एक रातको बाढीमा बगे १७ जनाको करोडाैं सपना



धर्मेन्द्र बीसी, अछाम
२२ घरका १७ जनाका करोडौ सपना एकरातको बाढीले बगाएको छ । मंगलवार राति अछामको रामारोशन गाउँपालिकामा आएको बाढीले २२ घरसहित १७ जना बेपत्ता भएका छन् । मंगलवार राति खाना खाएर सुतेका १७ जना निद्राबाट बिउझिन नपाउँदै बेपत्ता हुनुप¥यो । बेपत्ता १७ मध्ये ७ जना बुधवार मृत अवस्थामा भटिए ।

भौगोलिक विकटताले सदरमुकामदेखि टाढा रहेको रामारोशन गाउँपालिकाले यो वर्ष बाढीबाट करोडौंको क्षतिका साथै ठूलो संख्यामा मानवीय क्षति बेहोर्नुप¥यो । सैनिबजारमा होटेल व्यवसाय गरी बसोबास गर्ने नन्दसिंह साउदको सात जनाको परिवार पूरै बगेको छ । नन्दसिंह साउदसहित पत्नी गंगा, छोरी कविता बुढा साउद, छोरा नवीन, रुपेश, नातिनी प्राप्ति र बीमा तथा बुहारी जोगालाई बाढीले बगाएको छ ।

नन्दसिंह साउदको हजारौ सपनासहितको परिवार मंगलवारको बाढीले एकरातमै बगाएको छ । नन्दसिंह साउदको होटलमा बसेका अरु दुई पाहुनासमेत बगेको बुझिएको छ । जसमध्ये नवीनको शव भेटिएको छ । यस्तै सैनीबजारका सुनचाँदी व्यवसायी मीनबहादुर सुनारका छोरालाई निद्रा नपर्दा मीनबहादुरको परिवार जोगियो ।

मीनबहादुर सुनार बेलुकीको खाना खाएर सुतिसकेका थिए । रातिको करिब साढे १० बजेको थियो । त्यो दिन मीनबहादुरको ६ जनाको परिवार त्यहीं थियो । ५ जना सुतिसकेका थिए । एउटा छोरा भने नसुतेर मोबाइल चलाएर बसेका थिए । उनै छोरा नसुतेका कारणले मीनबहादुरको ६ जनाको परिवारको ज्यान जोगिएको छ ।

बाढीले रामारोशन गाउँपालिका–५ सैनीबजारसँगै मीनबहादुरको सुन पसल पनि बगेको छ । छिमेकी धनादेवी साउदको होटलमा पानी पसेको हल्ला मीनबहादुरको छोराले सुनेपछि सुतिरहेका सबैलाई हतारहतार उठाए । ‘हामी सबै सुतिसकेका थियौँ, छिमेकीको पसलमा पानी पसेपछि भएको हल्ला सुनेर छोरो करायो’, मीनबहादुरले भन्नुभयो– ‘हत्तपत्त ब्युँझिँदा त आफ्नो पसलमा पनि दुई फिट जति पानी पुगिसकेको थियो । हल्लाखल्ला सुन्नासाथै सबै भागेर ज्यान जोगायौँ ।’

मुसलधारे पानी परिरहेका बेला पसलभन्दा केहीमाथि रहेको मीनबहादुर शाहको घरमा पुगेर ज्यान जोगाएको उहाँले बताउनुभयो । पानी पसेको हल्ला गर्ने धना देवीसहित दुई परिवारका सात जनालेसमेत त्यहीँ गएर ज्यान जोगाएका छन् ।

‘एक जोर लुगा लगाउन थालेको भए पनि सायद बाढीमा बगिन्थ्यो होला’, मंगलबार रातिको त्यो कहालीलाग्दो दृश्य सम्झिँदै मीनबहादुरले भन्नुभयो– ‘पसलमा रहेको नगद, गरगहना र अरु सामान सबै बगे पनि भाग्यले सपरिवारको ज्यान जोगियो ।’ लामो समयदेखि सैनीबजारमा सुन व्यापार गर्दै आएका मीनबहादुर छिमेकीले दिएको एकसरो लुगासहित ६ जनाको परिवार बोकेर बुधबार खाली हात बान्नीगढी जयगढ गाउँपालिका–२ जनालीकोट फर्किएका छन् ।

अचानक कैलाश खोलामा आएको बाढीले सैनीबजारका २२ वटा घर पूरै बगाएर बगरमा परिणत गरेको छ । रातिको समय प्रायः सबै सुतिसकेको बेला बाढी आएकाले ठूलो मानवीय क्षति भएको मीनबहादुरले बताउनुभयो ।

स्थानीय पुष्प विष्टले बाढीले अहिलेसम्म १७ जनालाई बगाएको जानकारी दिनुभयो । होटलमा अरु पाहुनासमेत बसेको हुन सक्ने भएकाले मानवीय क्षतिको यकिन नै हुन नसकेको विष्टले बताउनुभयो ।

कैलाश खोलाको किनारैकिनार रहेको रामारोशन जोड्ने सडकको अधिकांश भाग बगेको छ । १७ जना बेपत्ता भएकोमा ७ जनाको शव भेटिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उनीहरु सबैको परिचय खुलेको छ । शव भेटिएकामध्ये २ जनाको मात्र सनाखत भएको छ । सनाखत हुनेमा एक नवीन र अर्का गौरी शाह छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना र प्रहरीसहितको टोली परिचालन भइरहेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभएको छ । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाले ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका–३ रलेको लमतणा र अर्का एक व्यक्तिको शव मंगलसेन नगरपालिका–१० जुपुस्थित कैलासखोला किनारमा भेटिएकोे बताउनुभयो ।

बाढीले दर्नाको पक्की पुलसमेत बगेको स्थानीय पुष्प विष्टले जानकारी दिनुभयो । ‘रामारोसन गाउँपालिका–५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन्,’ उहाँले भन्नुभयो– ‘खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।’

प्रतिक्रिया दिनुहोस्