मानव सभ्यताको अभिन्न अंग पानी



पानी हाम्रो सभ्यतासँग जोडिएको छ । खेतीपातीको लागि पनि पानि अति आवश्यक छ । खासगरी वर्षाको पानी कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । यसका अलावा नहर तथा कुलोको मद्दतले नदीको पानी पनि सिंचाइका लागि उपयोग गरिन्छ । पानीका स्रोतहरू नदी र समुद्रले यातायात तथा व्यापारका अवसरहरू प्रदान गर्दछन् । नदीहरूले बगाएर ल्याएको माटोले विभिन्न उपत्यका तथा समतल भूभागहरूलाई अत्यन्तै मलिलो बनाउने गर्दछ । नेपालको तराई भूभाग यसको गतिलो उदाहरण हो ।

माटोले सोसेर लिएको पानी जमिनमुनि जम्मा हुन्छ । यसरी जम्मा भएको पानी कुनै स्थानबाट मूल फुटेर बाहिर निस्कने गर्दछ । बाहिर निस्केको पानी धारा, कुवा, पँधेरा, तातोपानीको फोहोरा आदि नामले चिनिन्छ । यस्तो पानी कृत्रिमरूपमा इनार खनेर पनि निकाल्ने गरिन्छ ।

पानीले विभिन्न तत्वहरूलाई सजिलै घुलाउन सक्छ । त्यसैले पानीको गन्ध र स्वाद विभिन्न स्थानमा फरक–फरक हुने गर्दछ । वास्तवमा हामीले स्वाद र गन्धको आधारमा पानी खानयोग्य भएको अथवा नभएको निर्धारण गर्ने गर्दछौं । हामी समुद्रको नुनिलो पानी तथा सिमसारमा जमेको दुर्गन्धित पानी पनि खाँदैनौं तर पहाडको मूलबाट निस्कने स्वच्छ पानी मन पराएर खान्छौं ।

पानीको फरक खालको गुण हुने भएकोले यो प्राणीहरूका लागि अति उपयोगी छ । यो एउटा राम्रो घोलक हो र यसको अति उच्च सतही दबाब हुन्छ । ४ डिग्री सेल्सियसमा शुद्ध पानीको घनत्व सबैभन्दा उच्च हुने गर्दछ, ४ डिग्री सेल्सियसभन्दा तापक्रम बढे पनि घटे पनि यसको घनत्व घट्ने गर्दछ । पानी एउटा तटस्थ पदार्थ भएकोले वातावरणमा विकिरणको शोषण गरी हरित गृह प्रभावलाई समेत घटाउन मद्दत पु¥याउने गर्दछ । पानीको विशिष्ट ताप धारण शक्ति एकदमै धेरै हुने हुनाले यसले पृथ्वीको मौसमलाई निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

एउटा राम्रो घोलक पदार्थ भएको हुनाले यसले विभिन्न लवणहरू तथा चिनीलाई घुलाउने काम गर्दछ । यसका अलावा पानीले विभिन्न तत्वहरूको रासायनिक प्रतिक्रियामा उत्प्रेरकको रूपमा काम गर्दछ । सजीवहरूको शरीरमा हुने विभिन्न प्रतिक्रियाहरूमा पनि पानीले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

खानेपानीको वितरण विभिन्न खानेपानी वितरण आयोजनामार्फत धाराहरू तथा ट्यांकरहरूबाट गरिन्छ । त्यसका साथै आजभोलि जार तथा बोतलहरूमा भरेर व्यापारिकरूपमा पनि खानेपानीको वितरण गर्ने गरिएको छ । विश्वका धेरै देशहरूमा सरकारले नै निःशुल्क खानेपानीको वितरण गर्ने गर्दछ । तर केही विश्लेषकहरू भने निजी संस्थाहरूले यसको सही वितरण तथा व्यवस्थापन गर्ने धारणा राख्ने गर्दछन् । निजी संस्थाहरूले बोरिङ खन्न, पानी सञ्चय गर्ने भण्डार निर्माण गर्न आर्थिक स्रोत उपलब्ध गराउन सक्छन् भन्ने उनीहरूको धारणा छ ।

खानेपानीलाई खेर जान नदिएर पनि खानेपानीको उपलब्धतालाई सुधार गर्न सकिन्छ । हङ्कङजस्ता केही शहरमा खानेपानी जोगाउनकै लागि पाइखानाको सफाइको लागि समुद्रको पानी प्रयोग गरिन्छ । खानेपानीको प्रदूषण पानीको सबैभन्दा ठूलो दुरुपयोग हो । प्रदूषणले पानीको प्रयोगलाई सीमित बनाउँछ, मानिसहरू प्रदूषित पानीलाई प्रयोग गर्दैनन् र त्यो पानी खेर जान्छ ।

आज हरव्यक्ति पानीको दुरुपयोग गरिरहेका छन् । बाथरुम, शौचालय, भान्साघर र बगैंचाको सिंचाइमा पानीको खपत अत्यधिक मात्रामा भइरहेको छ । हामी सबैको कर्तव्य हो पानीको दुरुपयोग हुनबाट सुरक्षा गर्नु र पानीलाई खेर जान नदिनु, किनकि कुनै पनि चीजको दुरुपयोग दरिद्रता तथा निर्धनताको कारण हुन पुग्छ । फजुल खर्च गर्नाले नोक्सान पनि हुन्छ र आवश्यक पर्ने व्यक्तिहरुले प्रयोग गर्न पाउँदैनन् । न उसले आफूले गरेको गलत कार्यको बारेमा सोच्छ, न अर्को व्यक्तिलाई उसले गरेको गलत कारणले भएको हानिको बारेमा सोच्छ । सम्पूर्ण मानवजीवनलाई यस चक्रको अति महत्व छ ।
– शिक्षा यादव, सप्तरी ।

 

प्रतिक्रिया दिनुहोस्