कोरोना बिरामीले यौनसम्पर्क गर्दैन त ?



– लक्ष्मण अधिकारी

बिरामीको संख्या घट्दै गएको देखाइए तापनि कोरोना संक्रमणको खतरा अन्य मुलकमा भन्दा नेपालमा धेरै रहेको देखिएको छ । किनकि नेपालमा अधिकांश बिरामीमा लक्षण नदेखिने समस्या रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणको पुष्टि भएका नेपालका बिरामीमध्ये ०.३ प्रतिशतलाई मात्र परीक्षणअघि रोगको लक्षण देखिएको थियो । अर्थात् ९९.७ प्रतिशत बिरामीलाई कोरोना संक्रमणको कुनै लक्षण देखिएको थिएन । विज्ञहरुका अनुसार यस्तै लक्षण नदेखिनेबाट रोग संक्रमण हुने जोखिम धेरै हुन्छ । हाल कोरोनाका बिरामीहरुको संख्या घटेको देखिनुमा साँच्चिकै बिरामीहरु घटेको नभई परीक्षण नै घटाइएकाले भएको हो भन्ने विज्ञहरुको धारणालाई पनि बेवास्ता गरिहाल्न सकिन्न । त्यस कारणले पनि नेपालीहरुले कोरोनाबाट बच्न मास्क लगाउने, हातको सरसफाइ गर्ने र सामाजिक दूरी कायम गर्ने कार्य लामो समय पालना गर्नुपर्ने देखिन्छ ।

विशेष गरी भीडभाडमा जाने, अरुको नजिक बसेका मानिसहरुमा र भेन्टिलेसन नभएको कोठामा बस्नेहरुमा रोग सर्ने जोखिम
बढी हुन्छ ।

यसका साथै यौनसम्पर्कबाट पनि कोरोना सर्न सक्ने खतरा रहेकाले यसतर्फ पनि सावधानीका उपाय अपनाउनुपर्ने हुन्छ । हुन त अनुसन्धानकर्ताहरुले कोरोनाको गम्भीर बिरामीबाट मात्र भाइरस सर्न सक्ने दाबी गरेका छन् ।

युनिभर्सिटी अफ उथ स्कुल अफ मेडिसिन, म्यान्स हेल्थका निर्देशक डा. जन हटलिङका अनुसार कोभिड–१९ बिरामीको वीर्यमा केही मात्रामा भाइरस पाइएको छ । कोभिड–१९ भएका ३४ जना चिनिया पुरुषलाई समावेश गरिएको अध्ययनमा रोग लागेको एक महिनापछि उनीहरुको वीर्य परीक्षण गर्दा कोभिड–१९ पाइएको थिएन, तर अर्को अध्ययनमा ३८ जना बिरामी पुरुषहरुमध्ये ६ जनाको वीर्यमा भाइरस पाइएको थियो । यो अध्ययन गम्भीर बिरामीहरुमा गरिएको थियो । अनुसन्धानकर्ता हटलिङ भन्छन्, ‘गम्भीर बिरामीमा भाइरस लोड बढी हुने भएकाले यस्तो भएको हुन सक्छ । गम्भीररुपमा बिरामी भएको मानिसले यौनसम्पर्क गर्दैन, बिरामीले सामाजिक दूरी पनि कायम गर्ने भएकाले ६ फिट टाढाबाट यौनसम्पर्क हुन सक्तैन’ भनेर तर्क गरेका छन् । तर ९९.७ प्रतिशत बिरामीमा कोरोनाको लक्षण नै नदेखिने अवस्थामा लक्षणविहीन यस्ता संक्रमितको वीर्यबाट कोरोना सर्छ कि सर्दैन रु यो चासो र अनुसन्धानको विषय बनेको छ ।

नेपालको फरक तथ्यांक

केही विकसित मुलुकका कोरोना संक्रमितभन्दा नेपालका संक्रमितमा अन्य केही तथ्यहरु पनि फरक रहेको देखिन्छ ।
सबैभन्दा बढी कोरोना संक्रमित भएको विकसित मुलुक अमेरिकामा प्रति १० लाख जनसंख्यामा कोरोनाका बिरामी ९९४६ जना छन् भने नेपालमा ५७४ जान मात्र छन् । यस्तै गरी कोरोनाबाट भइरहेको मृत्यु पनि अमेरिकामा प्रति १० लाख जनसंख्यामा ४१३ जना छन् भने नेपालमा १ जना मात्र छ । यो मृत्युदर भारत र बंगलादेशमा क्रमशः १६ र १४ छ भने भूटान र श्रीलंकाको स्थितिचाहिँ नेपालको भन्दा राम्रो देखिन्छ । तर पनि यससम्बन्धी तथ्यांक अन्य केही विकसित मुलुकहरुको भन्दा नेपालको राम्रो रहेको छ । जस्तो :

बल्र्डोमिटरले दैनिकरुपमा प्रकाशित गर्ने तथ्यांकमा नेपालमा कोरोनाको कारण गम्भीर बिरामी भएकाहरुको संख्या प्रायः देखिँदैन र मृत्यु भइरहेकाहरुको तथ्यांक हेर्दा पनि धेरैजसो कोरोना मात्रको कारणले भन्दा अन्य रोगले ग्रस्त भएर मृत्यु भएको देखिन्छ । साथै स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अस्पतालबाट निको भएर फर्किनेहरुको संख्या पनि नेपालमा ६० प्रतिशतभन्दा बढी छ, जुन अन्य धेरै मुलुकहरुको भन्दा राम्रो छ । कोरोनाको बिरामी गम्भीर हुने तथा मृत्यु हुने जस्ता कुरा बीसीजी र रुबेलाविरुद्धको खोप, भिटामिन डीको स्थिति, शारीरिक सक्रियता, खानपान, वंशाणुगत विशेषता आदि कुरामा भर पर्ने विशेषज्ञहरुले बताउँदै आएका छन् ।

भ्रम र यथार्थ

  •  साबुन–पानीले हात धुनु वा स्यानिटाइजर लगाउनुको सट्टा ह्यान्ड ड्रायरले ड्राइ गरेर कोरोना
    भाइरस जाँदैन ।
  • निमोनियाको भ्याक्सिन लगाउँदैमा कोभिड–१९ बाट बच्न सकिन्न ।
  • दिनदिनै सलाइन पानीले नाक सफा गरेको भरमा कोरोना भाइरस संक्रमण हुनबाट बचिँदैन ।
  • लसुन खाएर कोरोनाबाट बच्न सकिने प्रमाण अहिलेसम्म पाइएको छैन ।
  • एन्टिबायोटिकले ब्याक्टेरियाबाट मात्र बचाउन सक्छ, भाइरसबाट बचाउन सक्तैन ।
  • कोभिड–१९ बाट बच्न कुनै निश्चित उपचार वा भ्याक्सिन छैन, लक्षणहरुको उपचार मात्र गर्ने हो ।
  • चिसो मौसम, हिउँले कोरोना भाइरसलाई मार्छ भन्ने कुरा गलत हो ।
  • ५ जी मोबाइल नेटवर्कले कोभिड–१९ फैलाउँछ भन्ने कुरा गलत हो ।
  • कोभिड–१९ झिँगाले सार्दैन ।
  • खाना वा सुपमा खुर्सानी राखेर खायो भने कोभिड–१९ लाग्दैन भन्ने कुरा भ्रम मात्र हो ।
  • जुत्ताबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै कम छ ।
(स्रोत : डब्लुएचओ)

कोरोना भाइरसको सम्बन्धमा अहिले विभिन्न अफवाह र भ्रमहरु पनि फैलिने गरेको छ । कोभिड–१९ वैज्ञानिक तथा चिकित्सकहरुका लागि पनि नयाँ भएकोले यससम्बन्धमा निरन्तर अनुसन्धान गरेर नयाँ–नयाँ तथ्यहरु बाहिर ल्याउने काम भइरहेको छ । प्रस्तुत छ यस्तै उपयोगी केही तथ्यहरु :

हरेक कोरोनाको बिरामीबाट निरोगी मानिसलाई भाइरस सर्ने सम्भावना उत्तिकै हुन्छ कि फरक ?

चिकित्सकहरुका अनुसार कुनै बिरामीबाट अरुलाई रोग सर्ने सम्भावना मुख्यतः उसको भाइरल लोडमा भर पर्छ । जोन्स हप्किन्स युनिभर्सिटी स्कुल अफ मेडिसिनका भाइरोलोजिस्ट डा। राफेलका अनुसार भाइरल लोड भनेको बिरामीको नाक, मुखबाट लिइएको स्वाब अर्थात् स्याम्पलको निश्चित मात्रामा हुने भाइरसको संख्या हो । यदि भाइरल लोड बढी छ भने उक्त बिरामीबाट अरुमा रोग संक्रमण हुने खतरा धेरै हुन्छ । साथै संक्रमण हुने व्यक्तिको अन्य स्वास्थ्य अवस्था, वंशाणुगत प्रवृत्तिलगायत अरु अज्ञात परिस्थितिहरुमा पनि संक्रमण भर पर्छ ।

धूमपान गर्नेलाई कोभिड–१९ को बढी जोखिम हुने कुरा सही हो ?

इम्पेरियल कलेज लन्डनका रेस्पिरेटरी मेडिसिनका प्रा.डा. निकोलसका अनुसार पहिले नै स्थापित मान्यताअनुसार धूमपान गर्नेहरु रोग संक्रमणको बढी जोखिममा हुन्छन् । उदाहरणका लागि फ्लु हुने सम्भावना पाँच गुणा र निमोनिया हुने सम्भावना अरुलाई भन्दा दुई गुणा बढी हुन्छ ।

२४ लाख मानिसहरुबीच गरिएको युकेको जोय सिम्टम स्टडीअनुसार धूमपान गर्ने बानी भएकाहरुमा क्लासिक कोभिड–१९ का लक्षणहरु जस्तो– कफ, ज्वरो र सास फेर्न गाह्रो हुने समस्या भएको पाइएको थियो । त्यस्तै गरी अन्य लक्षणहरु सुँघ्ने क्षमतामा ह्रास भएको पाइएको थियो, जुन कोभिड–१९ को विशेष लक्षण हो ।

धूमपान त्याग गर्ने हो भने कोभिड–१९ को जोखिम घटाउने मात्र होइन कि स्वास्थ्य प्रणाली तनावमा भएका बेला हुन सक्ने हृदयघात र स्ट्रोकको खतरालाई पनि कम गर्न सकिन्छ ।

 

पब्लिक स्विमिङ पुलमा नुहाउन जाँदा कोभिड–१९ सर्ने खतरा कत्तिको हुन्छ ?

अमेरिकास्थित पुड्र्यु युनिभर्सिटीको वातावरण इन्जिनियरिङका प्रा।डा। अर्नेस्टका अनुसार वाटर पुल, हट ट्युब र वाटर पार्कसमा जाने मानिसहरुलाई सार्स, कोभिड–१९ संक्रमण हुने जोखिम रहन्छ । रोग सार्ने माइक्रोबियलहरु राम्ररी निःसंक्रमण गर्नुपर्छ । यति गरेर पनि हावाबाट र कुनै प्रदूषित वस्तु वा स्थानबाट कोभिड–१९ संक्रमण हुन सक्ने खतरा भने टर्न सक्तैन । त्यसकारण स्विमिङ पुलमा जाँदा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र उपयुक्त सरसफाइ गरेर कोभिड–१९ को संक्रमण हुने सम्भावनालाई न्यूनीकरण गर्नुपर्छ ।

गर्भवती महिलालाई कोभिड–१९ को जोखिम बढी हुने हो ?

स्विट्जरल्यान्डस्थित लउसान युनिभर्सिटी हस्पिटल प्रसूति विभागका प्रमुख डा। डेभिडका अनुसार गर्भवती महिलालाई गम्भीर रोगहरुको संक्रमणको दर र वृद्धि हुने क्रम गर्भवती नभएका महिलाको जत्तिकै नै हुन्छ । अहिलेसम्म गर्भवतीबाट भ्रूणमा कोभिड–१९ रोग सरेको प्रकाशमा आएको छैन । आमा र शिशु दुवै स्वस्थ रहेको अवस्थामा प्राकृतिकरुपमा हुने प्रसूतिमा जोड दिनुपर्छ । प्रसूतिका क्रममा र शिशु जन्मिइसकेपछि पनि यसमा सम्लग्न हुने अन्य मानिसहरुले अनिवार्यरुपमा मास्क लगाउने र हातको सरसफाइ गर्नुपर्छ । यदि आमालाई संक्रमण भएको छ भने बच्चालाई छुट्टै राखेर संक्रमण हुनबाट बचाउनुपर्छ ।

कोभिड–१९ पैसाबाट सर्छ कि सर्दैन ?

युनिभर्सिटी अफ वासिङ्टन, स्कुल अफ पब्लिक हेल्थका माइक्रो बायोलोजिस्ट डा। मेर्लिन रोबर्टसको अनुसन्धानअनुसार रोग सार्ने ब्याक्टेरिया कागजको पैसामा पाइने गरेकोले रोग सर्ने सम्भावना हुन्छ तर कागजको पैसामा कोरोना भाइरसका विषाणु देखिएको कुरा सामान्य जानकारी मात्र छ । रोगीले छोएको वस्तु, कागजको पैसा जस्तोबाट सरेको प्रमाण पाइएको छैन । कुनै वस्तुमा बिरामीले छुँदा कोरोना भाइरस स¥यो भने कति समयसम्म रहन्छ भन्ने स्पष्ट भएको छैन । केही मिनेटदेखि घण्टौँसम्म रहन सक्ने कुरा तापक्रम, ह्युमिडिटी र वस्तुको सतहको प्रकारमा भर पर्छ । केही देशमा पैसा धुने वा निःसंक्रमण गर्ने गरिएको छ । कागजको पैसा र क्रेडिट कार्डबाट रोग सर्छ कि भनेर चिन्ता गर्नुभन्दा रोगबाट बच्न मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, धेरै मानिससँग भेटघाट नगर्ने कुरा नै महत्वपूर्ण हो ।

कोभिड लागेर मृत्यु भएको शरीरबाट भाइरस सर्छ कि सर्दैन ?

जोन हप्किन्स स्कुल अफ पब्लिक हेल्थका सिनियर रिसर्चर टोलबर्ट जी एनका अनुसार सामान्यतया मृतशरीर संक्रामक हुँदैन र अहिलेसम्म कोभिड–१९ बाट संक्रमित व्यक्तिको मृत शरीरबाट यो रोग संक्रमण भएको प्रमाण पाइएको छैन ।

सामाजिक दूरीलगायतका केही सावधानी अपनाएर आफ्नो परम्परागत धार्मिक तथा सांस्कृतिक परम्पराअनुसारको विधिबाट दाहसंस्कार गर्न सकिन्छ । एन ९५ मास्क, ग्लोब, खुट्टा, टाउको र आँखा छोप्ने पीपीई उपकरण लगाउने, बराबर साबुन–पानीले हात धुने एवं स्यानिटाइजर लगाउने जस्ता सरसफाइका उपाय अवलम्बन गरेर दाहसंस्कार गर्न सकिन्छ । पीडित पक्षलाई मर्यादित तरिकाले दाहसंस्कार गर्न दिनु महत्वपूर्ण हुन्छ र परिवारहरुलाई सुरक्षित पनि राख्नुपर्छ ।

एयर कन्डिसनिङ सिस्टमले भाइरस संक्रमणमा सहयोग गर्ने सत्य हो ?

जोन हप्किन्स, वातावरणीय स्वास्थ्य विभागका निर्देशक डा। एनएम रुलका अनुसार एयर कन्डिसन र भेन्टिलेसनले विशेष गरी घरभित्र मानिसमा हुन सक्ने संक्रमणको जोखिम घटाउन सहयोग गर्छन् । यदि भेन्टिलेसन सिस्टम राम्रो अवस्थामा छ भने संक्रमणको खतरा कम हुन्छ । एयर कन्डिसन मेसिनलाई बेला–बेलामा मर्मत तथा सर्भिसिङ गरेको हुनुपर्छ । राम्रो भेन्टिलेसनको वातावरणमा पनि मानिसले व्यक्तिगत दूरी कायम गर्ने, उपयुक्त फेसमास्क लगाउने र बराबर साबुन–पानीले हात धुनेचाहिँ गर्नुपर्छ । अहिलेसम्म राम्रो अवस्थामा भएको एअर कन्डिसन, भेन्टिलेसन वा अरु किसिमका जलवायु नियन्त्रण गर्ने प्रणालीले कोभिड–१९ संक्रमण गर्न सहयोग गर्ने कुरा प्रमाणित भएको छैन ।

आँखाबाट भाइरस प्रवेश गर्छ कि गर्दैन ?

जोन हप्किन्स स्कुल अफ पब्लिक हेल्थका आँखा तथा सरुवा रोग विशेषज्ञ प्रोफेसर डा। अल्फ्रेडका अनुसार आँखाबाट कोभिड–१९ प्रवेश गरेको प्रमाण अहिलेसम्म पाइएको छैन । तर जे भए पनि आँसुमा र आँखाको सतहमा यो भाइरस रहेको पाइएको छ । विशेष गरी गम्भीर खालका बिरामीहरुको आँसु र आँखाको सतहमा यो भाइरस पाइएकोले त्यस्ता बिरामीको आँखा तथा आँसु नछुनु नै उपयुक्त हो । तर आँखाबाट भाइरस संक्रमण हुन्छ भन्ने प्रत्यक्ष प्रमाण भने अहिलेसम्म पाइएको छैन, संक्रमणको सम्भावना छ भनेर अनुमान मात्र गरिएको हो । अरुलाई छोएपछि साबुन–पानीले हात धुनु सुरक्षित रहने उपाय हो ।

कोभिड महामारी भइरहेकै बेला रक्तदान गर्नु सुरक्षित हुन्छ कि नाइँ ?

स्टानफोर्ड ब्लड सेन्टरका कार्यकारी अधिकृत हरप्रीत सन्धूका अनुसार रक्तदानका क्रममा कोभिड–१९ को संक्रमणको जोखिम हुने कुनै अवस्था ज्ञात भएको छैन । रक्तदान प्रक्रिया उच्च स्तरको नियमन भइरहने सुरक्षित प्रक्रिया हो । अधिकांश रक्तदान केन्द्रहरुले थप सुरक्षाका उपायहरु अपनाउँदै सामाजिक दूरी कायम गर्ने, पीपीईको प्रयोग गर्ने गरेकै हुन्छ । यसको साथै रक्तदाता रक्तदान गर्ने दिन पूर्णतः स्वस्थ हुन अनिवार्य छ । त्यस्ता रक्तदान केन्द्रहरुमा कोभिड–१९ का बिरामीहरु आउने सम्भावना ज्यादै न्यून छ । अहिलेसम्म रक्तदानका क्रममा कोभिड–१९ सरेको रेकर्ड रिपोर्ट भएको छैन ।

कोभिड–१९ हावाबाट सर्छ कि सर्दैन ?

विश्व स्वास्थ्य संघले हावाको माध्यमबाट पनि कोभिड–१९ संक्रमण हुन सक्ने तथ्य गत जुलाई ७ मा पहिलोपटक सार्वजनिक गरेको छ ।

३२ देशका २३९ जना वैज्ञानिकहरुले गरेको अध्ययनमा उक्त तथ्य आधारित रहेको बताइएको छ । संघले यसअघि कोरोनाबाट संक्रमित व्यक्तिको मुख र नाकबाट निस्किएका साना थोपाहरुबाट यो रोग अरुमा फैलिने बताउँदै आएको थियो । विश्व स्वास्थ्य संघका टेक्निकल प्रमुखले हावामा कोरोना भाइरस पाइएकोले हावाबाट सर्न सक्ने सम्भावना देखिएको तर यो रोग हावाबाट सर्छ भन्ने निश्चितरुपमा भन्न नसकिने बताएका छन् । जे भए पनि विशेष गरी भीडभाडमा जाने, अरुको नजिक बसेका मानिसहरुमा र भेन्टिलेसन नभएको कोठामा बस्नेहरुमा रोग सर्ने जोखिम बढी हुन्छ ।

कोरोना भाइरसको खतरा कहिलेसम्म रहला ?

जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीका डा। इरिक टोनरका अनुसार यो महामारी तबसम्म रहन्छ जबसम्म भ्याक्सिन लिएर वा कोभिड–१९ बाट बिरामी भई निको भएर अधिकांश मानिसहरुको प्रतिरक्षा प्रणाली कोरोनासँग लड्न सक्षम हुँदैन । सञ्चारमाध्यमहरुमा आइरहेको कम्तीमा १८ महिनामा कोरोना हराउँछ भन्ने कुरा १८ महिनाअघि यसको विरुद्धको खोप तयार हुँदैन भन्ने अनुमानमा आधारित छ । तर त्यो खोप तयार भएर मानिसमा प्रयोग हुने अवस्थामा आउन कति समय लाग्छ, निश्चितरुपमा अझै भन्न सक्ने स्थिति छैन । १८ महिना वा सो भन्दा बढी पनि लाग्न सक्छ । यो रोग वेभका रुपमा फर्की–फर्की आइरहेकाले कठिन भए पनि सामाजिक दूरी हाललाई कायम राख्नुपर्छ ।

कारोना भाइरसबाट बच्नको लागि लगाइने धेरै भ्याक्सिनहरुको परीक्षण भइरहेको भए तापनि अहिलेसम्म कुनै पनि भ्याक्सिन तयार भइसकेको छैन । साथै रोग लागेपछि गरिने उपचारका लागि पनि कुनै औषधि विकास भइसकेको छैन । हाल लक्षणहरुको मात्र उपचार गरिन्छ । कोरोना भाइरस लागेका ८० प्रतिशत बिरामी अस्पतालको उपचारविना नै निको हुन्छन् । पाँच जनामध्ये एक जनाचाहिँ गम्भीर हुने र स्वास फेर्न पनि गाह्रो हुने गरेको पाइएको छ । खासगरी मुटु, फोक्सो, मधुमेह, क्यान्सर, उच्च रक्तचाप भएका मानिस गम्भीर हुने खतरा हुन्छ ।

औषधिको विकास नभएको अवस्थामा यसबाट बच्ने उपाय भनेको सामाजिक दूरी कायम गर्ने, बेला–बेलामा साबुन–पानीले हात धोइरहने र मास्क लगाउने नै हो । साथै बजारमा कुनै पनि सामान किन्न जाँदा सामान छोइसकेपछि स्यानिटाइजर लगाउने वा राम्ररी साबुन–पानीले हात नधोएसम्म नाक, मुख, आँखा नछुने र केही नखाने पनि । त्यसै गरी किनेर ल्याएका तरकारी र फलफूल पनि हात धोएर राम्ररी पखाल्नुपर्छ ।

(साधना मासिकबाट साभार)

प्रतिक्रिया दिनुहोस्