नेकपा विवादः कार्यदलको सुझावका आधारमा समाधान खोजिँदै



नेपाल समाचारपत्र, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक किचलो छ सदस्यीय कार्यदलमार्फत समाधान हुने भएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदल बनाउने सहमति भएसँगै नेकपाको विवाद अन्ततः समाधान हुने भएको हो ।

डेढ महिनादेखि जारी विवाद समाधानका लागि दुवै अध्यक्षले कार्यदलले दिने सुझावलाई मानेर अगाडि बढ्ने जनाएका छन् । ओली र प्रचण्डबीच दर्जनौंपटक भएको भेटवार्तामार्फत निकास निस्कन नसकेपछि कार्यदलमार्फत समस्याको समाधान खोजिएको छ । नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले सहमतिको खाका तयार पार्ने काम अगाडि बढाएको छ ।

शनिबार बसेको कार्यदलको बैठकले पार्टी एकतालाई थप बलियो बनाएर लैजाने गरी खाका तयार गर्ने काम अगाडि बढाएको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार वैचारिक विवाद धेरै ठूलो नभएकाले पार्टीभित्र देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने संस्थागत रुपमा पार्टी सञ्चालन गर्ने गरी खाका तयार पार्ने काम भइरहेको छ ।

ओली र प्रचण्डलाई वार्तामा बस्न दबाब दिने नेताहरु नै कार्यदलको सदस्य रहेका कारण केही दिनभित्र नै समस्या समाधान हुने बताइएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र समाधान हुने एक टेलिभिन कार्यक्रममार्फत सार्वजनिक भएको तीन दिनभित्र नै डेड महिनादेखि हुन नसकिरहेको समस्या समाधानको काम अगाडि बढेको छ ।

ओली र प्रचण्डबीच महाधविशेनसम्म अध्यक्ष र प्रधानमन्त्री ओलीले रहने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डले लिने सहमति भएको छ । पार्टी विभाजनको डिलमा पुगेपछि उपाध्यक्ष वामदेव गौतमले सहमतिको छबुँदे खाका अगाडि सार्नुभएको थियो ।

नेकपाका एक नेताका अनुसार गौतमले अगाडि सारेको खाकालाई नै आधार बनाएर दुई अध्यक्षबीच सहमति भएको बताइएको छ । तर औपचारिका सहमति भने कार्यदलले प्रतिवेदन दिएपछि मात्र हुनेछ । संवैधानिक नियुक्ति गर्नेदेखि सरकार सञ्चालन गर्दा प्रधानमन्त्री ओलीले पार्टीसँग समन्वय गरेर मात्र गर्ने सहमति पनि अध्यक्षद्वयको बीचमा भएको स्रोतको दाबी छ ।

बिहीबार भएको भेट वार्तामा चैतमा महाधिवेशन गर्ने, सहमतिकै आधारमा सरकार तथा पार्टी सञ्चालन गर्ने, मन्त्रिपरिषद् पुनर्गठन, मुख्यमन्त्रीहरु हेरफेरसमेत गर्न सकिने ओलीले प्रस्ताव गर्नुभएको थियो ।

ओली र प्रचण्डबीच छ सदस्य कार्यदल गठन गरेर पार्टीको विवाद हल गर्ने सहमति भए पनि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने प्रचण्डसँग असन्तुष्टि जनाएका छन् । खनाल, नेपाल र श्रेष्ठले अध्यक्ष एवं प्रधानमन्त्री दुईमध्ये एक पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानबाट प्रचण्ड पछाडि हटेको भन्दै असन्तुष्टि जनाएको बताइएको छ ।

कार्यदलको प्रतिवेदन दिएपछि सहमति कायम गरेर अगाडि बढ्ने समझदारी ओली र प्रचण्डको बीचमा भएको छ । छ सदस्यीय कार्यदलमा महासचिव पौडेल, भीम रावल, शकंर पोखरेल जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्