ललिता निवास भ्रष्टाचार प्रकरण : अदालतले प्रतिवादीलाई चिठी काट्यो

मृतकको घर ठेगानामा पनि पुग्यो पत्र

0
Shares

विकास भट्टराई, काठमाडौं।

ललिता निवास भ्रष्टाचार काण्डका प्रतिवादीहरूलाई प्रतिवाद गर्न आउन विशेष अदालतले धमाधम पत्र काट्न थालेको छ।विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले ललिता निवास भ्रष्टाचार काण्डका प्रतिवादीहरूलाई बुधबारदेखि पत्र काट्न थालिएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

पहिलो दिन सो भ्रष्टाचार काण्डका सात जनालाई पत्र काटिएको उपरजिस्ट्रार खड्काले बताउनुभयो। विशेष अदालतले पहिलो पत्र तत्कालीन मालपोत अधिकृत कलाधर देउजाको नाममा काटेको छ।

उहाँको ठेगाना भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिकाङ–१० देउजागाँउमा पत्र पठाइएको छ। उहाँलाई २ करोड २६ लाख ८५ हजार ५ सय रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

यसैगरी दोस्रो पत्र भूमिसुधार तथा व्यवस्था विभागको तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यको नाममा काटिएको छ। यद्यपि उहाँको २०७२ सालमा नै मृत्यु भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगपत्रमा उल्लेख गरिएको छ।

उहाँको सम्पत्तिबाट बिगो उठाउने प्रयोजनका लागि अख्तियारले मुद्दा दायर गरेको हो। उहाँको घर काठमाडौं महानगरपालिका–५ मा रहेको थियो। उहाँमाथि ७५ लाख १० हजार बिगो कायम गरिएको छ।

यसैगरी अदालतले काठमाडौं महानगरपालिका–२७ बस्ने सुरेन्द्रमान कपालीलाई पनि उपस्थित हुन भनी पत्र काटेको छ। उहाँ मालपोत अधिकृत हुँदा २ करोड २६ लाख ८५ हजार ५ सय रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

मालपोत विभागका तत्कालीन शाखा अधिकृत धर्मप्र्रसाद गौतमलाई पनि अदालतले उपस्थित हुन म्याद दिएको छ। उहाँको पहिलेको घर इलाम जिल्ला इलाम नगरपालिका–३ भई हाल काठमाडौं महानगरपालिका–७ देखाइएको छ। गौतमले ७८ लाख २४ हजार २ सय रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिकाका जगत्प्रसाद पुडासैनीले भ्रष्टाचार गरेको भनिएको सम्पत्ति सरकारीकरण गर्ने प्रयोजनका लागि भनी उहाँको घर ठेगानामा पत्र काटिएको छ। गत वैशाख १९ गते दिवंगत भएका पुडासैनीलाई २ करोड २६ लाख ८५ हजार ५ सय रुपियाँको अभियोग लगाइएको छ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठको नाममा पनि अदालतले पत्र काटेको छ। उहाँको ठेगाना काठमाडौं महानगरपालिका–१६ भएको अभियोगपत्रमा उल्लेख गरिएको छ। २ करोड २९ लाख ५७ हजार ४ सय रुपियाँ भ्रष्टाचार गरेको आरोप श्रेष्ठमाथि रहेको छ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठको नाममा पनि अदालतले उपस्थित हुन पत्र काटेको छ।
श्रेष्ठमाथि १३ करोड २३ लाख ७२ हजार रुपियाँ भ्रष्टाचार गरेको अभियोग छ। उहाँको ठेगाना ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१५ देखाइएको छ।

विशेष अदालतका उपरजिष्ट्रार खड्काले काटिएका पत्रहरू सम्बन्धित जिल्ला अदालतमा पठाइएको र ती अदालतहरूले सम्बन्धित ठेगानामा गई तामेल गर्ने जानकारी दिनुभयो।

रिट दर्ता

ललिता निवास भ्रष्टाचार प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि प्रतिवादी बनाउनुपर्ने माग गर्दै पेस भएको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पेस गरेको निवेदन दर्ता भएको हो।
रिट निवेदनमा अख्तियारले नीतिगत निर्णयको गलत व्याख्या गरी तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईलाई प्रतिवादी नबनाइएको उल्लेख गरिएको छ।

Skip This