खानाबाट वंशाणु रोग नियन्त्रण



A woman serves a pilau rice dish to her family.
प्रा. जया प्रधान, (पीएचडी पोषण)

एको हप्ता महेशले वडा कार्यालयको पहलमा स्वास्थ्य क्याम्प सञ्चालन गरेका थिए । उक्त क्याम्पमा अन्य बासिन्दाहरूले झैँ महेशले पनि रगत जाँच गरे । हुन त महेश भर्खरै ३० वर्षमा लागेका छन् । आफ्नो बुबालाई मधुमेह भएको र यो स्वास्थ्य समस्या वंशाणुगत हुन्छ भन्ने कुरा सुनेको हुनाले उनले रगत जाँच गरेका थिए । रगत जाँच गर्दा उनको रगतमा चिनीको मात्रा १०० मि.लि.मा १७५ मि.ग्रा देखियो । धेरै देख्दा उनले विश्वास नै गर्न सकेनन् ।

क्याम्पमा ग्लुकोमिटरबाट जाँचेको फरक पनि हुन सक्छ भनी २ दिनपछाडि प्याथोलोजीमा खालिपेटमा पुनः रगत जाँच गराए । दोस्रोपटक रगत जाँच गर्दा पनि १०० मि.लि.मा १६९ मि.ग्रा. रिपोर्टमा देखाउँदा उनी आफूलाई पनि मधुमेह भयो भन्ने कुरामा विश्वस्त भए । बुबालाई मधुमेह भएकोले आफूलाई पनि यो समस्या देखिएकोले जीवनभर औषधि खानुपर्ने र खानामा पूरै परहेज गर्नुपर्ने कुरा सोचेर उनी साह्रै दुःखी भए ।

हो, मधुमेहजस्तै अन्य कतिपय स्वास्थ्य समस्या छन्– उच्च रक्तचाप, युरिक एसिड, मोटोपन, मुटुसम्बन्धी समस्या आदि । जुन वंशाणुगत कारणबाट पनि हुन सक्छ । परिवारमा बाजेबज्यै, आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा माथि उल्लिखित सम्स्यामध्ये कुनै छ भने दोस्रो पुस्तामा पनि यी समस्या हुने प्रबल सम्भावना हुन्छ । तर शतप्रतिशत नै यही एउटै वंशाणुको कारण भन्न मिल्दैन । महेशको बुबामा मधुमेह भएकोले उनमा पनि यो स्वास्थ्य समस्या देखिएको हुन सक्छ तर यसबाहेक अन्य विविध कारणहरू जस्तै– बढी तौल, शारीरिकरूपले निष्क्रिय रहनु, असन्तुलित तथा अस्वस्थकर भोजन, मद्यपान धूमपान आदि कारण पनि हुन सक्छ ।

भोजनमा प्रशस्त हरियो साग–तरकारी तथा ताजा फलफूल समावेश गरी उपभोग गर्दा शरीरको तौल ठीक राख्न मद्दत पर्याउनुको साथै उच्च रक्तचाप, रगतमा चिनीको मात्रा, कोलेस्टेरोल, चिल्लो पदार्थको मात्रा कम गराउँछ ।

हुन त माथि उल्लिखित स्वास्थ्य समस्याहरू हुनुमा परिवर्तन गर्न नसक्ने कारणहरू वंशाणु, उमेर, जाति विशेषलाई प्रमुख मानिएको छ । अर्कोतिर परिवर्तन गर्न वा परिमार्जित गर्न सक्ने– प्रतिकूल वातावरण, असन्तुलित खाना, निष्क्रिय जीवनशैली, मद्यपान, धूमपान, जुन थोरै प्रयासबाट पनि व्यवस्थापन गर्न सकिन्छ ।

परिवारका सदस्यमा यस प्रकारका पौष्टिक तथा स्वास्थ्यसम्बन्धी दीर्घ समस्या छन् भने शुरुबाटै यी समस्यासँग जोडिएका कारणहरू– खानपान, शारीरिक कसरत, व्यायाम, मद्यपान, धूमपानमा सजगता अपनाउन सकेमा, परिवर्तन गर्न नसक्ने कारण जस्तै– वंशाणुबाट हुन सक्ने स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न र जटिलतालाई कम गर्न सकिने हुन्छ । यस प्रकार वंशाणु नै स्वास्थ्य समस्याको प्रमुख कारण हो भनी दोष दिनुभन्दा दैनिक खानपान, शरीरिक क्रियाकलाप तथा सकारात्मक व्यवहारमा ध्यान दिन नितान्त जरुरी हुन्छ ।

१) सबै खाद्यसमूहबाट खाद्यपदार्थको छनोट गरी भोजनमा समावेश गर्नुपर्छ । प्रत्येक व्यक्तिको आवश्यकताअनुसार उचित अनुपातमा सबै खाद्यपदार्थ मिलाएर उपयोग गर्दा शरीरले ठीक मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन तथा खनिज तत्व प्राप्त गर्न सक्छ ।

२) यसै गरी दैनिक भोजनमा कन्दमूल, जरावर्ग तथा हरियो साग–तरकारी प्रशस्त मात्रामा समावेश गर्नाले आवश्यक मात्रामा फाइबर, भिटामिन र खनिज तत्व पाउन सकिन्छ । यसबाहेक मौसमअनुसारको ताजा फलफूल दैनिक भोजनमा दुईपटक समावेश गर्न सकेमा कार्बोहाइड्रेट, भिटामिन र खनिज तत्वको साथै घुलनशील र अघुलनशील फाइबर तत्व प्राप्त गर्न सकिन्छ । यस प्रकार भोजनमा प्रशस्त हरियो साग–तरकारी तथा ताजा फलफूल समावेश गरी उपभोग गर्दा शरीरको तौल ठीक राख्न मद्दत पुर्याउनुको साथै उच्च रक्तचाप, रगतमा चिनीको मात्रा, कोलेस्टेरोल, चिल्लो पदार्थको मात्रा कम गराउँछ ।

३) दूध तथा दूधबाट बनेका क्याल्सियमयुक्त खाद्यपदार्थ तथा पशु तथा वनस्पति स्रोतबाट प्राप्त हुने प्रोटिनयुक्त खाद्यपर्दाथहरू माछा, मासु, अण्डा, दूध, गेडागुडी आदि ठीक मात्रामा भोजनमा समावेश गरेमा शरीरलाई आवश्यक पर्ने क्याल्सियम तत्व र प्रोटिन प्राप्त हुन्छ । शरीरलाई कति क्याल्सियम र प्रोटिन आवश्यक हुन्छ भन्ने कुरा व्यक्तिको उमेर र अवस्थामा भर पर्दछ ।

४) मधुमेह, मुटुसम्बन्धी, उच्च रक्तचाप, कोलेस्टेरोेलजस्ता स्वास्थ्य समस्या कम गर्नमा फाइबरयुक्त खाद्यपदार्थले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पूरै अन्न, मकै, गहुँ, जौ, फापर, कोदो, दाल–गेडागुडी, साग–तरकारी, ताजा फलफूलमा प्रशस्त घुलनशील र अघुलनशील फाइबर तत्व हुने भएकोले यस प्रकारका खाद्यपदार्थ भोजनमा समावेश गर्दा परिमाणको हिसाबले धेरै देखिए तापनि तुलनात्मकरूपमा क्यालोरीको मात्रा कम हुने, पाचन, शोषणको प्रक्रिया ढिलो हुने भएकोले चिनीमा परिवर्तन हुन समय लाग्ने हुन्छ, जसले गर्दा रगतमा चिनीको मात्रा कम गर्न मद्दत पुर्याउँछ । साथै फाइबरयुक्त खाद्यपदार्थले कोलेस्टेरोल, चिल्लो पदार्थको मात्रा घटाउने भएकाले रक्तचाप नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी समस्या पनि कम गराउँछ । दैनिक भोजनमा २५ देखि ३० ग्राम फाइबर समावेश गर्नुपर्दछ ।

५) माथि उल्लिखित स्वास्थ्य समस्याहरूमा चिल्लो पदार्थको प्रकार र यसको परिमाणले प्रत्यक्ष प्रभाव पार्ने हुनाले दैनिक भोजनमा कुल क्यालोरीको करिब २५–३० प्रतिशत शक्ति चिल्लो पदार्थ विशेषतः वनस्पति स्रोतबाट प्राप्त चिल्लो पदार्थ जस्तै– मकै, भटमास, तोरी, सूर्यमुखी फूलको तेल भोजनमा समावेश गर्दा स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

६) विशेषतः उच्च रक्तचाप, मधुमेह, मोटोपना, मुटु तथा मिर्गौलासम्बन्धी समस्यामा नून तथा नुनिलो खाद्यपदार्थ एवम् सोडियमयुक्त पदार्थको प्रयोगमा सकेसम्म कम गर्न जोड दिइएको छ । दैनिक २३०० मि.ग्रा. एक वयष्क व्यक्तिको लागि सिफारिस गरिएको छ भने उच्च रक्तचाप भएका व्यक्तिलाई प्रतिदिन १५०० मि.ग्रा.भन्दा कम हुन जरुरी हुन्छ ।

७) हुन त मस्तिष्क कार्यका लागि थोरै मात्रामा चिनी आवश्यक पर्छ । तर चिनी तथा चिनीको प्रयोग गरी बनाएका खाद्यपदार्थको बढ्दो उपभोगले खानाप्रति रुचि कम हुने, पाचन शोषणमा गडबडी हुने, अन्य पौष्टिक तत्वको कमी हुने, शरीरको तौल बढाउने, मधुमेहको सम्भावनालाई बढाउने जस्ता स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । त्यसकारण चिनीको प्रयोगमा ध्यान दिनुपर्छ ।

८) साधारणतया दैनिक आवश्यक पर्ने पानीको परिमाण मौसम, शरीरिक क्रियाकलाप, खानाको प्रकार, शरीरिक अवस्थामा भर पर्छ । एक स्वस्थ वयष्क व्यक्तिलाई ८ देखि १० गिलास शुद्ध पानी पिउन सिफारिस गरिएको छ । एकातिर पोषणसम्बन्धी स्वास्थ्य समस्या न्यूनीकरण गर्न खानामा फाइबरयुक्त खाद्यपदार्थको परिमाण बढाउन सिफारिस गरिन्छ भने अर्कोतिर शरीर सक्रिय राखी मोटोपन, मधुमेह, रक्तचाप नियन्त्रण गर्न शारीरिक व्यायामलाई प्राथमिकता दिन जरुरी हुन्छ । फाइबरयुक्त खाद्यपदार्थको उचित पाचन–शोषणको लागि प्रशस्त पानी पिउन जरुरी हुन्छ भने शरीरिक व्यायाम गर्दा मेटाबोलिजम क्रिया बढ्ने हुनाले यस्तो अवस्थामा थप पानीको
आवश्यक पर्छ ।

९) आवश्यकताभन्दा बढी शरीरको तौल हुनु मुटुको रोग, मधुमेह, उच्च रक्तचाप, आस्टियोपोरोसिसजस्ता स्वास्थ्य समस्याको प्रमुख कारण भएको हुनाले कुनै पनि उमेरमा शरीरको तौल ठीक हुन जरुरी हुन्छ । यसको लागि दैनिक भोजनको उचित व्यवस्था गर्नुको साथै शारीरिकरूपले सक्रिय हुन सकेमा मात्र शरीरको तौल ठीक राखी लामो समय स्वस्थ जीवनयापन गर्न सकिन्छ ।
१०) सन्तुलित भोजनका साथै शरीरको अवस्थाअनुरूप ठीकरूपमा व्यायाम गर्नाले मांसपेशी तन्तु गठिलो बनाउँछ, चिल्लोको तन्तु कम गर्नुको साथै शरीरको तौल ठीक राख्न मद्दत पुर्याउँछ ।

परिणामस्वरूप मुटु स्वस्थ राख्न, रगतमा चिनीको मात्रा ठीक राख्न, रक्तचाप नियन्त्रण गर्न, पत्थरीको समस्या कम गर्न, युरिक एसिड कम गर्न मद्दत पुर्याउँछ ।

त्यसकारण माथि उल्लिखित स्वास्थ्य समस्याहरू वंशाणुगत कारण भए तापनि शतप्रतिशत यसैबाट मात्र नहुने भएकोले जीवनशैलीमा परिवर्तन एवम् परिमार्जित गरी सन्तुलित भोजन, सक्रिय जीवनपद्धति र सकारात्मक व्यवहार अवलम्बन गर्न सक्यौं भने लामो समय स्वस्थकर जीवन व्यतीत गर्न सकिन्छ ।

मल्टिमिक्स आटा र अण्डा हालेको रोटी

मल्टिमिक्स आटा र अण्डा हालेको रोटी
मल्टिमिक्स आटा (गहुँ, जौ, बेसन र फापरको २५–२५ ग्राम पीठोको मिश्रण) – १०० ग्राम
अण्डा (राम्ररी फिटेको) – २ वटा
प्याज (मसिनो काटेको) – आधा कप
गोलभेंडा (मसिनो काटेको) – आधा कप
हरियो धनियाँ (मसिनो काटेको) – २ टेबल चम्चा
पनिर (मसिनो काटेको) – १ कप
मरिचको धूलो – १ चिया चम्चा
जीराको धूलो – आधा चिया चम्चा
नून – स्वादअनुसार
रिफाइन्ड तेल – २ टेबल चम्चा

बनाउने विधि
१) सर्वप्रथम एउटा भाँडामा चारै प्रकारको पीठो हालेर, आवश्यकताअनुसार पानी हालेर, बाक्लो घोल बनाएर १ घण्टा जति छोपेर राख्नुपर्छ ।

२) अर्को कचौरामा अण्डा फिटेपछि मसिनो गरी काटेको प्याज, गोलभेंडा, धनियाँ, मरिचको धूलो जीराको धूलो र स्वादअनुसार नून हालेर मिलाउनुपर्छ ।

३) एउटा नन् स्टिक प्यानमा आधा टेबल चम्चा तेल तातो गरी अगाडि तयार पारिएको पीठोको घोल पातलो हुने गरी प्यानमा पैmलाउनुपर्छ । त्यसपछि यसमा माथिबाट फिटेको अण्डाको मिश्रण रोटीमा पूरै पैmलिने गरी हाल्नुपर्छ । यसको माथिबाट मसिनो काटेको पनिरका टुक्रा हालेर मधुरो आँचमा करिब ५ मिनेट जति छोपेर पकाउनुपर्छ ।

४) त्यसपछि आगोबाट हटाई पस्किनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्