म मेरा दुई सन्तानका लागि सकृय भएर बाँच्न चाहन्छु : लक्ष्मी



भगवती तिमल्सिना,काठमाडौँ ।

एउटी आमाका लागि आफ्नो शरिर भन्दा पनि आफ्ना सन्तान कति प्यारो हुन्छ । भर्खर ३४ बर्षको उर्जासिल उमेरमा ओछ्यान परेर छोराछोरीले सिहार्नुपरेको दर्दनाक अवस्थामा रहेकी एक महिलाल आफ्ना लागि भन्दा पनि बच्चाहरुका लागि बाच्न चाहन्छिन् । तर उनीसँग नाम जस्तै उनको साथमा धन भैदिएको भए आज यो गति हुने थिएन ।

गरिबीको चपेटामा परेकी यी महिलालाई श्रीमानले मात्र हैन नियतिले पनि खेलबाड गरेझैँ लाग्छ ।तत्काली रामेछाप दुरागाउ गाविस निवासी ३४ बर्षिया लक्ष्मी कार्की १२ बर्ष अघि रुखबाट लडेर मेरुदण्डमा ठूलो चोट पुगेसँगै उनका सपना र योजना चकनाचुर भयो । रुखबाट लडेपछि कम्मर मुनीको भाग पुरै नचल्ने भयो । यो अवस्थामा जन्मदिने बाबुले बनेपा स्थित शिर मेमोरियल अस्पतालमा ल्याई उपचार गराउनुभयो । लक्ष्मी र उनका बुबालाई डिपोजित भनेको के हो थाहा रहेनछ ।

लक्ष्मीे हरेक शब्दैपिच्छे पिडाले भरिएको स्वरमा आँसु झार्दै भन्नुहुन्छ-अस्पतालले पहिला डिपोजित गर अनि अप्रेशन गर्छु भनिरहँदा डिपोजित भनेको के हो भन्ने नबुझेर बुबाले गाउँबाट एकजना भाईलाई बोलाउँनुभयो । दाई अस्पताल आएर कुरा बुझ्दा पैसा जम्मा गर्नोस भनेको रहेछ । बुबासँग पैसा थिएन । गाउँमा जानुभयो दाजुभाईहरुसँग हार गुहार गर्नुभयो । कसैसँग पैसा नभएपछि एउटा खेत बेचेर मेरो मेरुदण्डको अप्रेशन गराउनुभएको थियो । त्यसपछि म ह्वील चेयरमा हिड्न सक्ने भए । विस्तारै डाक्टरहरुको सल्लाह अनुसार नै बैशाकीको सहायताले बाहिर भित्र गर्न थाले ।

उहाँ थप्नुहुन्छ—मेरो विवाह भएर २ सन्तान एक छोरी र एक छोरा जन्मिसकेका थिए । श्रीमान विदेश जान्छु भन्नुभयो आफु यस्तो छु बालबच्चाको भविष्य राम्रो होला भनेर एकतोला सुनको गहना बेचेर र विदेश पठाए तर श्रीमान्ले त्यसपछि वास्ता गर्नुभएन र ५ बर्षदेखि अर्की केटी लिएर सम्पर्क विहिन हुनुभयो । म छोराछोरीका साथ उनीहरुको लालन पालन, शिक्षा दिक्षा दिने जिम्मेवारी काँधमा बोकेर बैशाखीको सहारामा बनेपामा कोठा भाडामा लिएर बस्न थाले ।

कोठाको भाडा, बच्चाहरुको स्कूल फी, लालनपालन, आफ्नो औषधि उपचारको ठूलो भारीले मलाई थिचेको थियो । सकी नसकी बैशाकी टेकेर बनेपाको सान फर्निचरमा काम गर्न थाले । दिन यसरी नै वित्दै थियो ५ महिना देखि पुनः मेरो कम्मर देखि मुनी चल्न छोड्यो । दिसा पिसाब आएको पनि थाहा हुन्न ।

खुट्टामा ब्याण्डेज लगाएर उत्तानो सुतेको शरिर ओल्टो कोल्टो फर्काउन नसक्ने अवस्थामा खाटमा लडिरहेकोछ, आँखाबाट अस्रुधारा आँसु बगाउँदै लक्ष्मीले सुनाएका बेदना सुन्ने जोकोहीको मन कुडिन्छ । लक्ष्मीका अनुसार उहाँका श्रीमानले ५ बर्ष अघि अर्की श्रीमती लिएर सम्पर्क बिहिन भएपछि अदालतको सहारा मागेको र एकबर्षपछि अदालतले श्रीमान नभेटेपनि न्याय दियो । तर ग्रामिण भेगको पाखामा म बैसाकी टेकेर बाच्न सक्ने अवस्था नभएर बनेपा बस्दै आएको छु ।

लक्ष्मीले आफ्नो शरिर नचलेपछि शिरमेमोरियल अस्पतालमा पुनः परिक्षण गराउँन पुग्नुभयो, उहाँलाई चिकित्सकले मेरुदण्डको नसा छिनेकोले अप्रेशन नगरि निको नहुने बताएकोे रहेछ । अस्पतालले उपचार महँगो हुने बताएपछि जिउदै मरेसरह भएर ओछ्यानमा लड्नुको विकल्प केही नभएको बताउँनुहुन्छ । यता लकडाउन पनि त्यतिनै बेला भयो । बालबालिकाले कति दिन जाउलो मात्र खानुपर्यो ।

यो अवस्था देख्दा म जिउँदै मरेको लाश जस्तो भएर लडि रहेको भान हुन्छ । कतिपटक त मैले बच्चाहरुको यो बिजोग देखेर मलाई बिष ल्याएर खान देउ पनि भनिसके । लक्ष्मीले यसो भनिरहँदा उहाँको गला अवरुद्ध भैसकेका थिए र उहाँको आँखाबाट बगेको आसुले सिरानी भिजि सकेको थियो ।

पछिल्लो समय आफुलाई ललितपुर इमाडोलका एक दाताले ५ हजार रुपैया सहयोग गरेपछि रासन पानी किन्न सकेको र अन्य दाताहरुले पनि सहयोग गर्ने इच्छा देखाउँनुहुँदा पुनः उपचार गरि निको भएर बालबच्चाका लागि बाच्ने आशा जागेको छ । उहाँले यति भनिरहँदा शिरमेमेरियल अस्पतालको प्राविधिक टोली आरडिटि परिक्षणका लागि कोठामै पुग्यो र उहाँको परिक्षण गर्यो ।

उहाँको यो अवस्थालाई नजिकैबाट नियाल्दै आउँनुभएका नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका पूर्व सभापति रघुबर चौ प्रधान भन्नुहुन्छ—एक समाजसेवीले सहयोगका लागि अनुरोध गर्नुभयो । मैले गएर हेरे । लक्ष्मीको वास्तमै दयनिय अवस्थामा देखे । म पुग्दा उहाँले व्यक्त गर्नुभएको पिडा अस्ह्य थियो । उहाँले अब म र मेरा सन्तानले आत्महत्या गर्नुको बिकल्प छैन भन्नुभयो ।

यो देखेपछि मैले वडा अध्यक्षको रोहबरमा एउटा समिति बनाएर नेपाल बैंक बनेपा शाखामा चल्ति खाता खोलिएको छ । ६ महिनाको लागि खाद्यान्न पनि जोहो भैसकेको छ । लक्ष्मीको स्वास्थ्य समस्या आजको भोली निको हुने नभै दीर्घकाल सम्म लम्बिने भएकाले बिरामी र उनका बालबालिकाका लागि कम्तिमा डेढ बर्ष सम्म खाद्यान्नको समस्या नहोस् भन्ने हेतुले नै खाता खोली खातामा पैसा जम्मा गर्न शुरु गरेका छौ । बिरामीको उपचार र बच्चाहरुको जिविकोपार्जनका साथै शिक्षा दिक्षाको चिन्ता छ ।

प्रधानले बनेपा अस्पताललाई अनुरोध गरि आरडिटि परिक्षण निःशुल्क गराएको र स्पाईनल इन्जुरी अस्पतालले हाललाई केही रकम जम्मा गरेर बिरामी कुरुवा सहित बिरामी पठाउँनुस उपचार गर्छौ भन्ने बचन दिएको जानकारी गराउनुभयो । बच्चाहरु पढ्दै गरेको विद्यालयका प्रधानाध्यापक मंगलबार लक्ष्मीको कोठामै पुगी बच्चाको पढाईको बिषयमा चिन्ता नलिन आश्वासन दिएर फर्किनु भएको लक्ष्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्