नेकपाविवाद र निकासको सम्भावना



दामोदर पौडेल
अहिले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा छ भन्ने देखिएको छ । जबकि हल्ला गरेजस्तो भने छैन भन्ने तथ्यहरुले देखाउँछन् । नेपाल कम्युनिस्ट पार्टी बन्दा एमाले र माओवादी दुवै पक्षको सहमतिले दुईवटा अध्यक्ष भएका हुन् । यसले सामान्यतः पदको लालचालाई नै देखाउने गर्दछ तर सधैँ त्यस्तो हुँदैन ।
एमाले र माओवादी नमिलेमा तत्कालको लागि नेपाली कांग्रेस ठूलो पार्टी बन्न सक्ने सम्भावना थियो । एमाले दोस्रो र माओेवादी तेस्रो दल हुने अनुमान थियो । यस अवस्थामा एमालेलाई माओवादीलाई मिलाएर बहुमत ल्याउनु थियो र एमालेलाई आफ्ना उम्मेदवारहरुले माओवादी उम्मेदवारहरुले भन्दा बढ िसंख्यामा जित्ने पनि प्रस्ट थियो । त्यो तथ्य एकीकरणमा भएको भागवण्डाले पनि देखाउँछ ।
माओवादीलाई आफ्नो जनाधार कम हुँदै गएको र यही अवस्था रहेमा चुनावमा भाग लिने कम्युनिस्टहरुको मतको धु्रवीकरण एमालेको पक्षमा जाने प्रस्ट थियो । कम्युनिस्टहरुको प्रचलित शब्द आन्तरिक शत्रु र नजिकको मित्र भन्ने रेटोरिकले पनि कांग्रेसलाई हराउने र कम्युनिस्ट एक हुने भन्ने भनाइले मतदातालाई एक गराउन सजिलो हुने थियो । दुवै पक्षको आन्तरिक रणनीति सत्तामा पुगेपछि जनाधारमा आफू बलियो बन्ने र पार्टीमा आफ्नो वा आफ्नो समूहको बलियो हैसियत बनाउने नै थियो ।
यसै अवस्थामा अर्को सोच पनि विकास भयो कि पार्टी एउटै भएर चुनावमा भाग लिने, एक भइसकेपछि पुराना समूहबाट माथि उठेर वैचारिक एवं मानसिक एकतामा जाने । त्यसमा केहीमा पदको लोभ पनि होला । तर रामबहादुर थापा बादल, लेखराज भट्टजस्ता नेताले त्यो भनाइलाई प्रतिनिधित्व गरेजस्तो देखिन्छ । त्यो धार बलियो हुँदै जान सक्छ, त्यो धारले पूर्वएमाले धारलाई सहयोग पुग्ने हुन्छ ।
पार्टी एकीकरण हुँदा दुई दल र विचारको एकीकरण भएको हो । विवादका विषयले पार्टीको आन्तरिक चुनाव र महाधिवेशनले टुंगो लगाउँछ भन्ने मान्यता लिइन्छ । त्यही तथ्यलाई ध्यान दिएर नै दुवै धारको प्रतिनिधित्वको आधारमा दुईवटा अध्यक्ष बनेका हुन् । अर्थात् एक अध्यक्षले अर्को अध्यक्षलाई अधिवेशनपूर्व प्रतिस्थापन गर्न सक्दैन । बरु एक अध्यक्षलाई त्यही धारको समूहले चाहेमा त्यो सवाल त्यही समूहको फरक प्रतिनिधित्वको लागि गर्न सक्छ । तर यो तर्क पनि किन बलियो छैन भने, कतिपय नेताहरुले समूहलाई भिन्नरुपमा लिन थालेका छन् । यो वैचारिक सुरक्षा र सन्तुलन महाधिवेशनसम्म कायम राख्नको लागि गरिएको हो । एकमात्र अध्यक्ष हुँदा वैचारिकरुपमा अर्को पक्षलाई कमजोर पार्ने काम हुन सक्छ र अहिलेको विवादले त्यो देखाएको पनि छ ।
त्यसकारण नेकपामा दुई अध्यक्ष निर्णयगत र वस्तुपरक आवश्यकता हो । बरु केपी ओलीको सट्टामा पूर्व एमालेका नै अरु नेताहरु वामदेव गौतम, झलताथ खनाल, माधवकुमार नेपाल अध्यक्ष बन्ने र प्रचण्डको ठाउँमापूर्वमाओवादीका अन्य नेताहरु अध्यक्ष बन्न सक्छन् भन्ने सवाल केही बलियो भने हुन सक्ला । तर विवादका कारण एकल अध्यक्ष बन्न सक्ने हुँदैन । एमालेका केही नेताहरुले प्रचण्डलाई एकल अध्यक्षको लागि लबिङ गर्नु आत्मघाती र पार्टी एकताको मर्म विपरीत हो । त्यस्तै प्रचण्डलाई अध्यक्षबाट हटाउनु पनि उचित हुन सक्दैन ।
अर्कोतर्फ एमालेले लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको हो । साम्यवादमा आउने चरणलाई परम्परागतरुपमा उच्च कोटि र जनताको लोकतन्त्रको रुपमा हेरिने गरेकोमा एमालेले त्यसलाई अस्वीकार गरेको हो भने, माओवादीले त्यो अवस्थालाई मनोटनस र कम्युनिस्टहरुको कमजोरीकै कारण रुस र पूर्वी युरोपमा कम्युनिस्ट व्यवस्था ढलेको भन्ने गरे पनि उनीहरुको औपचारिक दस्ताबेजले पूर्ण लोकतन्त्रप्रतिको आस्थालाई प्रस्टरुपमा कुन चरणसम्म मान्ने भन्ने देखाउँदैन । यी विवादका विषयहरुसमेत महाधिवेशनबाट निर्णित हुनेछन् । बहुमतले उचित निकास लिनेछ ।
ओली विरोधी समूहमा कमसेकम वामदेव, प्रचण्ड, नेपाल र झलनाथ छन् । सबैको हैसियत उस्तै छ । यो गठबन्धन ओलीको विरुद्धमा भए पनि उनीहरुलेबहुमतबाटै पार्टीको अलग धार बनाएमा वा पार्टी फुटेमा पनि पदको लागि अझै विवादित हुनेछ । प्रचण्डलाई मुख्य पद दिन उनीहरु तयार हुने छैनन् । माधवकुमार नेपालको ओलीसँग तिक्तता भए पनि उनीहरुको लाइन एउटै छ । दुवैको लोकतन्त्रप्रति आस्था प्रबल भएको देखिन्छ । झलनाथ पार्टी अध्यक्ष हुँदा उनले नेकपा एमालेलाई सोसलिस्ट इन्टरनेसनलको सदस्य बनाउन चाहेका थिए जुनको नेपाली कांग्रेस पहिलादखि नै सदस्य छ । वामदेव गौतमको धार व्यवहारवादमा आधारित र यदाकदा ढुलमुलेजस्तो पनि देखिन्छ ।
ओलीले अब चुनाव पनि नलड्ने र पार्टी अध्यक्ष पनि नबन्ने भनेपछि वामदेव गौतमसमेतका नेताहरु ओली समूहमा नै एक भएर फेयर प्लेमा लाग्न सक्छन् । वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेलहरुले आगामी दिनका लागि पदहरुको बारेमा सहमति बनाउन सक्छन् । किनभने पार्टीको चुनाव करिब७ महिनामा र आमचुनाव २ वर्षभित्र हुँदैछ । यो कुनै लामो समय होइन । यस समयसम्म पर्खनाले दलभित्र पदको चरम लिप्साजस्ता कुरा जनतामा जाँदैनन् ।
अर्कोतर्फ माओवादी नेताहरुले हिसात्मक आन्दोलनमा गरेका कार्यले गर्दा उनीहरुसँग पीडितहरुले जहिले पनि बदला लिन सक्छन् । उनीहरुकै क्याडरहरु पनि असन्तुष्ट भएको देखिएको छ । दल फुटेपछि वा सत्ताबाट बाहिरिएपछि द्वन्द्वकालका मुद्दा बल्झने र जनताको आक्रोशलाई एमालेको पर्दाले छोप्न सकिने अवस्था रहँदैन । किनभने उनीहरुको जनतामा पकड कम हुँदै गएको छ । त्यो प्रचण्ड र नेपालसमेतको लागि कठिन हो । यही कारणले पनि प्रचण्डहरु बार्गेनिङमा कायम रहने र पार्टी फोरिहाल्ने पक्षमा रहने सम्भावना कम छ, बरु उनीहरुले दलमा नै उचित हैसियतको लागि अधिवेशनमा समेत आफ्नो साख कायम राख्नु उपयुक्त सम्झेको हुन सक्छ । वामदेव गौतम पनि सबै कुरा महाधिवेशन र आमचुनावसम्मको लागि तयारी हुँदै समाधान खोजिनुपर्दछ भन्नेमा सहमत हुन सक्छन्। त्यो नै सबैभन्दा उपयुक्त पनि देखिन्छ । यसले वामदेवको उचाइ पनि बढ्नेछ ।
यद्यपि विहारका दवंग नेता साहाबुद्धिनलाई नयाँ पार्टीमा प्रवेश गरेको समयमा विहारमा र तपाईंको क्षेत्रमा पूरा सामन्तवाद छ र तपाईंको सामन्ती हैकम छ भनिन्छ नि ! भन्दा उनले भनेका थिए– ‘म नै समाजवादी भएपछि सामन्तवाद कसरी हुन्छ ?जबकि उनी समाजवादी भए पनि उनको व्यवहार त उस्तै थियो । नेपालमा पनि धेरै कुरा जनतालाई सुख दिने हैन, केवल सुनाउने र भाषणको ब्रान्डमात्र दिने काम भएको छ ।
जे होस्, पूर्वएमालेको दुई तिहाइ र पूर्वमाओवादीको एकतिहाइ हैसियत भएकोमा एमालेले माओवादीलाई मात्र अध्यक्ष दिनु र माओवादीले एमालेलाई मात्र अध्यक्ष दिनु भनेको अहिलेको अवस्थामा अत्यन्त अस्वाभाविक हो, अर्को पक्षको तेजोवध नै हुनु हो । सरकारमा पनि ठूलो समूहले प्रधानमन्त्री लिनु र अर्को पक्षले सम्मानजनक पदहरु पाउनु स्वाभाविक हो । यसमा सबैले सोचेको नै हुनुपर्दछ ।
त्यसैले दलमा समूह नै भएको भन्दा पनि ओली समूहमा ओलीका उत्तराधिकारी छन् र प्रतिस्पर्धी छैनन् तर अर्को समूहमा ओलीको विरुद्धमा भएको एकता समूहको भागमा केही पद परेमा भागवण्डामा कठिन विवाद हुन्छ । यो पनि सबैले बुझ्नुपर्ने विषय हो । यस अर्थमा ओली नेकपामा सुरक्षित नेता हुन् । उनीसँग तालमेल गरेर नै उपयुक्त निकास निस्कन्छ भन्नेमा स्वयं वामदेव गौतम पनि क्रमशः कन्भेन्स भएजस्तो देखिएको छ । आउँदा दिनमा मिलाउनको लागि प्रधानमन्त्री, सभामुख, राष्ट्रपति, उपराष्ट्रपति, बलिया मन्त्रालय र पार्टीका अध्यक्ष,महासचिव, उपाध्यक्षजस्ता पद पनि छन् । ती पदलाई समायोजित गर्न ओलीलाई अर्को पक्षलाई भन्दा सजिलो छ भन्ने वामदेवले पनि बुझेकै हुनुपर्दछ ।
अहिले दल फुटेमा पनि दलीय शक्ति सन्तुलन केपी शर्मा ओलीको पक्षमा रहेको तथ्य,संख्या र उनका सहयोगीहरुका पदीय अवस्था तथा उनका विपक्षमा रहनेहरुको गठबन्धनको सीमाले देखाएका छन् । त्यसैले नेकपाका नेताहरुले बार्गेनिङ गर्दछन् तर दल फोर्दैनन् भन्ने देखिन्छ । नेताहरुले अब बार्गेनिङभन्दा पार्टीका ग्रास रुटमा ध्यान दिनु नै बढी उयुक्त हुने समय पनि आएको देखिएको छ । राजनीति मात्र हैन जीवन नै त्यति कठिन छैन । यसलाई इच्छामा आधारित इष्र्या र महत्वाकांक्षाहरुले बोझिलो एवं झन्झटिलो बनाइदिएका छन् । समग्र परिवेशको म पनि एक हिस्सामात्र त हुँभन्ने सोच र व्यवहारले जीवन एवं राजनीतिलाई सरल बनाउँथ्यो कि !

प्रतिक्रिया दिनुहोस्