कोरोना नियन्त्रणका लागि थुनछेक र जरिवानाको नीति

 चौबीस घण्टामा सातको निधन, कुल मृत्यु १ सय १४



नेपाल समाचारपत्र, काठमाडौं
नेपालमा कोरोना संक्रमण देखिए यताको आज सम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुर जिल्लामा १७ जना गरी काठमाडौं उपत्यकामा २ सय ५ जना कोरोनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । हालसम्म १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएका र मंगलबार मात्र ७ नाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
मंगलबारसम्म कोरोना १ सय १४ जनामा केहीमा मृत्युअघि र केहीमा मृत्यु पछिको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि बरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा.मधु घिमिरेले ‘सरकारसँग हरेक व्यक्तिको मृत्युको तथ्यांक नहुन सक्छ किनभने गाउँ–गाउँमा मृत्यु हुनेको परीक्षण नै नगरी अत्यष्टि गरिएको अवस्था छ, यसले थप संक्रमण फैलाउन सक्छ’, भन्नुभएको थियो ।
आजको गोकर्णे औंसी र नजिकै आएको हरितालिका तिजमा मानिसहरुको भिड बढ्ने चिन्ता स्थानीय निकायमा छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम भन्नुहुन्छ– कोरोना संक्रमण बढेको अवस्थालाई सरकारले निकै गम्भीरतापूर्व रुपमा लिएर मंगलबारै ७७ रै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई कडाई गर्ने निर्देशन सहितको परिपत्र जारी गरिसकिएको छ ।
‘अहिले सम्म हामीले आम नागरिकलाई अनुरोध गर्यौं । अब नियमको पालना नगरे संक्रामक ऐन बमोजिम जिल्ला प्रशासन कार्यालयको निर्देशनमा थुनछेक र जरिवाना सम्मको कारवाही गर्न स्वास्थ्य मन्त्रालयले पनि अनुरोध गरेको छ । यदि त्यसो गरिएन भने नेपालको अवस्था भयावह हुन्छ । उपचार र परीक्षणको कल्प नै गर्न सकिँदैन’ उहाँले भन्नुभयो ।
नेपालमा अहिले सम्म संक्रमित भएका मध्ये १ सय १८ जना आइसियुमा उपचार गराइरहेका छन् । त्यसमध्ये गम्भीर अवस्थामा रहेका ८ जना वागमती प्रदेशमा रहेका अस्पतालको भेन्टिलेटरमा छन् । नेपालमा कुल ९ सय ४६ आईसियु बेड रहेकोमा ४ सय ९६ वटा भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।
अहिले सम्म प्रदेश १ मा ४ जना, प्रदेश २ मा ४६ जना, वागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५ मा १० जना आइसियुमा उपचाररत भएको डा. गौतमले बताउनुभयो ।
त्यसैगरी देशभरमा जम्मा ९ सय ४६ आइसियु बेड रहेकोमा ४ सय ९६ वटा भेन्टिलेटर छन् । प्रदेश १ मा ४४ आइसियु १९ भेन्टिलेटर, प्रदेश २ मा ४८ आइसियु र १७ वटामा भेन्टिलेटर, प्रदेश ३ मा ६ सय ३० आइसियुमा ३ सय ६१ भेन्टिलेटर, गण्डकीमा १ सय ३७ आइसियुमा ५९ वटा भेन्टिलेटर छन् । प्रदेश ५ मा २९ आइसियु बेड रहेकोमा १३ वटा भेन्टिलेटर, कर्णालीमा ४० आइसियु बेडमा १७ भेन्टिलेटर र सुदूरपश्चिममा १८ वटा आइसियु बेडमा १० वटा भेन्टिलेटर छन् । यो अवस्थामा केही आईसियु र भेन्टिलेटर थप्ने सरकारको योजना छ तर यसले धान्ने अवस्था छैन– डा.गौतमले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्