खेलाडी महर्जनद्वारा विपन्नलाई १ लाखको खाद्यान्न सहयोग



न्युज अफ नेपाल, काठमाडौं ।

गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टेवल टेनिसतर्फ कांस्य पदक जितेकी एलिना महर्जनले कोरोना भाईरसका कारण गरिएको लक डाउनबाट समस्यामा परेका परिवारलाई सहयोग गरेकी छन्।

केही साताअघि उनले सागमा पदक जितेबापत प्राप्त हुने पुरस्कार रकमको आधा अंश सहयोग गर्ने बताएका थिए। त्यसै अनुरुप सरकारबाट प्राप्त दुई लाख नगद पुरस्कार रकमको ५० प्रतिशत रकम बराबरको खाद्यान्न सामग्री लकडाउनका कारण समस्यामा परेका परिवारलाई हस्तान्तरण गरेकी हुन् ।

विभागीय नेपाल पुलिसकी एलिनाले सागमा टेबल टेनिसतर्फ महिला टिम इभेन्ट्समा कांस्य जितेकी थिइन् । नेपाल सरकारले टिम इभेन्ट्समा कांस्य जित्ने खेलाडीलाई जनही २ लाख नगद दिने घोषणा गरे अनुसार उनले वैशाखको पहिलो साता उक्त रकम प्राप्त गरकी थिइन्।

एलिनाले सोही पुरस्कारबाट एक लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री काठमाडौं महानगरपालिका वडा नम्वर १७ का विपन्न परिवारलाई हस्तान्तरण गरेकी हुन् । उनले चामल, दाल, चिउरा, नुन र तेल दुई सय घर परिवालाई हस्तान्तरण गरेकी हुन् । एलिनाले वडा नम्वर १७ को स्वीकृतिमा वडाका सदस्यहरु समेत राखेर वडाले संकलन गरेको तथ्यांकको आधारमा राहत सामग्री वितरण गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्