प्रेस काउन्सिलका कार्यबाहक अध्यक्षलाई यथावत राख्न सर्वोच्चको अन्तरिम आदेश



न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतले हालै सरकारले तोकेको प्रेस काउन्सिलका कार्यबाहक अध्यक्षलाई गैरकानूनी रुपमा नियुक्ति गरिएको देखिएको उल्लेख गर्दै भइरहेको कार्यबाहक अध्यक्षलाई हटाउने कार्य नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले प्रेस काउन्सिल नियमावलीमा थप गरिएको नियम ३क लाई हाल कार्यान्वयन नगरी हाल भइरहेको कार्यबाहक अध्यक्षलाई हटाउने कार्य नगर्न अन्तरिम आदेश दिएको हो । गत साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल (कार्य ब्यवस्था) नियमावलीमा ३क को ब्यवस्था थप गरी सरकारले प्रेस काउन्सिलमा कार्यबाहक अध्यक्ष तोक्न सक्ने प्रावधान राखेको थियो ।

सरकारले सो बमोजिम दुर्गा भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको थियो । भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेपछि सो कार्य गैरकानूनी भएको उल्लेख गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो । सरकारले त्यसरी तोकेको कार्यबाहक अध्यक्ष प्रेस काउन्सिल ऐन, २०४८ को दफा ४ (१), दफा ५ ,दफा ८, लगायतका प्रावधान विपरित रहेको सर्वोच्चले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्