रामले लक्ष्मणलाई किन दिए माटोको पोका



राम, लक्ष्मण र सीता वनबासमा थिए। एक ठाउँमा वास बस्दा लक्ष्मणको मन कुभावले भरियो। ‘कैकेयीले वनबास त दाजु रामलाई मात्र दिएकी हुन्, मलाई होइन। फेरि मैले दाजु भाउजूको सेवा र यो वनबासको कष्ट अकार्थमा किन गरूँ ? यस्तै भावना मनमा आउँथ्यो।

रामले लक्ष्मणको भावदशा बुझेर उनलाई त्यहाँको थोरै माटो पोको पारेर लैजान भने। जबसम्म लक्ष्मणसंग त्यो पोको रहन्थ्यो उनको मन यस्तैयस्तै दुर्भावनाले भरिन्थ्यो र मतिभ्रष्ट हुन्थ्यो। तर जब उनी त्यो पोको छोडेर अन्त कतै जान्थे उनको मन पुनः निर्मल हुन्थ्यो र दाजुभाउजुका प्रति सदाझै अनन्य भक्तिभाव जाग्थ्यो।

त्यस माटोको कारणले नै यो भइरहेको भन्ने लागेपछि उनले दाजु रामसँग यसको कारण सोधे। रामले कारण बताउँदै भन्नुभयो– ‘भाइ, तिम्रो मनको विचलनका लागि तिमी दोषी छैनौ। यो सबै माटोको प्रभाव हो।

जहाँ जस्ता कर्म गरिन्छन् ती कर्मको प्रभाव त्यहाँको माटो र वतावरणमा लामो समयसम्म रहन्छ। जुन स्थानको माटो यस पोकामा छ त्यहाँ सुन्द र उपसुन्द नामका दुई राक्षसको निवास थियो। कठिन तपस्या गरेर ब्रह्मालाई प्रसन्न गरेपछि उनीहरूले अमर हुने वर मागे।

तर निशर्त अमरत्वको वरदान दिन ब्रह्माजीले पनि सक्दैनथे। ती दुई भाइका बीचमा बडा गजवको भ्रातृभाव र प्रेम थियो। त्यसकारणले उनीहरू परस्परको झगडाबाट मात्र आफ्नो मृत्यु होस् भनेर मागे र ब्रह्माजीले ‘तथास्तु’ भनिदिए।

आफूबीचमा त्यत्रो प्रेम र स्नेहभाव रहेकाले झगडाको कुनै सम्भावना नहुँदा अब आफू अमर बनेको उनीहरूले ठाने। आफ्नो यही घमण्डले गर्दा उनीहरूले देवतालाई पनि नानाप्रकारले सताउन थाले। सृष्टिमा व्यवधान हुन थाल्यो।

अति भएपछि ब्रह्माजीले तिलोत्तमा नामकी अप्सरा सृष्टि गरेर सुन्द र उपसुन्द कहाँ पठाइदिए। अब तिलोत्तमाको सुन्दरतामा मोहान्ध भएका दुवै असुरले तिलोत्तमा आफूले पाउनका लागि झगडा गर्न थाले। झगडा गर्दागर्दै आखिर उनीहरू दुबै भीषण युद्धमा उत्रिए र लडेर मरे।

वरिपरिका व्यक्ति, वस्तु र घटनाबाट हामी निरन्तर प्रभावित हुन्छौं। हामी सम्पर्कमा रहेका व्यक्तिका सकारात्मक भाइब्स वा तर·हरूबाट हामीलाई खुसी, सन्तोष, उत्साह र प्रेरणा मिलेको र नकारात्मक ऊर्जा हुने व्यक्तिबाट बेखुसी मिलेको हामीलाई पनि अनुभव भएकै कुरा हो !

प्रतिक्रिया दिनुहोस्