मोरङका स्थानीय आइसोलेशनसहितका अस्पताल बनाउदै



सरोज यादव, विराटनगर ।

 

मोरङको सुन्दरहरैंचा नगरपालिकाले कोरोना भाइरसको परीक्षण र सम्पूर्ण उपचारसहितको तयारी थालेको छ । नगरपालिकाले गोठगाउँमा रहेको पूर्वाञ्चाल विश्वविद्यालयको टिचिङ अस्पतालसँग सहकार्य गरि तयारी थालको हो ।

 

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना रोगको रोकथाम र उपचारका लागि सुन्दरहरैंचा नगरपालिकाले कस्तो तयारी गरिरहेको छ भनेर बुझ्न पुग्दा, शुक्रबार दिउँसो नगर प्रमुख शिवप्रसाद ढकाल कोरानाकै विषयमा छलफलमा जुटि रहनुभएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, स्वास्थ्य शाखाका कर्मचारी तथा गोठगाउँमा रहेको पूर्वाञ्चाल विश्वविद्यालयको टिचिङ अस्पतालका कर्मचारीसँग मेयर ढकालले तयारीबारे छलफल गरिरहनु भएको थियो ।

 

छलफलकै क्रममा मेयर ढकालले टिचिङ अस्पतालका सिनियर कर्मचारीलाई फोन गरेर चाँडो तयारी गर्नुपर्ने बताउनुभयो । सुन्दरहरैंचा नगरपालिकाले कोरोनाको चोकचाँजदेखि सम्पूर्ण उपचारसमेत नगरपालिकामै रहेको पूर्वाञ्चाल विश्वविद्यालयमा रहेको अस्पतालमा गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको छ । नगर प्रमुख शिवप्रसाद ढकालले काठमाडौंबाट किट मगाएर कोरोना लागेको आशंका लागेकालाई परीक्षण गर्ने र उपचारसमेत गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो ।

 

यहाँ उपचार सम्भव नभएकालाई मात्र समन्वय गरी बाहिर पठाउने तयारी गरिएको छ । उहाँले सम्पुर्ण उपचारमा लाग्ने खर्च नगरपालिकाले गर्ने तथा प्राविधिक तथा जनशक्तिको व्यवस्था अस्पतालले गर्ने पनि जानकारी दिनुभयो । अस्पतालमा रहेका ३६ वटा बेडमध्ये १६ वटालाई क्वारेन्टाइन र १६ वटालाई आइसोलेसन बेडको रुपमा तयार गर्न लागिएको नगर प्रमुख ढकालले जानकारी दिनुभयो ।

 

यता पूर्वाञ्चल विश्वविद्यालय टिचिङ अस्पतालले समेत नगरपालिकासँगको सहकार्यमा नगरपालिकाले भने बमोजिम अस्पतालमै परीक्षण गर्ने गरि तयारी भएरहेको जनाएको छ । जसका लागि काम अघि बढिसकेको र आइतबारसम्ममा तयारी सक्ने अस्पतालले जनाएको छ । यसैगरी नगरपालिकाको कार्याल्यमा आउने सेवाग्राही तथा नगरमा रहेका विभिन्न ५ वटा स्वास्थ्य चौकीमा आउने सेवाग्रहीलाई सेनिटाइजर लगाउने र ज्वरो नाप्ने व्यवस्था मिलाएको छ । यस्तै मास्क वितरण गर्ने १२ वटै वडामा सूचना प्रवाह गर्ने तथा नगरमै पनि डिस्प्ले माफर्त जनचेतना जगाउने लगायतका काम गरिरहेको छ ।

 

यसैगरि नगरपालिकाले कोरोना फैलिन नदिन आइतबारदेखि साप्ताहिक हाटबजरहरु बन्द गराउने भएको छ । तरकारीबाहेक अन्य हाटबजार लगाउन निषेध गर्ने तथा संघीय सरकार र प्रदेश सरकारको निर्देशनअनुसार र परिस्थितिअनुसार आवश्यक कदम चाल्ने नगरापालिकाले जनाएको छ ।

यस्तै मोरङको बेलबारी नगरपालिकाले कोरोनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले १५ बेडको आइसोलेशन वार्ड तयार पारेको छ । नगरपालिकाको नयाँ भवनका दुई वटा कोठामा १५ बेडको आइसोलेसन वार्ड तयार पारेको बेलबारी नगरपालिकाका मेयर मेयर ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । विश्वभरि नै फैलिरहेको कोरोना भाइरसलाई लक्षित गरेर, सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आइसोलेशन वार्ड तयार गरेको सुवेदीले जानकारी दिनुभयो ।

 

बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले उक्त आइसोलेसन वार्डमा आधा दर्जनभन्दा बढी स्वास्थ्यकर्मी खटाइने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले टोल–टोलमा सचेतनासम्बन्धी कार्यक्रम गर्नेछ । आइसोलेशन वार्डमा भर्ना भएर थप जटिल समस्या देखिए बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान तथा अन्य अस्पतालहरुमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्धसमेत मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्