तनहुँका ३२ जना कोरोना संक्रमण मुक्त



मिला दरै, तनहुँ । 

दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि तनहुँका ३२ जना कोभिड १९ संक्रमण मुक्त भएका छन् । व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा बस्दै आएका उनीहरु आइतबार साँझ घर फर्किएका हुन् । उनीहरुको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

क्याम्पसको आइसोलेशनमा रहेका व्यास र भानु नगरपालिका, ऋसिङ र म्याग्दे गाउँपालिकाका संक्रमितहरुलाई उपचाररत थिए । उनीहरुको दोश्रो रिपोर्ट नेगेटिभ आएपछि आइतबार साँझ नै घर पठाइएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो । सोतीका अनुसार ऋषिङ गाउँपालिकाका १८, व्यास नगरपालिकाका ५, म्याग्दे गाउँपालिकाका ६ र भानु नगरपालिकाका ३ गरी ३२ जनाको कोभिड १९ रिपोर्ट नेगेटिभ आएको हो ।

जिल्लामा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपनि संक्रमण मुक्त भएर घर र्फकनेको संख्या पनि बृद्धि हुँदै गएको छ ।

शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन राखिएका ३४ जना संक्रमितहरु पनि यसअघि नै संक्रमण्मुक्त भई घर फर्किसकेका छन् । जिल्लामा कोरोना संक्रमण मुक्त हुने संख्या ६७ पुगेको छ ।

व्यास नगरपालिकाको १७ मध्ये सात, भानुको सात मध्ये तीन, शुक्लागण्डकीको नौमध्ये चार, ऋषिङको ४२ मध्ये २४, घिरिङको २६मध्ये २२, आँबुखैरेनीको चारमध्ये एक, म्याग्दे गाउँपालिकाको नौमध्ये छ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।
६ वर्षीय बालकमा संक्रमण

६ वर्षीय बालक सहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । व्यास नगरपालिकाका ६ वर्षीय बालक र शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । आइतबार दुई जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १४० पुगेको छ ।

जिल्लाको १० वटै स्थानीय तहले ४६ स्थानमा तयार गरेको एक हजार १४९ वेड क्षमताको क्वारेन्टाइनमा हाल ३३८ जना बस्दै आएको जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । यस्तै जिल्लामा चैत्र महिना यता भारत लगायत अन्य मुलुकबाट १८६ महिला र एक हजार ९३७ जना पुरुष गरी दुई हजार १२३ जना नागरिक जिल्ला भित्रिएका छन् ।

जिल्लाको ६ स्थानमा तयार गरिएको १७९ शैय्याको आइसोलेसनमा ६७ जना बस्दै आएका छन् । कोरोना परीक्षणका लागि जिल्लामा हालसम्म २९८ महिला र एक हजार ९३५ पुरुष गरी दुई हजार २३३ जनाको थ्रोयट पिसिआर विधिबाट गरिएको परीक्षणमा १४४ महिला र एक हजार ४८८ पुरुष गरी एक हजार ६३२ जनाको रिपोर्ट नेगेटिभि आएको छ । १४ महिला र १२६ पुरुष गरी १४० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ४६३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्