दश लाख दिए साढे तीन करोड ऋण ?


विमल विष्ट, डोटी
आफूहरूलाई रु. १० लाख दिएमा साढे ३ करोडको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाका अनुसार पक्राउ पर्नेमा जिल्लाको आदर्श गाउँपालिका–३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया तथा दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ का ३२ वर्षीय पदमराज भट्ट रहेका छन् ।

आफूहरू नेपाल बैंक लिमिटेडको शाखा अधिकृत भएको भन्दै कैलालीको टीकापुर नगरपालिकाकी ४४ वर्षीया एक महिलालाई रु. १० लाख दिएमा रु. साढे ३ करोडको ऋण पास गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनीहरू दुवैलाई डोटीको दिपायल सिलगढी नगरापलिका–४ पिपल्लाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाका साथबाट नेपाल बैंक लिमिटेड शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचरसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्ले जानकारी दिनुभयो ।

पक्राउ परेकाले कैलालीमा ठगी गरेका कारण कैलालीबाट नै मुद्दा चलाउने गरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी समक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी देउवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।