तनावमा होटल व्यवसायी, लकडाउन अवधिमा मात्रै ५३ करोड नोक्सान



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा सञ्चालित होटल सूर्यान्स १० करोड खर्चेर सञ्चालन गरिएको थियो । भिजिट नेपाल–२०२० का लागि पर्यटक आकर्षित गर्न सूर्यान्स होटलका सञ्चालकले बैंकबाट ४ करोड ऋण लिएर लगानी गरेका थिए ।

उनले असार मसान्तसम्म ४८ लाख किस्ता तिर्नुपर्ने भइसकेको छ । उनको होटलमा २८ जना कर्मचारी रहेकोमा १ महिनासम्म कर्मचारी राखिए पनि तलब भुक्तानीमा समस्या परेपछि उनीहरुलाई बिदामा पठाइएको होटल सञ्चालक निप्पु सर्राफले बताउनुभयो ।

‘लकडाउनले गर्दा आर्थिक बोझ थपिएको छ,’ उहाँले भन्नुभयो–क्वारेन्टिनका लागि होटल तयारी गरे पनि हालसम्म एक जना पनि राखिएको छैन । लकडाउनका कारण पीडामा परेका व्यबसायीलाई सरकारले राहत नदिएकोले सर्राफसहित व्यबसायी तनावमा छन् ।
यहाँ खुलेका होटलमा ८० प्रतिशत लगानी बैंकबाट ऋण लिएर गरिएको छ । त्यसमाथि ५० हजारदेखि ५ लाख रुपियाँसम्म घरभाडा र कर तिर्नुपर्दा थेग्नसक्ने अबस्था नरहेको व्यबसायीले गुनासो पोखेका छन् ।

सरकारले असार १ गते लकडाउन खुकुलो गरे पनि यहाँका होटल व्यबसाय भने लकडाउनमै छन् । मकवानपुरमा साना÷ठूला गरी १ सय ९० होटल सञ्चालनमा छन् भने ठूलो लगानीमा ५ होटल निर्माणाधीन छन् ।

भ्रमण वर्षका कारण लकडाउनअघि पर्यटक बढ्ने विश्वाससाथ पुराना होटलले क्षमता विस्तार गरेका थिए । ठूलो लगानीमा ७ वटा होटल सञ्चालनमा आएका थिए । तर, कोभिड–१९ संक्रमणका कारण व्यबसायीले ३ महिना अवधिमा करोडौं नोक्सानी ब्यहोर्नुपरेको गुनासो गरेका छन् ।

लकडाउन अवधिमा यहाँका होटलले आर्थिक क्षति बेहोर्नुपरेको स्थानीय व्यबसायीले बताए । होटल बन्द हुँदा दैनिक ५८ लाख ६३ हजार रुपियाँसम्म क्षति ब्यहोेर्नुपरेको होटल एसोसिएसन मकवानपुर अध्यक्ष शंकरलाल श्रेष्ठले बताउनुभयो । मकवानपुरका होटल व्यबसायीले लकडाउन अवधिमा ५२ करोड ७७ लाख नोक्सानी ब्यहोर्नुपरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ‘अन्य व्यबसाय सञ्चालनमा आए तर होटल लकडाउनमै छन्,’ श्रेष्ठले भन्नुभयो ।

कोरोना संक्रमण शुरु हुने बित्तिकै होटल व्यबसायीले राज्यलाई होटल क्वारेन्टिनका रुपमा उपलब्ध गराउने घोषणा गरे पनि सरकारले महंगो शुल्कमा अन्य संस्थासँग सम्झौता गरेको व्यबसायीको ठहर छ ।

आफूहरुको समस्याबारे सरकार नबोलेको भन्दै होटल एसोसिएसन मकवानपुर, उद्योग वाणिज्य संघ र नारायणी यातायात व्यबसायी संघले राहत माग गर्दै संयुक्त ज्ञापनपत्र बुझाए पनि कसैले राहत उपलब्ध नगराएकोमा व्यबसायी निराश छन् । एक सातामा आफूहरुको माग पूरा नभए आन्दोलन गर्ने होटल एसोसिएसन मकवानपुर अध्यक्ष श्रेष्ठले चेतावनी दिनुभएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यबसायीले सुरक्षा सावधानी अपनाएर होटल खोल्नु पाउनुपर्ने माग गरेका छन् ।

बन्दाबन्दीको समयमा होटल सञ्चालन नहुँदा होटल व्यबसायीलाई ठूलो मार परेको भन्दै होटलको भाडामा ५० प्रतिशत तथा बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुट व्यबस्था गर्न आग्रह गरिएको छ । अध्यक्ष श्रेष्ठले महामारीले पूर्णरुपमा असर गरेको होटल व्यबसायीलाई राहतस्वरुप एक वर्षको व्यबसाय कर तथा अन्य सबै प्रकारका राजस्व मिनाहा गर्ने व्यबस्था मिलाउनुपर्ने माग गर्नुभयो ।
उहाँले होटल व्यबसायका क्रममा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र किस्ता तिर्ने मुख्य स्रोत व्यबसाय भएकोले ऋण तथा किस्ता तिर्ने समयावधि दुई वर्ष थप गरी ब्याजमा सहुलियतदर कायम गर्न आग्रह गर्नुभएको छ ।

हालसम्म होटल व्यबसायीले राज्यबाट कुनै सुबिधा नपाएको भन्दै एसोसिएसनले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यबस्था मिलाउनसमेत माग गरेको छ । बन्दाबन्दीका कारण होटल क्षेत्रबाट बिस्थापित भएर बेरोजगार भएका श्रमिक तथा मजदुरलाई पुनर्ताजगी तालिम व्यबस्था गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्