनेटमा हात पारेका थिए। दोस्रो सेटको चौथो खेलमा सर्भिस बे्रेक गरेर जोकोभिचले सो सेट पनि छिटै आफ्नो बनाएका थिए। तेस्रो सेटमा पनि उनलाई डिजुमहुरले चुनौती पस्कन सकेनन् र खेल सहजै जित्न सफल भएका थिए। डिजुमहुर हार्नुको कारण ४१ अनावश्यक गल्ती थियो।

३३ वर्षीय जोकोभिचले २०२० मा खेलेका सबै २४ खेलमा जित हासिल गरेका छन्। उनले यस वर्ष अस्टे«लियन ओपनसहित दुबई टेनिस प्रतियोगिता र वेस्टर्न एन्ड साउदर्न ओपन उपाधि जितेका छन्।

यस्तै, पाँचौं वरीयताका जेभेरेभले दक्षिण अफ्रिकाका केभिन एन्डरसनविरुद्ध कडा संघर्ष गरेर जित हात पारेका थिए। २३ वर्षीय जर्मनले सो खेल ७–६, ५–७, ६–३, ७–५ ले जितेका थिए। एन्डरसन २०१७ मा भएको यूएस ओपन फाइनलमा पराजित भएका थिए। ग्रीसका टिसिटिसीपासले स्पेनका अल्बर्ट रामोस भिनोलासलाई सीधा सेट ६–२, ६–१, ६–१ ले पाखा लगाएका थिए। २२ वर्षीय विश्व नम्बर ६ ले दोस्रो चरणमा अमेरिकाका म्याक्सिमे क्रेसीसँग खेल्नेछन्। जबकि, जेभेरेभले पनि अमेरिकाकै ब्रान्डन नाकासिनासँग खेल्नेछन्।

ओसाका पनि दोस्रो चरणमा
विश्व नम्बर चार खेलाडी नाओमी ओसाका यूएस ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छन्। न्युयोर्कस्थित फ्लसिङ मिडोजमा भएको खेलमा ओसाकाले जापानी प्रतिद्वन्द्वी मिसाकी डोईलाई तीन सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेकी हुन्। पहिलो सेट ६–२ ले आफ्नो पक्षमा पारेकी उनले दोस्रो सेट ५–७ ले गुमाएकी थिइन्। तर, तेस्रो सेटमा उत्कृष्ट कमब्याक गर्दे ६–२ ले जितेपछि उनको जित सुनिश्चित भएको हो। २२ वर्षीय ओसाकाले आफ्नो करियरको पहिलो ग्रान्डस्लाम उपाधि फ्लसिङ मिडोजमै जितेकी थिइन्।

ओसाकाले गत साता मात्रै वेस्टर्न एन्ड साउदर्न ओपनको उपाधि इन्ज्युरीका कारण गुमाएकी थिइन्। फाइनल खेलमा भिक्टोरिया अजारेन्कासँग खेल्ने तालिका रहेको थियो। तर, ह्यास्ट्रिंगको इन्ज्युरी बल्झिएपछि उनले फाइनल खेलअघि नै नाम फिर्ता लिएकी थिइन्। मंगलबार भएको खेलमा उनले मेडिकल अपिलविना नै सबै सेट पूरा गरेकी हुन्। ओसाकाले अब क्यामिला जियोर्जीसँग खेल्नेछिन्। जियोर्जीले पनि भान युतभान्कलाई २–६, ६–१, ७–५ ले पराजित ओसाकासँग भेट पक्का गरेकी हुन्। उक्त खेलमा ओसाकाले केही समयअघि प्रहरीद्वारा हत्या गरिएकी अश्वेत महिला ब्रिओना टेलोरको नाम अंकित मास्क लगाएकी थिइन्।

पिलिस्कोभा र किटोभाको जित
अन्य खेलमा शीर्ष खेलाडी कारोलिना पिलिस्कोभा र छैठौं वरीयताकी पेट्रा किटोभाले जित प्राप्त गरेका छन्। पिलिस्कोभाले युक्रेनकी एन्हेलिना कालिनिनालाई ६–४, ६–० ले हराएकी थिइन्। २८ वर्षीया चेक खेलाडीले हालसम्म ग्रान्डस्लाम उपाधि जित्न सकेकी छैनिन्। दुई शीर्ष खेलाडी एस्लिग बार्टी र सिमानो हालेपले नखेलेपछि पिलिस्कोभालाई पहिलो वरीयता प्राप्त भएको छ। उनको अर्को खेलमा फ्रान्सकी कारोलिन गार्सियाविरुद्ध सामना हुनेछ।

चेककै खेलाडी किटोभाले रोमानियाकी इरिना क्यामेलिया बेगुलाई ६–३, ६–२ ले पन्छाएकी थिइन्। त्यस्तै, पूर्वविम्बल्डन विजेता एन्जेलिक केर्बरले अस्टे«लियाकी एज्ला टोमलजानोभिचलाई ६–४, ६–४ ले पराजित गरिन्। जर्मन खेलाडी केर्बरले जनवरीपछि पहिलोपटक खेल्दै छिन्। जनवरीमा उनले अस्टे«लियन ओपनमा सहभागिता जनाएकी थिइन्।

गाउफ निराश
गाउफलाई अमेरिकी लिजेन्ड सेरेना विलियम्ससँग तुलना गरिएको छ। गत यसै ग्रान्डस्लाममा उनी तेस्रो चरणसम्म पुगेकी थिइन्। विम्बल्डनमा उनी अन्तिम १६ सम्म पनि पुगेकी थिइन्। १६ वर्षीया गाउफ यसै वर्ष जनवरीमा भएको अस्टे«लियन ओपनमा पनि चौथो चरणसम्म पुगेकी थिइन्। तर, यसपटक ग्रान्डस्लाम जित्ने मौका उनले गुमाइन्।

गाउफले ३० वर्षीया सेभास्टोभासँग संघर्ष गरे पनि तीन सेटमा खेल गुमाउन पुगेकी थिइन्। पहिलो सेट ६–३ ले हारेकी उनले दोस्रो सेट टाइब्रेकरमा ७–५ ले जितिन्। तर, निर्णायक सेटमा उनी ६–४ ले माथ खान पुगिन्। सो खेल हार्नमा उनको कमजोर सर्भिस थियो। उनले १३ डबल फल्ट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्