पुनर्निर्माणमा मौलिकता गुमाउँदै



सुनील महर्जन

स्थानीय तहमा जनप्रतिनिधि आएपछि संस्कृति, सम्पदा संरक्षणमा ठोस काम हुने अपेक्षा गरिएको थियो। तर स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष बितिसक्दा पनि सोचेअनुरूप काम हुन नसकेको ती क्षेत्रका मानिसहरूले अनुभव गरेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानीय तहलाई सांस्कृतिक नगरी वा क्षेत्र घोषणा गर्न सक्नेसम्म अधिकार जनप्रतिनिधिलाई दिएको छ। ‘जानकारी नभएर हो कि वा नबुझेर यस विषयलाई कसैले गम्भीररूपमा लिएको देखिँदैन।’ –ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले भन्नुभयो।

संस्कृति, सम्पदा संरक्षणमा चुनौती उत्पन्न भइरहेका एउटा उदाहरण हो, सम्पदा बस्तीको शोभाको विपरीत क्रंक्रिटको घरहरू बन्दै गएको छ।
भूकम्पपछि पुनर्निर्माण थाल्ने ललितपुरका धेरैले आधुनिक शैलीमा पुनर्निर्माण थालेका छन्। यसले मौलिकपन, परम्परा, रहनसहन, संस्कृति र सांस्कृतिक सम्पदा लोप हुने खतरा बढेको छ। साथै युनेस्कोको विश्व सम्पदा सूचीबाट हट्ने जोखिम बढेको प्रति बुद्धिजीवीहरूले चिन्ता व्यक्त गरेका छन्।

भवन निर्माण प्राविधिक मणिकृष्ण श्रेष्ठले आधुनिक भवन निर्माणले विश्व सम्पदामा सूचीकृत ललितपुरका ऐतिहासिक क्षेत्र मात्र नभई काठमाडौं र भक्तपुरको पनि क्रमशः हट्ने खतरा रहेको बताउनुभयो।

‘जनप्रतिनिघिले बेलैमा चासो नदिएमा १७ शताब्दी पुरानो शहरको अस्तित्व लोप हुने खतरा छ’, उहाँले भन्नुभयो– ‘साथै ललितपुरको मौलिकपन, परम्परा, रहनसहन, संस्कृति र सांस्कृतिक सम्पदामा असर पर्छ।’ उहाँले इँटा, माटो र काठजडित घर ढलानभन्दा प्राकृतिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षले सुरक्षित हुने पनि बताउनुभयो।

‘पुराना मौलिक शैलीका घरमा झिँगटी छाना, रङ पोताइ, काठको भुइँ, ढोका, फ्रेम, जोर्नी, चुकुल, दलिन, थामको प्रयोग गरिएको हुन्छ’, उहाँले भन्नुभयो– ‘त्यस्तै बाहिरी र भित्री भित्ताको सतहमा प्रयोग गरिएको चुन सुर्खी, सजावटका वस्तुमा माटो वा चुनको मसला परम्परागत ढंगले प्रयोग गरिएको हुन्छ। यसले विभिन्न शासनकालमा बनेका परम्परागत वास्तुकलालाई समेत चिनाउन मद्दत गर्छ। यसले ढलान घरभन्दा पनि बढी सुरक्षित, जाडो याममा न्यानो र गर्मीमा शीतल हुन्छ।’

पुनर्निर्माण प्राधिकरणले पाइलट प्रोजेक्टका रूपमा लिइएको पिलाछेंमा भने पुराना शैलीमा घरहरू निर्माण हुन थालेका छन्। खोकना, बुङ्मतीमा इस्टिमेट तयार भए पनि पुनर्निर्माण भने हुन सकेको छैन।

प्राधिकरणले उपत्यकाभित्रका बुङ्मती, खोकना र साँखु एवं उपत्यकाबाहिरका नुवाकोट दरबार क्षेत्र, गोरखा दरबार क्षेत्र र दोलखा भीमेश्वर मन्दिर क्षेत्रलाई परम्परागत सम्पदा बस्तीका रूपमा सूचीकृत गरी गुरुयोजना तयारीसहित पुनर्निर्माण कार्य अघि बढाइरहेको छ।

त्यसै गरी परम्परागत सम्पदा बस्तीसम्बन्धी विशेष मापदण्ड स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ। परम्परागत सम्पदा बस्तीभित्र निजी आवास, आधारभूत पूर्वाधार तथा प्राचीन स्मारकहरूको संरक्षण एवं पुनर्निर्माण कार्य गुरुयोजना मुताबिक सरकार र स्थानीय समुदायको सहकार्यमा कार्यान्वयन भइरहेको छ।

परम्परागत ६ वटा सम्पदा बस्तीका सबै भूकम्पपीडित लाभग्राहीलाई प्रतिघरपरिवार थप ५० हजार रुपियाँ अनुदानको व्यवस्था गरिएको छ।मल्लकालीन बस्ती ललितपुरको ठेचो, सुनाकोठी, हरिसिद्धि, ठैब, लुभु, सिद्धिपुर, काठमाडौंको कोर क्षेत्र, टोखा, कीर्तिपुरको पाँगा, नैकाप, भाजंगल र भक्तपुरको कोर बस्ती छन्। यहाँका स्थानीयबासीले नेपालको मौलिक वास्तुकला शैलीका घर निर्माण गर्दा धेरै महँगो पर्ने भन्दै आधुनिक शैलीमा धमाधम पुनर्निर्माण थालेका छन्। यसले मल्लकालीन बस्ती झन् कुरूप बन्दै गएको छ।

पूर्व संस्कृतिमन्त्री बुद्धिराज वज्राचार्यले भन्नुभयो– ‘यसतर्फ निर्वाचित जनप्रतिनिघिले विशेष ध्यान दिनुपर्छ।’ उहाँले नगरपालिकाका इन्जिनियरमार्फत मल्लकालीन बस्तीको डिजाइन तयार पारी लागत इस्टिमेटसहितको घर निर्माण मापदण्ड बनाई तत्काल लागू गर्नुपर्नेमा जोड दिनुभयो। ‘मापदण्ड तयार गरी नगरपरिषद्बाट पारित गरिसकेपछि कसैले मापदण्ड मिचेर घर बनाउन सक्दैन’, उहाँले भन्नुभयो– ‘यस्तै स्थिति रहिरह्यो भने मुलुकको गहनाका रूपमा रहेको नेवारी वास्तुकला शैलीका परम्परागत घरबस्ती लोप हुनेछ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भूकम्पपछिको पुनर्निर्माणको स्मारक क्षेत्रको हकमा पुरातत्व विभागले मापदण्ड लागू गर्नुपर्ने बताउनुभयो। ‘अन्य मल्लकालीन तथा लिच्छवीकालीन बस्तीको हकमा स्थानीय जनप्रतिनिघिले छुट्टै मापदण्ड बनाएर कार्यान्वयन गर्न सकिन्छ।’ –उहाँले भन्नुभयो।

नगरका मल्ल तथा लिच्छविकालीन बस्तीका घर निर्माण मापदण्ड स्थानीयबासी आफैले बनाउन सक्ने भए पनि स्थानीय निर्वाचित जनप्रतिनिघि, राजनीतिक दलले यसतर्फ चासो दिएका छैनन्। काठमाडौं उपत्यकाको बस्तीमा काठमाडौं, भक्तपुर र ललितपुरको मिश्रित संस्कृति देख्न पाइन्छ।

बुङ्मतीमा उपत्यकाका तीनै शहरको रहनसहन, परम्परा संस्कृति देख्न सकिन्छ। चापागाउँ, ठेचो, हरिसिद्धि, ठैब, लुभु, सानोगाउँ, बुङ्मती, खोकनाका नेवारी बस्तीमा १७औं शताब्दीका पुराना पौराणिक चित्रकला, थान्का र विशेष बुट्टा भएका घर पाइन्छन्। लेलेमा झन् लिच्छवीकालीन शिलालेख, मूर्ति, दरबार छन्।

ललितपुर महानगरपालिकाका इन्जिनियर हरिश्चन्द्र लामिछानेले भन्नुभयो– ‘अहिले छनोटको सुविधा र सहजताका हिसाबले पिलर सिस्टमबाट घर बनाउन थालेका छन्।’ काठमाडौंसहितका जिल्लाका ती सम्पदा बस्तीको मौलिक विकास प्राधिकरणले गर्नेछ।

पर्यटनको आधार बन्न सक्ने सांस्कृतिक बस्तीको काठमाडौंको साँखु, ललितपुरको खोकना, बुङ्मती, नुवाकोट दरबार क्षेत्र र आसपासको बस्ती, गोरखाको दरबारक्षेत्र र आसपासको बस्ती अनि दोलखा बजारको सम्पदा बस्ती निर्माणको गुरुयोजना प्राधिकरणले बनाइसकेको छ। प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले मौलिक पहिचान कायम राख्दै पर्यटकीय आकर्षण थप्ने गरी काम भइरहेको बताउनुभयो।

स्थानीयले आफ्नै स्रोत साधन प्रयोग गरेर पुराना मल्लकालीन शैलीमा घरहरू बनाउन खोजे पनि सरकारले दिँदै आएको ३ लाख ५० हजार रुपियाँले निर्माण गर्न नसक्ने प्रतिक्रिया दिएका छन्।घर निर्माणमा पश्चिमा प्रभावकै परिणाम हो, पिलर र सिमेन्टको प्रयोग। त्यसैले पनि अहिले सबैतिर एकै प्रकारका घर बन्न थालेका हुन्।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार १९९० सालको भूकम्पपछि मात्रै नेपालमा आधुनिक शैलीका घर निर्माण हुन थालेको हो। ९० सालको महाभूकम्पले भत्किएका घरहरूको पुनर्निर्माणका लागि तत्कालीन सरकारले बेल्जियमबाट जस्तापाता झिकाएर सर्वसाधारणलाई वितरण गरेको जोशीले बताउनुभयो। जोशीले भूकम्पपछि नै उपत्यकामा पहिलोपटक सिमेन्ट भित्रिएको बताउनुभयो।

‘पहिलोपटक सिमेन्टले बनाएको सरस्वती सदन देखेपछि त्यसैलाई हेरेर इन्द्रचोकमा एक सर्वसाधारणले कंक्रिटको घर बनाएको पनि उहाँले जानकारी दिनुभयो। नब्बे सालको महाभूकम्पपछि शुरू भएको कंक्रिट घर निर्माणले आठ दशकको यात्रा तय गरिसकेको छ। यस अघिसम्म उपत्यकामा घर भनेकै ढुंगा, इँटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडाजस्ता वस्तुबाट बन्थ्यो।

यसबीचमा शहरी क्षेत्रका अधिकांश घर, भवन र भौतिक संरचनामा सिमेन्ट प्रयोग गरिएको छ। अहिले गिट्टी, बालुवा, सिमेन्ट, रड, इँटा, ब्लक, ढुंगा, टिन (जस्तापाता), स्टिल, आल्मुनियम, सिसा, प्लास्टिकजस्ता सामानबिना घर निर्माण असम्भव जस्तै भएको छ। सिमेन्टका घरलाई सम्पन्नतासँग जोडेर हेर्ने मनोविज्ञानका कारण नेपाली मौलिक घरले अस्तित्व गुमाउन थालेको छ।

पुस्ता दरपुस्ता ज्ञान र सीपको हस्तान्तरण हुँदै उपलब्ध सामग्री र कलाको संयोजनकै कारण पुराना घरहरू मौलिक र विशिष्ट देखिने गर्दछन्। पुस्तैनी परीक्षण हुुँदै आएका यस्ता घरहरू भूगोल सुहाउँदो फरक ढाँचा र निर्माण सामग्रीबाट तयार पारिन्थ्योे। पहिले अग्लो ठाउँमा घर र समथर ठाउँमा खेतीपाती गर्ने चलन थियो। अहिले जुनसुकै स्थानमा घर बनाउन थालिएको छ।

संस्कृति र मौलिक परम्परागत सौन्दर्य छाडेर जथाभावी घर बनाउने प्रवृत्ति झाङ्गिएको छ।‘इँटा, माटो र काठजडित घर ढलानभन्दा प्राकृतिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षले सुरक्षित पनि हुन्छ।’ –आर्किटेक्ट रञ्जितकारले भन्नुभयो। उहाँका अनुसार पुराना मौलिक शैलीका घरमा झिँगटीका छाना, रङ पोताइ, काठको भुइँ, ढोका, फ्रेम, जोर्नी, चुकुल, दलिन, थामको प्रयोग गरिएको हुन्छ।

‘त्यस्तै बाहिरी र भित्री भित्ताको सतहमा प्रयोग गरिएको चुन सुर्खी, सजावटका वस्तुमा माटो वा चुनको मसला परम्परागत ढंगले प्रयोग गरिएको हुन्छ’, उहाँले भन्नुभयो– ‘यसले विभिन्न शासनकालमा बनेका परम्परागत वास्तुकलालाई समेत चिनाउन मद्दत गर्छ। ढलान घरभन्दा पनि बढी सुरक्षित, जाडोयाममा न्यानो र गर्मीमा शीतल हुन्छ।’

रञ्जितकारले यस्ता बस्ती लोप भए पर्यटकीय क्षेत्रमा समेत नराम्रो असर पर्ने बताउनुभयो। ‘घर बनाउँदा भूकम्पको दृष्टिकोणले डीपीसीसम्म आरसीसी ढलान गर्न सकिन्छ’, उहाँले भन्नुभयो– ‘त्यसभन्दा माथिका तलामा चुन, सुर्की, माटो र दलिन, चुकुल, जोर्नी, थामलगायत काठको प्रयोग गर्नसकिन्छ।’

उहाँले भन्नुभयो– ‘नयाँँ भवन निर्माणसँगै पुरानो काष्ठकला नष्ट हुने र यी पेसामा निर्भर कालिगडको जीविकोपार्जनमा समेत प्रभाव पर्छ।’‘पुनर्निर्माणलाई हामीले मौलिक कला, संस्कृति जर्गेना गर्ने गरी पनि अघि बढाउन सकिने अवसर थियो। तर त्यो अवसरले एकाधलाई छोडेर धेरैले गुमायौं।’ –ललितपुर महानगरपालिका–२१ खोकना बस्तीका वडाध्यक्ष रवीन्द्र महर्जनले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्